१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

जलवायु संकटका अनेक आयाम

पर्यटकीय सहर पोखरा आइतबार असिना/पानीका कारण भाइरल भएको छ। घर/आँगनबाट सेता हिमाल हेर्दै आएका पोखरेलीले आफ्ना अगाडि असिनाको भीषण वर्षा देखेका छन्। 

पोखराका चोक–चोक र सडक हिउँले सेताम्य भएका दृश्य यसअघि बिरलै देखिएको हो। अधिक असिनाले मूल सडकमा यातायात ठप्प हुन पुगेको दृश्य पनि यसअघि दुर्लभ रहेको हो। असिनाको थुप्रोका कारण गुडिरहेका गाडी ठाउँको ठाउँ रोकिनुपर्ने अवस्था बन्यो।

स्कुलको पढाइ सकेर घर फर्किन थालेका बालबालिका विद्यालयमै रोकिए भने गाडी चढेका पनि बेलैमा घर पुग्न पाएनन्। बेलुकी अबेरसम्म विद्यार्थी सडकमै रोकिएका थिए भने अभिभावक बालबालिका लिन विद्यालयसम्म आउन नसक्दा एक प्रकारको अत्यासलाग्दो अवस्था बनेको थियो।

अन्यत्र राष्ट्रमा हिउँ पन्छाउन डोजर प्रयोग गरेझैँ असिनाको थुप्रो पन्छाउन पोखरामा डोजरसमेत प्रयोग गर्न पर्‍यो। यो आफैँमा फरक दृश्य र घटना थियो। उच्च पहाडी क्षेत्रसँग जोडिएको र तालैतालको पोखरा सहर र आसपास क्षेत्रमा यसअघिका वर्षमा पनि असिना पर्दै आएको देखिन्छ।

तर यसपटकको असिनाको प्रकृति भिन्न अनुभव भएको छ। पोखरेलीको सम्झनामा यति धेरै मात्रामा असिना परेको यो पहिलो घटना थियो। असिनाले करोडौँ मूल्यको अन्न र तरकारी बाली नष्ट गरेको छ।

मनसुन सुरु हुनुअघिको प्रि–मनसुनको समयमा असिना पर्नुलाई सामान्य मानिन्छ। यो अवधिमा जमिन तातेर न्यून चाप बन्छ र हावा माथि उचालिने तथा वायुमण्डलमा पुगेपछि हावा चिसो भएर विशेष प्रकारको बादल बन्ने अनि यही बाक्लो बादलको कारण असिना पर्ने मौसमविद् मान्छन्। तर फागुनको आइतबार पोखरामा परेको असिनालाई असामान्य मानिएको छ।

जाडो सकिन लाग्दा र जमिन ताती नसकेको अवस्थामा यसरी असिना पर्नु भनेको पक्कै पनि अनौठो घटना हो। पछिल्ला संस्मरणमा यसप्रकारको घटना पहिलो भए पनि यसअघिका असिना पर्ने घटनाको पर्याप्त रेकर्ड नभएकाले पोखराको घटनालाई पहिलो मान्न नसकिने मौसमविद्को तर्क छ।

यसो भनिरहँदा पोखराको घटनालाई सहज र स्वाभाविक मान्न सकिन्न। विश्वभर अहिले विषम मौसमी घटनाक्रम बढेका छन्। जंगली आगो, आँधीबेहरी, खडेरी जस्ता मौसमी संकटमा तीव्रता आएको छ। यसले ठूलो जन/धन नष्ट गरेको छ। हिमालपारिको जिल्ला मनाङमा गत जेठ असारमा आएको बाढी पहिरो पनि अनपेक्षित मौसमी घटना मानिएको छ।

यही वर्ष मेलाम्ची क्षेत्रमा आएको भीषण बाढीले मेलम्ची बजारका घर तथा आसपासमा खेत नष्ट गरेको घटना ताजै छ। राजधानीबासीले वर्षौँदेखि प्रतिरक्षा गरिरहेको मेलम्ची खानेपानी परियोजनाको मुखमा बनेका संरचनालाई यो बाढीले असर पार्दा ठूलो नोक्सानी भएको छ। मेलम्चीको पानीले तिर्खा मेट्ने राजधानीबासीको रहर झन पछि धकेलिन पुगेको छ।

प्राकृतिक प्रकोपका यस्ता घटनाले हाम्रो जनजीवन र जीवन यापनमा ठूलो प्रभाव पारेका छन्। विश्वभर देखिएझैँ नेपालमा पनि यसप्रकारका घटना बढदोे क्रममा छन्। पछिल्ला वर्षमा नेपालमा पनि वर्षा तथा असिना पर्ने शैलीमा आधारभूत परिवर्तन आएको छ। पोखरामा आइतबार परेको असिना विषम मौसमको कारण सिर्जित घटना हो।

असिना पर्नु स्वाभाविक मानिएला तर जुन व्यापक स्तरमा यो परेको छ त्यो समीक्षाको विषय बनेको छ। वन तथा वातावरण मन्त्रालयले हालै प्रकाशित गरेको नीति निर्माणका लागि तयार गरिएको जोखिम पहिचान र मूल्याङ्कन तथा अनुकूलनका विकल्पसम्बन्धी एक प्रतिवेदनका अनुसार पछिल्लो ४९ वर्षमा कास्की, तनहुँ, पर्वत, स्याङ्जा, र म्याग्दी जिल्लामा असिनाका घटना बढेका छन्। 

यी जिल्लामा सन् १९७१ देखि २०१९ सम्म जिल्लामा ५६९ वटा असिनाका घटना भएका प्रतिवेदनमा उल्लेख छ। यसरी अनपेक्षितरूपमा हुने विषम घटनालाई जलवायु परिवर्तनसँग जोड्न सकिने तर्क विज्ञको छ। मानवजन्य कारणले तापक्रम बढेको छ र यसले पृथ्वीको परिस्थितिकीय प्रणालीमा रहेको सन्तुलन खल्बलिएको छ। यसरी जलवायु परिवर्तनका कारण देखिएका प्राकृतिक प्रकोप र विषम मौसमका घटनाले यो विषयमा हामीलाई गंभीर बन्न दबाब बढेको छ।

जलवायु परिवर्तनका निम्ति जिम्मेवार मानिने हरितगृह ग्यास उत्सर्जनमा नेपालका न्यून योगदान रहँदारहँदै पनि जलवायुजन्य विपद्का हिसाबले नेपाल उच्च जोखिममा छ। नेपालका हिमताल विष्फोटको संघारमा छन् भने हिमनदी तीव्ररूपमा पग्लन थालेका छन्। यसले हिमालबाट बग्ने नदीमा जल प्रवाह एक्कासि बढ्दा बाढी पहिरोका घट्ना बढेका छन्। यसले नदी किनारमा बसेका मानिसको उठीबास भएको छ। पहाडी क्षेत्रमा मात्र होइन, यसले तल्लो तटमा समेत डुबानको समस्या सिर्जना भएको छ।

पोखराको असिनाले जलवायु परिवर्तनको विषयलाई झन् मुखरित गरेको छ। विषम मौसमका घटनासँग जोडिएको यो विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रखररूपमा उठाउन आवश्यक छ। जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पार्ने प्रभावको मुद्दामा नेपालले नेतृत्व लिन आवश्यक छ। विश्व समुदायले जलवायु परिवर्तनका कारक तत्वलाई न्यूनीकरण गर्न एकातिर आवश्यक छ भने अर्काेतिर जलवायुजन्य विपद्सँग अनुकूलित हुने उपाय तथा संयन्त्रको स्थापना आवश्यक छ। यो विषयमा सानो र ठूलो राष्ट्र भन्ने हुँदैन।

राजनीतिक सीमाको पनि अर्थ रहँदैन। जलवायु परिवर्तन मानव सभ्यता र मानव जातिको भविष्यसँग जोडिएको छ। यो विषयमा सबै गंभीर नभई सुखै छैन। आज अस्वाभाविक असिना पर्दा होस् वा बाढी/पहिरोको प्रकोप सबै विषयमा गम्भीर चिन्तन आवश्यक छ। यस्तो किन भइरहेको छ भनी अनुसन्धान गर्ने र त्यसले देखाएका तथ्य सार्वजनिक गर्ने परिपाटी विकास गर्नुपर्छ। अन्यथा यस्ता घटना बेअर्थमै विस्मृतिमा जान्छन्। बेलैमा ध्यान दिइएन भने यसको महँगो मूल्य चुकउनु पर्ने हुन्छ।

प्रकाशित: ११ फाल्गुन २०७८ ०२:५३ बुधबार

जलवायु संकट