१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाडमा अजरलाइ स्वर्ण

अजर गुरुङ

‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा यहाँस्थित प्रतिभा माविमा अध्ययनरत विद्यार्थी अजर गुरुङले स्वर्ण पदक हात पारेका छन्। गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिश्पर्धामा विभिन्न देशका प्रतिश्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका हुन्। 

प्रतिभा माविका निर्देशक किरण सापकोटाका अनुसार पदक विजेता गुरुङ कक्षा १२ का व्यवस्थापन संकायका विद्यार्थी हुन्। अन्तर्राष्ट्रिय विजनेस ओलम्पियाडमा गुरुङ सहित विभिन्न २० वटा मुलुकका विद्यार्थी सहभागि थिए। २० वटा मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङले स्वर्ण जितेका हुन्। प्रतिश्पर्धामा ब्राजिल, क्यानडा, चीन, जर्मन, भारत, इजिप्ट लगायतका मुलुकका विद्यार्थीले भाग लिएका थिए।

प्रतिश्पर्धामा गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए। दोश्रो स्थानमा भारतका शरद गोपालकृष्णन भएका छन्। उनले ३५८ अंक पाएका छन्। त्यस्तै तेश्रो हुनेमा नेपालकै आदित सुवेदी र अनुस्का सुवेदी छन्। उनीहरुले समान ३५७ अंक पाएका छन् । उत्कृष्ट २० जनाभित्र नेपालका सातजना विद्यार्थी परेका छन।

‘हाम्रा विद्यार्थी अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्न सक्षम रहेको यो सहभागिता र पदकले पुष्टि गर्छ,’ सापकोटाले भने, ‘नेपाली विद्यार्थी पनि अब्बल छन् भन्ने यसले देखाएको छ। त्यसबाहेक राजधानी बाहिरका विद्यार्थीमा पनि क्षमता रहेको यसले देखाउँछ।’ सापकोटाका अनुसार चीनमा कोरोना भाइरस संक्रमणका कारण भौतिक उपस्थितिमा प्रतिश्पर्धा हुन नसकेपछि भर्चुअल माध्यमबाट प्रतिश्पर्धा भएको थियो।

‘नेपाली विद्यार्थीले मुलुककै नाम उच्च बनाएका छन्। नेपालमा पनि गुणस्तरीय शिक्षा अध्यापन हुने यो सहभागिता र विद्यार्थीले जितेको अवार्डबाट पुष्टि हुन्छ,’ उनले भने, ‘उत्कृष्ट २० जनामा ७ जना नेपाली विद्यार्थी परेका छन्। यो हाम्रा लागि मात्र नभई मुलुककै लागि गर्व गर्न लायक विषय हो।’

यसअघि सन २०२० मा सम्पन्न वल्र्ड इकोनोमिक्स कपमा पनि प्रतिभा माविकै सिमा केसीले विद्यालयलाई रजत पदक दिलाएकी थिइन्। सन २०२३ का लागि पनि वल्र्ड इकोनोमिक्स कपको पहिलो चरणको क्षेत्रीय प्रतिश्पर्धामा प्रतिभा माविकै चारजना विद्यार्थी छनोट भइसकेका विद्यालयका निर्देशक सापकोटाले बताए।

प्रकाशित: २७ पुस २०७९ ०९:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App