७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

विद्यालयमा रमाउँदै दलित बालबालिका

पर्साको सखुवाप्रसौनीकी निताकुमारी माझी १२ वर्षकी छिन्। उनी कक्षा तीनमा अध्ययनत छिन्। झट्ट सुन्दा पत्याउन गाह्रो। तर, यो सत्य हो।

निता भन्छिन्, ‘पढ्ने इच्छा धेरै थियो। घरायसी कामको कारणले भने विद्यालय जान पाउँदिन थे। तर, पढ्ने रहर लागिरहन्थ्यो। जसकाकारण मन पोलिरहन्थ्यो, छटपटाइरहन्थ्यो।’  

‘कहिले पढ्न जान पाउँछु भन्ने सँधै लागिरहन्थ्यो,’ उनले भनिन्। लामो समयको ग्यापिङपछि उनको यो सपना अहिले पूरा भएको छ, त्यो पनि गाउँकै दलित समुदायका अभियन्ताका कारण। 

निता अहिले गाउँमा सञ्चालित निःशुल्क कक्षामा पढ्दैछिन्। जुन निःशुल्क कक्षामा विशेषगरी विद्यालय छाडेका, पढाइमा कमजोर तथा मिहिनेती विद्यार्थीहरूलाई ‘एक्सट्रा’ क्लास दिइ पढाइमा अब्बल बनाउने प्रयास गरिँदै छ।  

त्यतिमात्र नभइ यो निःशुल्क कक्षामा निता जस्तै विद्यालय उमेरमा विद्यालय नजान नपाएका बालबालिकालाई पनि ‘एक्सट्रा’ क्लास दिएर कम्तीमा प्राथमिक तहमा भर्ना हुने गरी उत्पादन गरिन्छ। निता पनि अहिले यही तयारीमा छिन्। एकैपटक पाँच कक्षामा भर्ना हुनेगरी अहिले निता निःशुल्क कक्षामा तयारी गरिरहेकी छन्।

निताको मात्रै यो समस्या होइन, अन्य दलित बालबालिकाको पनि यो साझा समस्या हो।  विभिन्न कारणले बीचमै पढाइलाई ‘बिट’ मार्नुपर्ने समस्याबाट पीडित दलित समुदायका बालबालिकालाई शिक्षामा फड्को मार्ने काम गाउँ टोलकै अगुवाहरुले गरिरहेका छन्।

निशा माझीको अवस्था पनि उस्तै छ। ११ वर्षकी निशा गाउँकै दिप नारायण आदर्श माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन्।  

उमेरको हिसाबले निशा पनि अहिले ६ कक्षामा पढ्नुपर्ने हो तर उनी तीनमै अध्ययनरत छिन्। कारण–समयमा उनको भर्ना गरिएन, भर्ना नहुँदा ११ वर्षको उमेरसम्म पुग्दा तीन कक्षामै अड्किनुपरेको छ।  

निशा अहिलेसम्म तीनमै रहनुको अर्को कारण हो–अंग्रेजी किताब। अङ्ग्रेजी किताब विद्यालयमा पढाउँदा उनी त्यति बुझ्दिन थिइन्, जसका कारण पढाइप्रति उनको रुचि घटिरहन्थ्यो। फलस्वरुपः ५ वर्ष पछाडि एसइइ दिनुपर्ने उमेरमा उनी बल्ल ८ कक्षामा पुग्नेछिन्।

तर, पछिल्लो समय निशाको पढाइप्रति रुचि बढ्न थालेको छ। अहिले बस्तिमा दलित अभियन्ताहरुले चलाएको निःशुल्क कक्षा केन्द्रले उनको पढाईमा धेरै सुधार आएको छ। उनी भन्छिन्, ‘यही कक्षाबाट विद्यालयमा नबुझेका÷सम्झेका विषयहरुमा पुनः दोहो¥याएर बुझ्ने गरी पढ्न पाइरहेका छु, अब सबै सजिलो पनि हुँदै गइरहेको छ। त्यसकारण स्कुलमा निरन्तर जान थालेको हुँ।’

सखुवाप्रसौनीकी निता र निशा मात्रै होइन उनीहरू जस्तै अहिले गाउँभरका करिब एक हजारको हाराहारीमा दलित बालबालिकाहरू निःशुल्क कक्षामा ‘एक्सट्रा’ कलास लिएर पढाइलाई निरन्तरता मात्रै दिइरहेका छैनन्, दलित समुदायलाई नै अगाडि बढाउनेतर्फ अग्रसर भइरहेका छन्। अर्थात् शिक्षा क्षेत्रमा अहिले पर्सा जिल्लाको सखुवा प्रसौनीका दलित बालबिालिकाहरूले मारिरहेको फड्को लोभलाग्दो छ।  

दलित समुदायको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यका साथ अहिले सो गाउँपालीकाकाको दलित अभियन्ताहरु आफै लागी परेका छन्, जसकारण जिल्लाको अन्य पालिका भन्दा यो पालिकामा दलित समुदायका विद्यार्थीहरू आफ्नो पढाइलाई निरन्तरता दिन सफल भइरहेको तथ्याङ्कले देखाउँछ। 

गरिब तथा पिछडिएका बालबालिकाहरूलाई मध्यनजर गरेर पर्साको अहिले हरेक दलित बस्तिमा सामुदायिक निःशुल्क कक्षा केन्द्र सञ्चालन गरिएका छन्। 

२०७७ सालदेखि दलित युवा अभियन्ताहरूको सक्रियतामा सो कक्षा केन्द्र अहिले पर्साको सखुवा प्रसौनी गाउँपालिकासँगै बाराका ४ ठाउँमा ५ वटा कक्षा केन्द्र सञ्चालित छन्।  

सुरुमा ३ सय बालबालिकाको सहभागितामा सुरु गरिएको यो कक्षा केन्द्रमा अहिले १ हजार बालबालिका निःशुल्क रुपमा अध्ययन गरिरहेका छन्।

कसरी हुन्छ व्यवस्थापन ?

सखुवा प्रसौनीको कौवावन मुसहर बस्ति, कटैया, महुवन, वीरगञ्ज महानगरपालीका १९ केहूनिया दलित बस्ति र बारा जिल्लाको बस्डिल्वा इनर्वाको दलित बस्तिमा अहिले निःशल्क कक्षा केन्द्र सञ्चालित छन्।  

यो निःशुल्क कक्षा खासगरी दलित समुदायका शिक्षित अभियान्ता तथा विदेशमा रहेका नेपालीहरुको सहयोगका कारण सञ्चाल भइरहेको छ।  

जसका लागि अमेरिका, अष्ट्रेलिया जस्ता देशमा रहेका नेपालीहरुले गरेको आर्थिक सहयोग पठाइदिने गरेका कारण त्यहीँ रकमले तलब दिने गरिएको कक्षा केन्द्रका मुख्य अभियन्ता मनोज राम बताउछन्।  

उनी भन्छन, ‘केन्द्रमा पढाउने शिक्षकको मासिक ६ हजार दिने गरेका छौ, यो ५ स्थानमा गरी महिनाको ३० हजार हुन्छ। जुन रुपैयाँ विदेशमा रहेका नेपालीहरूले गरेको सहयोगबाट  पूरा हुन्छ।’  

समाजिक सञ्जालमार्फत् स्थानीय अभियन्ताहरूले गरेको काम देखेर आफ्नो कमाई बाट विदेशिएका नेपालीहरुले आर्थिक सहयोग गर्ने गरेका छन्।  

अभिभावक पनि खुसी  

आफ्नो बालबालिकाको पढाइमा सुधार हुदै गएपछि दलित समुदायका अभिभावक पनि खुशी छन्। उर्मीला देवी माझीका परिवारका ४ छोरी र २ जना छोरा केन्द्रमा पढ्न आउने गरेको बताइन्। बालबालिका अहिले नजिकैको विद्यालयमा निरन्तर जाने गरेको उनको भनाइ छ।  

‘निःशुल्क कक्षाको पढाइले अहिले आफुजस्तो अशिक्षित अभिभावकलाई धेरै सहयोग भएको छ। आफूहरू त लेखपढ गर्न जान्दैनौ घरमा सर बोलाएर पढाउन पनि सक्दैनौ तर अहिले स्कुलको पाठ निःशुल्क कक्षामा त्यहाँका सरले राम्ररी बुझाउनु हुन्छ र बच्चाहरू सधै स्कुल जान्छन्,’ उनले भनिन् ,‘आफ्नो सन्तान शिक्षित भए आफुहरुले पाएको दुःख अब बालबच्चाले पाउदैनन्।’  

कौवा वनका अभिभावक जय प्रकाश माझीका अनुसार अहिले दलित बालबालिकाको पढाइमा एकदमै राम्रो सुधार हुँदै गइरहेको छ।  

उनी भन्छन् ‘२ वर्षदेखि विद्यालयमा जादाँ बालबालिकाको पढाइमा खासै सुधार भएको थिएन, तर अहिले सञ्चालनमा आएका सामुदायिक कक्षा केन्द्रले धरै राम्रो असर गरेको छ।’  

शिक्षाप्रति वर्षौदेखि दबिएको सोचलाई अचानक परिवर्तन गर्न सहज नभएको हुँदा अभियन्ताहरू दलितबस्तिमा गइ स्थलगत अनुगमन गरेपछि त्यहाँको समस्याको बारेमा पत्ता लगाइ सोहि अनुसार कार्ययोजनाको बनाइ बालसमुह गठन गरेर कक्षाको सुरुवात गरेको शिक्षक तथा अभियन्ता मनोज रामले जानकारी दिए।  

उनी भन्छन्, ‘गाउँपालिका तथा वडा कार्यालयले जुन बजेट निर्माण गरेको छ त्यसमा दलित मैत्री बजेट छुट्याइदिए अझ प्रभावकारी हुन्थ्यो। दलित विद्यालयमा पनि स्थानीय निकाय तथा केन्द्र सरकारको सहयोग भनेको, किताब र छात्रवृति वापत वार्षिक ४ सय रुपैया दिने गरेको छ जसबाट विपन्न विद्यार्थीलाई सहयोग पुगेपनि कैयौ कुरा पुरा हुन सकेको छैन। दिनहुँको कपि कलम तथा अन्य सामग्रीका लागि अभियन्ताहरूले चन्दा उठाएर बस्तिमा दिने गरेका छन्।’  

अभिभावकहरूको कमीकमजोरीले गर्दा कक्षा केन्द्रमा पनि केहि विद्यार्थीहरू ड्रप आउट हुने गरेका छन्। तर फेरी सम्झाइ बुझाइ गरेपछि कक्षामा निरन्तर ल्याउन सफल हुने गरेको रामको भनाइ छ।  

अर्का अभियन्ता जयलाल महराका अनुसार अभियन्ताहरूको सक्रियतामा पहिलेभन्दा अहिले दलितको शिक्षामा धेरै सुधार देखिएको छ। अभियन्ताहरूको दबाब र प्रभावका कारण दलित बालबालिकहरू पढ्न पाइरहेका छन्। जुन ठूलो उपलब्धि हो,’ उनले भने।

 आर्थिक अवस्था कमजोर, अभिभावकको सोच परिवर्तन नहुनु जस्ता कारणले दलित समुदायका बालबालिका समयमै विद्यालय जान नपाएको उनको भनाइ छ। उनी भन्छन्, ‘सबै समस्या समाधान गर्न नसकेपनि सुरुमा जागरुक बनाउने अभियानको सुरुवात ग¥यौं पछि बालबालिकाहरूलाई विद्यालय भर्नामा जोड दियौँ र अहिले विद्यालयमा टिकाउनका लागि सामुदायिक कक्षा केन्द्रको सुरुवात गरेका छौँ। जुन प्रभावकारी पनि बन्दै गएको छ।’

पर्साको १४ वटा स्थानीय तह मध्ये अहिले सखुवा प्रसौनीको दलित विद्यार्थीका शिक्षाको अवस्था सकारात्मक परिवर्तन आएको छ। यस गाउँपालिकाको स्थानीय तहले विशेष ध्यान दिए अझै प्रभावकारी हुने दलित अगुवाहरूको भनाइ छ।  

महुवन ५ दलित प्राथमिक विद्यालयका सहयोगी तथा शिक्षक हरि नारायण महराका अनुसार पहिलेभन्दा विद्यार्थीहरूको सङ्ख्या राम्रो हुदै गएको बताए। बालबालिकाको शिक्षामा सरकार तथा सहयोगी संस्थाहरुकोे सहयोग अहम् रहेको उनको भनाइ छ।  

२०७४ सालमा ९० वटा विद्यार्थी रहेको दलित विद्यालयमा अहिले २४० वटा विद्यार्थी अध्ययनरत छन्। महरा सामुदायिक विद्यालय कर्मचारी सङ्घका अध्यक्ष पनि हुन्। उनले २९ वटा विद्यालयमा गरेको अनुगमनका अनुसार यस विद्यालयमा अन्यभन्दा विद्यार्थीको सङ्ख्या बढी भएको र शिक्षाको स्तर राम्रो भएको बताए।  

विभिन्न संस्था तथा सहयोगीहरूले समय समयमा शैक्षिक साम्रग्री, खेलकुद तथा विद्यालयका लागी चाहिने भौतिक सामग्रीहरू तथा शौचालय निर्माण जस्ता कार्यहरूमा सहयोग गरिदिँदा विद्यार्थीहरूलाई सहयोग प्राप्त भएको बताए।  

अहिले नेपाल सरकारले ल्याएको दिवा खाजा कार्यक्रमको प्रलोभनमा धेरै बालबालिकाहरू विद्यालय आउने गरेको शिक्षक महराको भनाइ छ। पढाइमा पनि पहिलेभन्दा अहिले शिक्षकहरू समयमा विद्यालय आउने गर्दा अहिले अन्य गाउँको विद्यार्थीहरू पनि यस विद्यालयमा आउने गरेको उनको भनाइ छ ।  

कौवावन प्राथमिक विद्यालयको बालविकास डिलजु कुमार चौधरीका अनुसार अहिले विद्यालयमा बालबालिकाहरूको सङ्ख्या बढ्दै गएको छ। अभियन्ताहरूको दबाब र दिवा खाजाले प्रभावकारी शिक्षा बन्दै गएको उनको भनाइ छ।  

शिक्षामा गाउँपालिकाको सकारात्मक कदम  

सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख जसवन्त यादवले पालिकामा दलित बालबालिकाहरूको शिक्षामा मात्र नभई विपन्न पिछडा तथा हरेक समुदायका बालबालिकाको लागि विशेष योजना ल्याएर काम गरिरहेको बताए।  

उनले वडास्तर मै ३ लाखसम्म बजेट छुट्याएर कपि, कलम, व्याग जस्ता शैक्षिक सामग्री खरिद गरी वितरण हुने गरेको बताए।  

कोहि पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्यका साथ यस वर्ष गाउँपालिकाले गुणस्तरीय शिक्षामा सशर्त बाहेक १ करोड ३० लाखको हाराहारीमा बजेट छुटएर काम भइरहेको प्रमुख यादवले बताए। दलित समुदायका अभियन्ताहरूले गरिरहेको काम सराहनीय रहेको भन्दै प्रमुख यादवले उनीहरूले भनेको बेला हुनसक्ने सहयोग गरिरहेको पनि बताए । 

प्रकाशित: ११ मंसिर २०८० ०८:११ सोमबार

पर्सा सखुवाप्रसौनी बालबालिका पाँच कक्षा दिप नारायण आदर्श माध्यमिक विद्यालय