२० आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

संस्कृत विश्वविद्यालयको लापरवाहीले रोकिए परिक्षा, आएन नतिजा

राजनीतिक प्रतिशोधले थलिएको दाङ स्थित नेपाल संस्कृत विश्वविद्यालयमा परिक्षा समितिको बेमतलवका कारण विद्यार्थीहरुको परिक्षा तथा नतिजा प्रकाशन रोकिएको छ।

विश्वविद्यालयको परिक्षा समितिले स्वीकृती नदिँदा सञ्चालन हुनु पर्ने परिक्षाहरु रोकिएका छन् भने परिक्षाफल प्रकाशन समेत रोकिएको छ। तर परिक्षा समितिले भने विश्वविद्यालयमा गरिएको तालाबन्दीलाई परिक्षा तथा परिक्षाफल प्रकाशन रोकिनुको एक मात्रै कारण रहेको बताउँछ।

‘विश्वविद्यालयको केन्द्रीय कार्यालयमै ताला झुण्डिएको छ, म आफ्नो कार्यकक्ष भित्र प्रवेश गर्नै पाएको छैन,’ नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार तथा परिक्षा समितिका संयोजक माधव अधिकारी भन्छन् ‘अनि कसरी परिक्षा तथा परिक्षाफल प्रकाशनको काम गर्न सकिन्छ?’ नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राख्दै गत असार ३ गते देखि तालाबन्दी गरेको छ।

सम्पन्न भैसक्नु पर्ने पतन्जली आयुर्वेद मेडिकल कलेज धुलिखेलमा सञ्चालित आयुर्वेद स्नातकोत्तर तेस्रो वर्षको परिक्षा रोकिएको छ। यसको लिखित परिक्षा भैसकेको र भाइभा रोकिएको छ। यसैगरि एक वर्षे बिएड तथा केन्द्रीय आयुर्वेद विद्यार्थीपीठले सञ्चालन गरेको आयुर्वेद स्नातकोत्तर पहिलो र तेस्रो तहको परिक्षाफल प्रकाशित भएको छैन।  

तर रजिष्ट्रार तथा परिक्षा समितिका संयोजक अधिकारीले स्वीकृति दिए मात्रै रोकिएका परिक्षा तथा परिक्षाफल प्रकाशनको काम हुने नेसंविकै अधिकारीहरु बताउँछन्। उनीहरुका अनुसार संयोजक अधिकारीले स्वीकृति नदिएकै कारण परिक्षा सञ्चालन गर्न तथा परिक्षाफल प्रकाशन गर्न नसकिएको हो। ‘नेसंविको रजिष्ट्रार सर परिक्षा समितिको संयोजक रहने प्रावधान हुन्छ,’ नेसंविका डिन चन्द्रप्रसाद भुषालले भने ‘उहाँले अनुमती दिएपछि मात्रै रोकिएका परिक्षा र परिक्षाफल प्रकाशनको काम हुने हो,उहाँ यो बिषयमा गम्भिर बनेपछि समस्या समाधान भैहाल्छ।’

उनका अनुसार डिन कार्यालय अन्तर्गत परिक्षा सञ्चालक समिति हुन्छ। यो समितिको संयोजकमा डिन नै हुने प्रावधान छ। तर उपल्लो तह नेसंविमै अर्को परिक्षा समिति हुन्छ। विश्व विद्यालयमा रहने परिक्षा समितिको संयोजक भने विश्वविद्यालयका उपरजिष्ट्रार हुने प्रावधान छ। डिन कार्यालय अन्तर्गत रहने परिक्षा सञ्चालक समितिले परिक्षा सञ्चालन तथा परिक्षाफल प्रकाशनको निर्णय गर्छ र उपल्लो तहमा रहने परिक्षा समितिले स्वीकृति दिनै पर्छ। तर नेसंविको परिक्षा सञ्चालनले अनुमती नदिएकै कारण केहि परिक्षा रोकिएका छन् भने केहिको परिक्षाफल प्रकाशन रोकिएको छ।

डिन भुषालका अनुसार परिक्षा तथा परिक्षाफल प्रकाशनका लागि रजिष्ट्रार अधिकारीले स्वीकृती दिए मात्रै पुग्छ। तर अधिकारीले यसको स्वीकृती प्रदानका लागि विश्वविद्यालयमा लागेको तालाबन्दी खुल्नै पर्ने अडान लिएका छन्। ‘उहाँ (रजिष्ट्रार)ले स्वीकृतिका लागि आफ्नो कार्यकक्ष खुल्नै पर्ने भन्नु हुन्छ,’ डिन भुषालले भने ‘अन्त कतै पनि बस्दैन भन्नु हुन्छ, उहाँलाई यो बिषयमा सम्झाईरहेका छौँ।’ उनले स्वीकृतिका लागि जहाँ बसेर पनि छलफल गरेर निर्णय गर्न सकिने बताए।

तर रजिष्ट्रारले अधिकारीले भने परिक्षा जस्तो संवेदनशिल बिषयमा निर्णय लिनु पर्दा गोप्य स्थानमा मात्रै बसेर निर्णय गर्न सकिने बताउँछन्। ‘परिक्षा जस्तो बिषयमा निर्णय लिँदा जहाँ पायो त्यहाँ बसेर पनि त भएन नि,’ अधिकारीले भने ‘केन्द्रीय कार्यालयमा लागेको ताला कारण मेरो कार्यकक्ष पनि बन्द हुन पुगेको छ, कसरी निर्णय लिने भन्ने नै समस्या भैरहेको छ।’ तर अधिकारीले स्वीकृति दिए मात्रै डिनको कार्यालयले परिक्षा सञ्चालन र नतिजा प्रकाशनको काम सञ्चालन गर्न सकिने दाबी गर्छ। परिक्षा र नतिजा प्रकाशनका लागि काम गर्ने निकाय परिक्षा शाखा भने खुल्लै छ।  

असार ३ मा केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि रजिजष्ट्रार अधिकारी नेसंविमा आएका छैनन्। उनले तालाबन्दी भएको कारण देखाउँदै आफू कार्यालयमा उपस्थित हुन नसकेको बताए। उनी एक महिना देखि कार्यालयमा उपस्थित नभएका कारण पनि परिक्षा सञ्चालन तथा परिक्षाफल प्रकाशनका बिषयमा सहजीकरण गर्ने बाटो खुलेको छैन। ‘म कार्यालयमा गएर कहाँ बस्नु?’ अधिकारीले भने ‘ताला बन्दी भएपछि म कार्यालयमा गएको छैन, घरमै छु।’ उनले नेसंविको केन्द्रीय कार्यालयमा लागेको ताला खुलाउने बिषयमा छलफल भैरहेको र ताला खुलेपछि सबै सहज हुने बताए। ‘आन्दोलनरत पक्षसंग अन्य बिषयहरुमा सहमती भैसकेको छ, आयुर्वेदको ईन्टर्नसीपमा सहभागीहरुको भत्ता वृद्धिको माग मात्रै सम्बोधन हुन सकेको छैन,’ अधिकारी भन्छन् ‘ताला खुला हुने अवस्था भयो भने म कार्यालयमा हाजिर हुन्छु, अनि सबै समस्या समाधान हुन्छन्।’

स्वतन्त्र विद्यार्थी युनियनले पुस्तकालयमा पर्याप्त पुस्तकको व्यवस्था नभएको, छात्रावास निर्माणको काम तत्काल अघि बढाउनु पर्ने, आयुर्वेदको ईन्टर्नसीपमा सहभागीहरुको भत्ता वृद्धि लगाएतका माग राख्दै नेसंविको कार्यालयमा ताला लगाएको छ।

तर, तालाबन्दीको कारण देखाउँदै विद्यार्थीहरुको परिक्षा सञ्चालन तथा परिक्षाफल प्रकाशन नगरिएको प्रति विद्यार्थीहरुले आपत्ति जनाएका छन्। परिक्षा समितिको अनिच्छाका कारण परिक्षा सञ्चालन तथा नतिजा प्रकाशन नभएको उनीहरुको दाबी छ। ‘परिक्षा समितिलाई परिक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्न केले रोकेको छ?’  

नेविसंघ दाङका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले भने ‘अनुमती मात्रै नदिएका कारण विद्यार्थीहरुको भविष्य माथि खेलवाड गर्ने काम गरिएको छ, यो निन्दनीय छ।’ उनले विश्वविद्यालयको परिक्षा शाखा खुल्लै रहेको बताउँदै अनुमती दिए मात्रै परिक्षा सञ्चालन हुने दाबी गरे।

‘डिन सरसंग मेरो कुरा हुँदा पनि उहाँले रजिष्ट्रार तथा परिक्षा समितिका संयोजकले स्वीकृति दिए मात्रै परिक्षा सञ्चालन गर्न सकिन्छ भन्नु भएको छ,’ जिल्ला अध्यक्ष पोख्रेलले भने  ‘केन्द्रीय कार्यालय तथा डिनको कार्यालयमा लगाईएको तालाले परिक्षा तथा नतिजाको काम रोकिएको हैन भनेर डिनले भन्नु भएको छ भने परिक्षा किन भएन भन्ने त प्रष्टै भयो नि।’ केन्द्रीय कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ भने डिनको कार्यालय र सेवा आयोगको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ।

नेविसंघले सेवा आयोगले लिन थालेको प्राध्यापक तथा कर्मचारी छनौटको परिक्षाको प्रश्न पत्र बाहिरिएको भन्दै डिनको कार्यालय तथा सेवा आयोगको कार्यालयमा ताला लगाएको छ। ‘डिनको कार्यालय र सेवा आयोगको कार्यालयमा लगाएको तालाका कारण परिक्षा सञ्चालन तथा परिक्षाफल प्रकाशनका लागि स्वीकृति प्रदान गर्न समस्या भएको हो भने हामीलाई भन्नु पर्यो हामी सहजिकरढण गर्न तयार छौँ,’ नेविसंघ जिल्ला अध्यक्ष पोख्रेल भन्छन् ‘तर पदाधिकारी आफै जिम्मेवार नबनेका कारण समस्या भएको हो, तर दोष भने अरुलाई थोपर्ने काम भैरहेको छ।’ उनले डिनको कार्यालयले नतिजा तयार पारिसकेको र प्रकाशनका लागि रजिष्ट्रारको स्वीकृति मात्रै चाहिएको बताए।  

प्रकाशित: २२ श्रावण २०८० ११:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App