९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

नपत्याउने प्रदूषणले जीवन सिध्याउँछ

वर्षा र हावाले धुवाँ र धुलो बढारकुँडार गर्दा वर्षायाममा तुलनात्मकरूपमा सबैभन्दा कम वायु प्रदूषण हुने गर्छ। तर नेपालको वायुमण्डलमा वर्षायाममा पनि विश्व स्वास्थ्य संगठनले तोकेको वायु गुणस्तर भन्दा अत्यधिक स्तरमा वायु प्रदूषण देखिएको छ। विशेषगरी वायु प्रदूषणका लागि स्थानीय कारण मात्र जिम्मेवार नभई नभई टाढा टाढाबाट प्रवाहित हँुदै आउने विषाक्त कणहरू पनि उत्तिकै जिम्मेवार छन्। भारतको उत्तरप्रदेश तथा हरियाणाका किसानले कृषिजन्य फोहोर बाल्दा उत्सर्जन हुने विषाक्त हावा नेपालसम्म आइपुग्ने पाइएको छ। त्यसैगरी पाकिस्तान र पश्चिमी एसियाबाट समेत वायु प्रदूषण नेपाल भित्रने अध्ययनहरूले देखाएका छन्।

वायु प्रदूषणका लागि उद्योगधन्दा र सार्वजनिक यातायातले गर्ने उत्सर्जन र जंगली आगो प्रमुख कारण मानिन्छन्। यसबाहेक आममानिसले ठूलो मात्रामा घरबाहिर विभिन्नखाले फोहोर तथा कृषिजन्य पदार्थ जलाउँदा निस्कने कालो धुवाँले वायुमण्डललाई विषाक्त गर्छ। देख्दा सामान्य काम जस्तो लागे पनि यसले गर्ने नोक्सानी डरलाग्दो रहेको विभिन्न अध्ययनले देखाएका छन्। क्यानडामा हालै गरिएको एक अध्ययनले वायु प्रदूषणको कुनै पनि स्तर मानव स्वास्थ्यका लागि हानिकारक देखिएको छ। विश्वको सबैभन्दा सफा र कम प्रदूषित मानिएको क्यानडामा समेत वायु प्रदूषणका कारण बर्सेनि ८ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। यसले प्रष्ट पारेको छ– वायु प्रदूषणका लागि कुनै सुरक्षित स्तर नै छैन र विश्वले यसलाई घटाउन गंभीर हुनैपर्छ। गत महिना बेलायतमा गरिएको समीक्षात्मक अध्ययनले वायु प्रदूषणले बिर्सने रोग (डिमेन्सिया) बढाउने देखिएको छ भने अमेरिकामा गरिएको अर्काे अध्ययनले यातायात प्रदूषण दमको रोग बढाउन जिम्मेवार देखिएको छ। यसरी जथाभावी फोहोर जलाउँदा पृथ्वीको तापमान वृद्धि गर्न जिम्मेवार मानिने हरितगृह ग्यासको अत्यधिक उत्सर्जन हुने पाइएको छ। क्लाइमेट एन्ड क्लिन एयर कोलिसन नामक अन्तर्राष्ट्रिय सञ्जालका अनुसार विषाक्त कालो कार्बन उत्सर्जनका लागि विश्वको सबैभन्दा ठूलो स्रोत खुलारूपमा फोहोर बाल्नु हो। यो वायुमण्डलमा थोरै समय रहे तापनि कार्बन डाइअक्साइडको तुलनामा ४६० देखि १५०० गुणाले विश्वको तापमान बढाउन जिम्मेवार छ।

यसरी मानव स्वास्थ्य र वातावरणलाई गंभीर प्रभाव पार्ने वायु प्रदूषणका लागि खुलारूपमा फोहोर र कृषिजन्य वस्तु बाल्दा हुने उत्सर्जन एक प्रमुख कारण हो। नेपालले पनि घरायसी एवं कृषिजन्य फोहोर खुलारूपमा जलाउने कार्यलाई प्रतिबन्ध लगाउन चाहेको छ तर चाहनालाई मूर्त रूप दिन सकेको छैन। विश्वका विभिन्न देशले खुलारूपमा फोहोर जलाउन प्रतिबन्ध लगाएका र कडा दण्ड सजायको कानुनी प्रावधान राखेका छन् तर नेपालमा यसप्रकारको कानुन अभाव छ।

२०७६ फागुनमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा २ वर्षभित्रै घरायसी एवं कृषिजन्य फोहोर जलाउने कार्यलाई कानुनीरूपमा प्रतिबन्ध लगाउने भनिएको थियो। तर कार्ययोजना कार्यान्वयन भएको साँढे २ वर्षसम्म यो कानुनी व्यवस्था हुन सकेको छैन। कार्ययोजनामा उद्योग, अस्पतालको नियमित अनुगमन गरी खुलारूपमा फोहोर जलाउने गरेको देखिँदा त्यसलाई कानुनी दायरामा तत्काल ल्याउने उल्लेख छ। तर कानुन निर्माण भएको साँढे २ वर्षसम्म यस्ता प्रतिष्ठानलाई के कति कारबाही भयो भन्ने अभिलेख राख्नु्पर्ने आवश्यकतासमेत जिम्मेवार निकायले देखेको छैन।

नेपालमा गरिएका सीमित अध्ययनले राजधानी उपत्यका र अन्यत्र खुलारूपमा फोहार जलाउँदा हुने विषाक्त उत्सर्जनले माटो, वायु, जल तथा खाद्य प्रदूषण निम्तने वैज्ञानिक अध्ययनले देखाएका छन्। सन् २०१६ मा गरिएको एक अध्ययनअनुसार राजधानी खाल्डोमा मात्र वर्षभरि ७४ हजार टन फोहोर जलाइने गरेको छ। त्यो हिसाबले दिनको २० टन फोहोर खुलारूपमा जलाइने गरेको अध्ययनले पुष्टि गर्छ। राजधानीको वायुमण्डलमा ठूलो मात्रा पिएम– २.५, पिएम–१०, कालो कार्बन, कार्बन डाइअक्साइड, मिथेन र अक्साइड अफ नाइट्रोजन उत्सर्जन गर्न यस्ता कार्य जिम्मेवार रहेको अध्ययनको निष्कर्ष थियो। सात वर्षअघि गरिएको सो अध्ययनको आकडा अहिले झन बढेको मान्न सकिन्छ। विषाक्त हावाका कारण श्वास÷प्रश्वास, मुटुमा समस्या, एलर्जीलगायतका अन्य रोग निम्तने देखिएको छ।

यस पृठभूमिमा विश्व समुदायसँगै नेपालले पनि गम्भीर हुन आवश्यक छ। फोहोरमैला व्यवस्थापन बहुविषय र निकायसँग सम्बद्ध छ। संघीय संरचनामा संघ, प्रदेश र स्थानीय निकायको सहकार्य र हातेमालो झन बढी आवश्यक देखिएको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले हालैको एक छलफलमा रहेको फोहोमैला व्यवस्थापन ऐनमा खुलारूपमा फोहोर जलाउनेलाई कानुनीरूपमा दण्ड सजायको व्यवस्था समावेश गरिने बताएको छ। यसअघिको फोहोरमैला व्यवस्थापन ऐन २०६८ लाई संघीय संरचनाका हिसाबले अद्यावधिक गर्ने क्रममा प्रस्तावित ऐनको मस्यौदा अगामी ३–४ महिनामा तयार हुने मन्त्रालयको विश्वास छ।

त्यसो त, हालै स्वीकृत फोहारमैला व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति २०७९ ले फोहोरमैला व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा जोड दिएको छ। त्यसैले संघीय मामला तथा सामान्य प्रशासन, वन तथा वातावरण मन्त्रालय तथा अन्य सम्बद्ध निकायले यो विषयलाई कसरी समन्वयात्मकरूपमा अगाडि बढाउन सकिन्छ भन्नेमा समीक्षा गरेर उचित कदम चाल्न आवश्यक देखिएको छ। यस सन्दर्भमा अर्को महŒवपूर्ण पक्ष भनेको आमसर्वसाधारणको दायित्व हो। प्रष्ट छ, फोहोरमैला व्यवस्थापनमा नागरिक दायित्व अहं छ र जथाभावी फोहोर बाल्ने आनीबानीमा परिवर्तन गर्न जरुरी छ।

छिमेकी भारतले यो विषयमा केही वर्षअघिदेखि अभियान सुरु गरेको छ। भारतको नेसनल ग्रिन ट्रिबुनलले खुलारूपमा फोहोर जलाउन प्रतिबन्ध लगाएको छ। भारतमा खुलारूपमा ठूलो मात्रामा फोहोर जलाएको पाइएमा २५ हजार र सामान्य फोहोर जलाएमा ५ हजार रुपियाँ जरिवाना तोकिएको छ। अर्काे एसियाली देश मलेसियाले खुलारूपमा फोहोर बालेमा ५ लाखसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय गर्ने कानुनी व्यवस्था गरेको छ। मलेसियाको वातावरण विभागले खुलारूपमा फोहोर जलाएको पाइएमा तत्काल जानकारी दिन हटलाइन तथा टोल फि« कलको व्यवस्था गरेको छ। यसबाहेक इन्टरनेटमार्फत पनि तत्काल जानकारी दिन सकिने व्यवस्था गरिएको छ।

त्यसैले यो विषयमा रहेका असल अभ्यासलाई पछ्याउँदै नेपालले पनि उचित कानुनी व्यवस्था गर्न सकेमा जनस्वास्थ्य र वातावरण दुवैलाई फाइदा पुग्ने देखिन्छ। त्यसका लागि उचित समय अहिले नै हो ।

प्रकाशित: ७ भाद्र २०७९ ००:३४ मंगलबार

प्रदूषण