१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

चलेका विद्यालयमा छोराछोरी भर्ना गराइदिन शिक्षामन्त्रीलाई दबाब

सेन्ट जेभियर्स स्कुल जावलाखेलले शैक्षिक सत्र २०८१ को कक्षा १ मा भर्ना खुला गर्ने बित्तिकै अभिभावकहरू ‘सोर्सफोर्स’ लगाइदिनु पर्‍यो भन्दै शिक्षामन्त्री सुमना श्रेष्ठ हारगुहार गरिरहेका छन्। मन्त्री श्रेष्ठलाई सोर्सफोर्स लगाइ माग्ने अभिभावकहरूको फोन हिजोआज थेगी नसक्ने गरी आउन थालेको छ।

अचेल मन्त्री श्रेष्ठलाई धेरै जसो फोन सेन्ट जेभियर्स, सेन्टमेरिज र बुढानीलकण्ठमा नानीहरू भर्ना गराइदिनु पर्‍यो भन्दै आइरहेको छ। यसरी फोन आउन थालेपछि मन्त्री श्रेष्ठले स्कुलहरूको भर्ना प्रक्रिया बुझ्न तीनै स्कुलका प्रिन्सिपलहरूलाई बुधवारै मन्त्रालयमा डाकेर भर्नाबारे सोधिखोजी गरेकी छिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कुलका प्रिन्सिपललाई आग्रह गरेकी छिन्।

नयाँ शैक्षिक सत्रका लागि यी विद्यालयले भर्ना आह्वान गरे लगत्तै मन्त्री श्रेष्ठले  प्रिन्सिपलहरूलाई मन्त्रालयमै आमन्त्रण गरी उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेको मन्त्रीकी स्वकीय सचिव आकृति घिमिरेले बताइन्।

‘तपाई का विद्यालयहरूमा भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले मलाई फोन गरेर तपाईँहरूको त कोटा हुन्छ, भनिदिनु पर्‍यो भनेर दबाब दिइरहनु भएको छ,’ मन्त्री श्रेष्ठले प्रिन्सिपलहरूको छलफलमा भनेकी छिन्, ‘अभिभावकहरूको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे खासमा कुरो के हो?,’ मन्त्री श्रेष्ठले थप जिज्ञासा राखिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ। विधि र प्रक्रिया अनुसारै भर्ना लिनुस्।’

छलफलमा तीन वटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए। तर मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेको मन्त्रालयले जनाएको छ।

‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्न स्तरका विद्यार्थीलाई प्राथमिकता दिनु पर्छ’, मन्त्री श्रेष्ठकी स्वकीय सचिव घिमिरेले छलफलमा भएको विषयबारे विस्तृत बताइन्। ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नपर्छ। सक्षम सर्वसाधारणको पहुँच पुर्‍याउन स्कुलले आफ्नो परीक्षाको मापदण्ड र आधारमा भर्ना लिनु पर्छ’, मन्त्री श्रेष्ठको भनाई उद्रित गर्दै उनले भनिन्। मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीन वटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरेकी छिन्।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखिनै गोला प्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए।

मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। ललितपुर महानगरपालिकाले यस पटक सेन्ट जेभियर्सलाई पनि गोला प्रथाबाट भर्ना लिन पत्राचार गरेको छ।

प्रकाशित: १५ चैत्र २०८० १५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App