छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन। नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन। जबकि भारतमा बिजुली अभाव छ।
पछिल्लो समय बर्खाको समयमा नेपालमा उत्पादित बिजुली किन्न नेपाल सरकारले गरेका प्रस्तावप्रति भारतको भूमिका ‘आलटाल’मा सीमित छ। भारतलाई आवश्यक भए पनि उसले नेपालको बिजुली सीमित मात्रामा मात्र खरिद गर्दै आएको छ। यसले नेपालको बिजुली खरिदमा भारतले खोजेको के हो भन्ने नेपाली अधिकारीहरूले बुझ्न सकेका छैनन्।
पछिल्लो समय नेपालले निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरण मातहतका १३ आयोजनाको ७ सय ८६ मेगावाट बिजुली किन्न भारतलाई आग्रह गरिरहेको छ। प्राधिकरणले गत जेठदेखि अहिलेसम्म पाँच पटकसम्म यस्तो आग्रह गरेको छ। तर भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृति दिएको छैन। विद्युत् व्यापारमा भारतीय सरकारले यही निकायलाई अधिकार दिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विद्युत् व्यापारका लागि भारतसँग पटक–पटक स्वीकृति मागिएको तर अहिलेसम्म अनुमति नपाएको बताए। ‘प्राधिकरणले अहिलेसम्म ३६४.७ मेगावाट बिजुली मात्र भारत निर्यात गर्ने अनुमति पाएको छ,’ उनले भने, ‘प्राधिकरणले विभिन्न चरणमा विद्युत् व्यापारका लागि अनुमति माग गर्दै आइरहेको छ तर भारत थप बिजुली किन्न राजी भएको छैन। उसले किन यस्तो गरिरहेको छ भन्ने बुझ्न सकिएको छैन।’
नेपालले पछिल्लो समय रणनीतिक महत्वका तीन जलविद्युत् आयोजनाको जिम्मा भारतीय कम्पनीलाई दिएको छ। भारतले भने नेपाली बिजुली खरिद गर्न अनेक बहानाबाजी गर्दै आइरहेको छ।
नेपालले खुला प्रतिस्पर्धाबिनै अरुण ४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनी सतलज जलविद्युत् निगमलाई दिने निर्णय गरेको थियो। यसैगरी ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाट क्षमताको सेती नदी ६ जलविद्युत् आयोजना अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीलाई दिने निर्णय पनि नेपालले गरेको थियो। सरकारले तीनवटै जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिँदा कम्तीमा पनि एक हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सर्त राखेको थियो।
प्राधिकरणले पहिलो लटमा चमेलिया जलविद्युत् आयोजनाको ३० मेगावाट, माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनाको ४५ मेगावाट, माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४५६ मेगावाट बिजुली निर्यातका लागि प्रस्ताव गरेको थियो तर अहिलेसम्म भारतले यी कुनै आयोजनाको बिजुली निर्यातका लागि स्वीकृति दिइसकेको छैन।
प्राधिकरणले गत जेठ २४ गते चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन भएको २२.१ मेगावाट, सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको २३.५ मेगावाट र लिखु खोला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको २४.२ मेगावाट बिजुली निर्यातको प्रस्ताव भारतसँग गरेको थियो। त्यसैगरी प्राधिकरणले साउन ३० गते फेरि मित्री खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४२ मेगावाट बिजुली निर्यातका लागि भारतलाई प्रस्ताव गरेको थियो।
प्राधिकरणले भदौ २९ गते फेरि तल्लो मोदी १ जलविद्युत् आयोजनाबाट उत्पादन भएको १० मेगावाट, लिखु खोला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको २९.०४ मेगावाट, माईखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको २२ मेगावाट, हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको १४.९ मेगावाट र काबेली ‘बी’ १ आयोजनाबाट उत्पादन भएको २५ मेगावाट बिजुली निर्यातका लागि प्रस्ताव राखेको थियो। प्राधिकरणले असोज ७ मा तल्लो हेवा खोलाबाट उत्पादन भएको २२.१ मेगावाट र तल्लो मोदी जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४२.१ मेगावाट बिजुली निर्यातका लागि प्रस्ताव पेस गरेको थियो।
प्राधिकरणका प्रवक्ता भट्टराईले एकदुई दिनभित्रै थप बिजुली भारत निर्यात गर्ने स्वीकृति पाइएला कि भनेर कुरेर बसिरहेको पनि बताए। ‘अहिले थप १११ मेगावाट बिजुली व्यापारको अनुमति पाउने आशा राखेका छौं,’ उनले भने, ‘अब नेपालले धेरै बिजुली उत्पादन गर्ने भनेको अधिकतम एक÷डेढ महिनामा मात्रै हो। त्यसपछि त बिजुली निर्यात गर्नै सक्दैनौं।’
प्रवक्ता भट्टराईले कात्तिकदेखि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सर्टडाउनमा जाने बताए। प्राधिकरणले मुलुकमा खपत भएर बढी भएको बिजुली गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्न थालेको थियो। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो।
प्राधिकरणले त्रिशूली जलविद्युत् आयोजनाको २४ मेगावाट, देवीघाट जलविद्युत् आयोजनाको १५ मेगावाट बिजुली २०७८ कात्तिकदेखि भारत निर्यात गर्न सुरु गरेको थियो। त्यसैगरी प्राधिकरणले दोस्रो चरणमा मस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको ६० मेगावाट, कालीगण्डकी जलविद्युत् आयोजनाबाट उत्पादन भएको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादन भएको ७० मेगावाट र लिखु ४ आयोजनाबाट उत्पादन भएको ५२.४ मेगावाट गरी कुल ३ सय ७४.४ मेगावाट निर्यात गर्दै आइरहेको छ। यसमध्ये करिब १० मेगावाट बिजुली भने ह्रास हुन्छ।
आइएक्समा २४ घन्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी विद्युत् व्यापार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले अहिलेसम्म निर्यात गरेको विद्युत्को औसत दर प्रतियुनिट ७ रूपैयाँ ९१ पैसा छ।
दसैंमा साढे ३१ करोडको बिजुली खेर गयो
नेपाल विद्युत् प्राधिकरणले दसैंको अवधिमा करिब ४० हजार मेगावाट आवर बिजुली खेर गएको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले दसैंको ८/१० दिनको अवधिमा करिब ४० हजार मेगावाट आवर बिजुली खेर गएको बताए। ‘दसैंमा औद्योगिक क्षेत्र बन्द भएकाले केही बिजुली खेर गयो,’ उनले भने । प्राधिकरणले सो अवधिमा ४ करोड युनिट बिजुली खेर गएको जनाएको छ। करसहित सरदर ९ रुपैयाँ ५० पैसामा स्वदेशी ग्राहकलाई बिजुली बेच्ने प्राधिकरणले भारतमा भने सरदर प्रतियुनिट ७ रुपैयाँ ९१ पैसामा बिक्री गर्दै आइरहेको छ। भारतलाई बिक्री गर्ने सरदर ७ रुपैयाँ ९१ पैसाको आधारमा १० दिनमा प्राधिकरणको साढे ३१ करोड रुपैयाँबराबरको बिजुली खेर गएको छ।
प्रकाशित: २७ आश्विन २०७९ ०१:४९ बिहीबार