४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

आठ महिना बितिसक्दा पनि नतिजा प्रकाशन भएन, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै त्रिवि

२४ वर्षीय सफलता श्रेष्ठले  समाज शास्त्रमा स्नातक पास गरेको एक वर्ष भयो। स्नातकोत्तर तहमा मनोविज्ञान गर्ने इच्छा रहेको छ। स्नातकोत्तर तहमा मनोविज्ञान विषय अध्ययन गर्न  एक वर्षे पोस्ट ग्राजुएट इन साइकोलोजी अनिवाय गर्नु पर्ने त्रिभुवन विश्वविद्यालयको ब्यवस्था छ। तर त्रिभुवन विश्वविद्यालयले हालसम्म यो विषयमा भर्ना खुलाउन सकेको छैन। जसको कारण उनले पोहोर असार साउनमै भर्ना हुनु पर्नेमा त्रिविको ढिलासुस्तीका कारण अध्ययन सुरुनै गर्न नसकेको बताइन्। सफलता मात्र होइन त्रिवि पनिकाले समयमै  स्नातक तह चौथो र तेस्रो वर्षको नतिजा प्रकासन गर्न नसकदा  विज्ञान, ब्यवस्थापन र मानविकी विषयका कुनै पनि विषयमा स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुल्न सकेको छैन। यसका कारण स्नातकोत्त तह प्रथम वर्ष खालि नै चलिरहेको छ भने विद्यावारिधिमा समेत कुनै पनि विषयको भर्ना खुल्न  सकेको छैन।  

‘मैले पोहोर भदौंमै एक वर्षे पोस्ट ग्रेजुएसन इन साइकोलोजी गर्नु पर्ने हो तर त्रिविले भर्ना खुलाएकै छैन,’ सफताले गुनासो गरिन् ‘एक वर्षे अध्ययन नगरि स्नातकोत्तर तहमा साइकोलोजी भर्ना हुन पाउँदैन। मेरो अब डेढ वर्ष खेर गइसक्यो कहिले पढ्न पाउने अझै निश्चित छैन।’ उनले थपिन् ‘अब विदेशी विश्वविद्यालयमा भर्ना हुन बाहेक केहि लागेन मेरो त। सरकारलेनै हामीलाई विदेशीन बाध्य बनाइरहेको छ। ’त्रिभुवन विश्वविद्यालयले पोहोर संचालन गरेको स्नातक तेस्रो र चौथो वर्षको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न नसक्नु नै त्रिविको बेथिति बनेको उनको ठहर छ। त्रिविको लापारवाहीका कारण लाखौं विद्यार्थीको स्नातकोत्तर तह अध्ययन गर्नु पर्ने समय एक वर्षदेखि खेर गइरहेको छ।

त्रिभुवन विश्वविद्यालयमा केहि विषयमा सेमेस्टर प्रणाली लागु भए पनी धेरै विषयमा वार्षिक प्रणाली नै लागु छ। यसले गर्दा अझै पनि वार्षिक प्रणालीमै धेरै विद्यार्थी अध्ययन गरीरहेको अवस्था छ। अन्तराष्ट्रिय स्तरमा भन्ने हो भने त्रिविकै महत्व भएकोले विद्यार्थीहरुको आकर्षण पनि त्रिविनै हो तर विश्वविद्यालयमा दिनहुन हुने राजनिति बन्द हड्तालका कारण शैक्षिक गतिविधि प्रभावित बनी विद्यार्थीको भविष्यनै चौपट हुने अवस्था सृजना भएको विद्यार्थीहरुको गुनासो छ।

विश्वविद्यालय अनुदान अयोगको तथ्याँक अनुसार नेलामा कुल १२ विश्वविद्यालय संचालित छन्। यी विश्वविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको कुल सँख्या चार लाख ६० हजार ८ सय २६ रहेको छ। यसमध्ये पनि त्रिभुवन विश्वविद्यालय एक्लैले तीन लाख ४७ हजार २ सय ६९ भार थेगि रहेको छ। बाँकी विद्यार्थीहरु पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगाएत अन्य विश्वविद्यालयहरुमा अध्ययनरत छन्।  

संकायगत रुपमा सबै भन्दा बढी  ब्यवस्थापन संकायमा अध्ययनरत छन्। ब्यवस्थापनमा ४६.२४ प्रतिशत,शिक्षामा २२.१८ प्रतिशत, मानविकीमा ७.९८ प्रतिशत,कानून संकायमा २.२८ प्रतिशत, मेडिकल तर्फ ५.३८ प्रतिशत र इन्जिनियरिङ तर्फ ५.५६ प्रतिशत विद्यार्थी अध्ययनरत छन्।

एकातिर त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको ८० प्रतिशत भार बोकेको छ। वार्षिक प्रणालीमा लाखौं विद्यार्थी भर्ना छन्। तर विश्वविद्यालयका पदाधिकारीले शैक्षिक क्यालेण्डर ब्यवस्थापन गर्न नसक्दा स्नातक तहको नतिजा प्रकासन गर्न ७–८ महिना ढिला भइसक्यो। जसका कारण स्नातकोत्तर तहको पहिलो सेमेस्टर र पहिलो वर्षको भर्ना हुन नसेको मानविकी संकायका सहायम डिन तारा भूषालले जनाए। 

‘पोहोर स्नातकोत्तर तहको भर्ना प्रकृया असार –साउनमै सकिएर भदौं देखि प्रथम वर्षको कक्षा सुरु भइसकेको थियो। तर यो वर्ष पुस लागिसम्दा पनि अझै भर्ना खुलेकै छैन,’ सहायक डिन भूषालले नागरिकसँग त्रिविको वेथिति सुनाए ‘स्नातकोत्तर तह पहिलो वर्षको कक्षा सात महिनादेखि खालि छ। पनिकाले ब्यवस्थापन चौथो वर्ष, मानविकी र विज्ञान संकायको तेस्रो वर्षको नतिजा प्रकासन गर्न ८ महिना ढिला गरेको छ। नतिजा प्रकाशित नभएसम्म भर्ना खुलाउन मिल्दैन। ’ उनले थपे ‘डिन कार्यालयहरु नतिजा कुरेर बसेका छन् भने विद्यार्थीको पढाइ ढिला हुदा समय खेर गएको अवस्था छ। साथै यसकै कारण धेरै विद्यार्थीहरु विदेशीने क्रमम पनि उस्तै छ।’वर्षेनी स्नातकोत्तर तहमा प्रथम सेमेस्टरमा मा  १४ हजार विद्यार्थी विभिन्न विषयमा भर्ना हुन्छन् भने वार्षिक प्रणालीको स्नातकोत्तर तह प्रथम वर्षमा पनि लाखौं विद्यार्थी भर्ना हुन्छन्। तर त्रिविको स्नातका तहको नतिजा प्रकासन ढिलाईका कारण विद्यार्थीमा नेपालको उच्च शिक्षा प्रतिनै निराषा जगाउँदै गएको उनको विश्लेषण छ। ‘नतिजा आठ महिना ढिालइकै कारण विद्यार्थीहरु स्वदेश तथा विदेशमा पाउने विभिन्न अवसरबाट समेत बन्चित बन्नु पर्ने अवस्था छ,’ सहायक डिन भूषालले भने ‘अब विश्वविद्यालयका पदाधिवकारीहरु त्रिविको कुशल ब्यवस्थापन हुन नसके विश्वविद्यालयमा विकराल अवस्था आउन सक्छ।’

अर्को तर्फ त्रिवि परिक्षा नियन्त्रण कार्यालय बल्खुले रेडिमेड जवाफ दिँदै आएको छ कि प्रयाप्त जनशक्ति नभएको र विद्यार्थीको चाप धेरै भएकोले समयमा काम गर्न सकिएन। यो उत्तर पनिकाले एक दशकदेखि दिँदै आएको हो। तर विश्वविद्यालयको परीक्षा र शैक्षिक गतिविधि कसरी ब्यवस्थापन गर्ने विषयमा पदाधिकारीहरु कहिल्यै संवेदनसिल नबनेको त्रिविकै शिक्षक र विद्यार्थीको ठहर छ। 

सहायक नियन्त्रक घनश्याम ठाकुरका अनुसार जनशक्ति अभावका कारण हाल स्नातक तह वार्षिक प्रणालीका करिब एक लाख बढी विद्यार्थीको नतिजा प्रकाशन गर्न पनिकाले सकेको छैन। ‘ब्यवस्थापन, मानविकी र विज्ञान तर्फको करिब एक लाख विद्यार्थीको नतिजा प्रकाशन गर्न ७ महिना ढिला भएकै हो,’ उनले स्पष्ट पारे ‘विगतमा २ सय ६० जनशक्तिले परीक्षाको काम गर्ने गरेकोमा हाल एक सय २२ ले गरिरहेकोले काम समयमै सकिन चुनौति थपिएको हो।’ उनले सुनाए ‘कर्मचारि अभाव छ। त्रिवि सेवा आयोग समयमा खुल्दैन। तालाबन्दी र हड्तालले आयोगमा वेथिती छ। यसको प्रतक्ष्य असर विद्यार्थीको भविष्यमाथि परेकै हो।’ अब पनि त्रिविका पदाधिकारी र सम्बन्धित निकायको समयमै ध्यान नपुगे त्रिवि ध्वस्त हुने अवस्थामा पुग्ने उनको ठहर छ।  

प्रकाशित: ४ पुस २०७९ ११:०८ सोमबार

त्रिभुवन विश्वविद्यालय