४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रश्नपत्र नदिने आयोगविरुद्ध विद्यार्थी आक्रोशित

एमबिबिएस नतिजा प्रकरण

माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै विद्यार्थी। तस्बिर: नागरिक

चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि ढाकछोप गर्न खोजेको भन्दै विद्यार्थी सडक आन्दोलनमा उत्रेका छन्। विद्यार्थी र आयोगका पदाधिकारीबीच भएको छलफलमा विद्यार्थीले उत्तरपुस्तिका, उत्तरकुञ्जिका र प्रश्नपत्र उपलब्ध गराउनुपर्ने माग राखेका थिए। तर आयोगका पदाधिकारीले उत्तरपुस्तिका र उत्तरकुञ्जिका मात्र उपलब्ध गराउन सकिने तर प्रश्नपत्र उपलब्ध गराउन नसकिने अडान राखेपछि आक्रोशित विद्यार्थी बुधबारदेखि न्यायको माग राखेर सडक आन्दोलनमा उत्रेका हुन्।

आयोगको त्रुटिपूर्ण नतिजाबाट पीडित विद्यार्थीले आफूहरूको गल्ती भए वा नभएको प्रश्नपत्रबाट थाहा हुने एक मात्र आधार भएकाले उपलब्ध गराउन माग राखेका थिए। तर आयोगका पदाधिकारीले उपलब्ध गराउन नमानेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको एकीकृत प्रवेश परीक्षा नतिजाबाट पीडित जीवन सिंहले बताए। आयोगले १० दिनभित्र आयोगमै उपस्थित भएर उत्तरपुस्तिका र उत्तरकुञ्जिका हेर्नका लागि निवेदन दिन सूचना प्रकाशित गरेपछि विद्यार्थी थप आक्रोशित भएको उनले बताए।

‘प्रश्नपत्रबिनाको उत्तरपुस्किा र उत्तरकुन्जिाकाको के कामेष्ठले भदौ १७ गते जारी गरेको सूचनामा आयोगबाट सञ्चालन भएको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा नतिजामा परीक्षार्थीले चित्त नबुझी उत्तरपुस्तिका र उत्तरकुन्जिका माग गरे नतिजा प्रकाशनका क्रममा कोडिङ गरी स्क्यान गरिएको उत्तरपुस्तिकाको शीर्ष भाग, मूल भाग र सम्बन्धित सेटको उत्तरकुन्जिकाको फोटोकपी उपलब्ध गराउने निर्णय आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समतिको बैठकले गरेको उल्लेख छ।

 

‘नतिजामा चित्त नबुझेका उम्मेदवारले भदौ २३ देखि ३१ गतेसम्म प्रवेशपत्र र नागरिकताको प्रतिलिपि संलग्न गरी आयोगमा स्वयं उपस्थित भई निवेदन दिनुपर्ने निर्णय भएको छ,’ सूचनामा लेखिएको छ।

आयोगले गत शुक्रबार प्रकाशित गरेको एकीकृत प्रवेश परीक्षाको नतिजामा एमबिबिएसतर्फ गम्भिर त्रुटि भएको तथ्य बाहिरएसँगै परीक्षार्थीले आफूले लेखेको उत्तरपुस्तिका, उत्तर कुन्जिका र आयोगले सोधेको प्रश्नपत्र हेर्न पाउनुपर्ने माग राखेका छन्। परीक्षार्थी सिंहले सोमबार र मंगलबार भएको छलफलमा विद्यार्थीको मागमा आयोगका पदाधिकारी सहमत नभएपछि आन्दोलनमा उत्रनु परेको बताए।

अनलाइन निवेदन दिन पाउनुपर्ने परीक्षार्थीको माग पनि आयोगले नमानेपछि परीक्षार्थी थप आक्रोसित बनेका छन्। एकीकृत प्रवेश परीक्षाको त्रुटिपूर्ण नजिता सच्याउन आयोग तयार नभएकाले आन्दोलनमा उत्रनुपरेको रक्षा कार्कीले बताइन्। ‘अनलाइन निवेदनको व्यवस्था गरे सबै विद्यार्थीले निवेदन दिने पहुँचमा हुन्छन्,’ उनले भनिन्, ‘तर आयोग त हाम्रो कुनै पनि माग सुन्न, पूरा गर्न तयारै छैन। गल्तीबिनै फेल गराउनु पनि भ्रष्टाचार हो।’

शिक्षालाई राजनीति र व्यापारको माध्यम बनाउन आयोगाकै पदाधिकारी लागिपरेको उनको आरोप छ। ‘यो हामी विद्यार्थीले कदापि सहन गर्दैनौं। हामी अदालतको ढोकामा पुग्ने तयारीमा जुटेका छौं।’

एकीकृत प्रवेश परीक्षाको त्रुटिपूर्ण नतिजाबाट मारमा परेका परीक्षार्थीले बुधबार माइतिघर मण्डलमा जम्मा भएर आयोगको गैरजिम्मेवार रवैयाको विरोध प्रदर्शन र नाराबाजी गरे।

प्रधानमन्त्री अध्यक्ष, शिक्षामन्त्री र स्वास्थ्यमन्त्री सहअध्यक्ष हुने चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा नतिजा प्रकाशनमा त्रुटि गर्दा परीक्षार्थी सडक आन्दोलनमा आउन बाध्य भएको परीक्षार्थी कार्कीले बताइन्।

 आयोगले प्रकाशित गरेको त्रुटिपूर्ण नतिजाले विद्यार्थीको भविष्यमाथि नै खेलवाड भएको उनको भनाइ छ। यसबाट आयोगको विश्वासनीयतामाथि नै प्रश्न खडा भएको उनले बताइन्। ‘आयोगले तीन दिनभित्र दुईपटक नतिजा प्रकाशन गरिसक्यो। अब विद्यार्थीले कुन नतिजालाई सत्य मन्ने,’ परीक्षार्थी शेष सालेहा अख्तरको प्रश्न छ। उनले एमबिबिएसतर्फ एकीकृत प्रवेश परीक्षा दिएकी थिइन्।

 आयोगले शुक्रबार नतिजा प्रकाशन गर्दा उनको सिम्बोल नम्बरमा अर्कै विद्यार्थीको अंक थियो। सुधारिएको भनिएको नतिजामा भने उनको नाम छैन। यसले आयोगमाथिको विश्वास उठेको उनले बताइन्।

‘म फेल नै हुँ भने पनि मैले लेखेको उत्तरपुस्तिका, मलाई आयोगले दिएको एनसर कि र मैले उत्तर दिएको प्रश्नपत्र उपलब्ध गराउनुपर्छ,’ उनले भनिन्, ‘आयोग १६ हजार विद्यार्थीको उत्तरपुस्तिका दिन तयार छ तर १६ पेजको प्रश्नपत्र दिन किन तयार छैन।’

आयोगले आफ्नो त्रुटि लुकाउन प्रश्नपत्र दिन नमानेको उनको आरोप छ।

प्रकाशित: २० भाद्र २०८१ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App