४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखराका सडक बत्तीः सौर्य बत्तीको बेवास्ता, नयाँ विद्युतीय बत्ती जडानको तयारी

चोक-चोकमा ‘हाइ मास्ट’ लाइट राख्ने योजना

पोखराको लेकसाइटस्थित फेवाकिनारको फुटपाथमा जडान गरिएका सौर्य बत्ती। यी मध्ये अधिकांश बत्ती बल्दैनन्। फाइल तस्बिर

झण्डै नौ वर्षअघि पोखरामा सौर्य सडकबत्ती जडान गरियो। सुरुमा पर्यटकीय क्षेत्र लेकसाइडसहित मुख्य बजार क्षेत्र न्यूरोडमा मात्र जडान गरिएको सौर्य सडक बत्ती निकै नै प्रभावकारी बनेको भन्दै त्यो बेला सहरका धेरैतिर विस्तार गरियो। सौर्य सडक बत्ती जडान गरेको सुरुवाती समय पोखराको मुख्य सहर झकिझकाउ हुन्थ्यो।  

त्यो बेला पोखरा महानगरपालिका र चिनियाँ सहयोगमा त्यो बेला सौर्य सडक बत्ती जडान गरिएको थियो। दाता र महानगरबाहेक टोलटोलले पनि रकम जुटाएर सडकमा सौर्य बत्ती जडान गरेका थिए। पोखरामा सौर्य सडक बत्ती जडान हुँदाताका लोडसेडिङ थियो। लोडसेडिङ हुँदा अध्यारो भएको मौका पारेर अवाञ्चित गतिविधि हुने गरेको गुनासोपछि नगरबासीको सुरक्षाको लागि भन्दै त्यो बेला सौर्य सडक बत्ती जडान गरिएको थियो। २०७० देखि पोखरामा सौर्य सडक बत्ती राख्न थालिएको थियो।  

पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान गर्न यसअघि नै करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ। 

पोखरा महानगरका इञ्जिनियर ध्रुवराज भट्टराईका अनुसार पोखराका सडकमा जडान गरिएका २ हजार सौर्य सडक बत्ती मध्ये करिब १५ सय बत्ती अहिले पनि सही अवस्थाका छन्। बाँकीमध्ये केहीले मात्र पूर्णरुपमा काम गर्देनन्। सामान्य मर्मतसम्भार गरे ती सौर्य सडकबत्ती बल्ने अवस्थामा रहेको भट्टराईले बताए।

भट्टराईका अनुसार लोडसेडिङको समस्या हटेपछि महानगरभित्र नयाँ विद्युतीय बत्ती जडान हुँदैछन्। ‘स्मार्ट लाइट’ योजना अनुसार अब पोखरा महानगरभित्र विद्युत प्राधिकरणको सहकार्यमा सडकमा बत्ती जडान गर्न थालिएको भट्टराईले जानकारी दिए।

महानगर र विद्युत प्राधिकरणको ५०–५० प्रतिशत लगानीमा अब सडकमा बत्ती जडान हुने उनले बताए। ‘पुराना सौर्य सडकबत्ती पनि यथावत रहनेछन्। सामान्य बिग्रेका पुराना सौर्य बत्तीको मर्मतसम्भार हुन्छ,’ उनले भने, ‘पुराना बत्ती पुरै हटाउने होइन, आवश्यक परेमा बीच-बीचमा नयाँ विद्युतीय बत्ती थप्छौ। नत्र हुँदै नभएको ठाउँमा नयाँ बत्ती जडान हुनेछन्।’

उनका अनुसार सडक सौर्य बत्ती जडान गर्दा लोडसेडिङको अवस्था थियो। त्यसैले त्यो बेला निकै नै तदारुकता देखाएर सडकभर सौर्य सडक बत्ती जडान गरिएको थियो। तर ती सबै बत्तीले नियमित रेखदेख पाएनन। अब लोडसेडिङको समस्या नभएकोले सौर्यसडक बत्तीको सटटा विद्युतीय बत्ती नै जडान गर्न थालिएको उनले बताए।

महानगरले बिग्रेका सौर्य बत्ती मर्मत गर्नका लागि नै अहिले ५० लाख रुपैयाँ बजेट छुट्याएको इञ्जिनियर भट्टराईले जानकारी दिए। ‘बिग्रेका सौयै सडकबत्तीको अवस्था पहिचान हुँदैछ। कति संख्यामा बत्ती मर्मत गर्नुपर्ने भन्ने अझै एकीन भइसकेको छैन। तर, अनुमानमा पाँच सय जति बत्ती बल्दैनन,’ उनले भने।  

भट्टराइका अनुसार अब पोखराभित्र १५ सय ४ वटा स्मार्ट बत्ती, बाँकी २३ वटा ‘हाइ मास्ट’ लाइट जडान हुनेछन्। हाइमास्ट लाइटमा चारैतिर उज्यालो हुनेगरी बत्ती जडित हुनेछन्। ती पोखराका मुख्य चोकमा मात्र जडान हुनेछन्। पोखराको जिरो किलोमिटर चोकमा हाइमास्ट लाइट राख्नेगरि केही दिनअघि शिलान्यास गरिएको छ।

 स्मार्ट बत्ती भने भित्रीसहित मुख्य सडकमै पनि जडान हुनेछन्। आवश्यकताका आधारमा स्मार्ट बत्ती जडान हुने उनले बताए। पाँच महिनाभित्र पोखरामा नयाँ स्मार्ट बत्ती जडान भइसक्ने भट्टराईले जानकारी दिए। सडक बत्ती जडान गर्नका लागि मात्र करिब १३ करोड रुपैयाँ लाग्ने उनले बताए। महानगरले नयाँ बत्ती जडान गर्नका लागि सकेसम्म पुरानै पोल प्रयोग गर्ने तयारी पनि गरेको छ।

अपुग हुने करिब चारसय मात्र नयाँ पोल थप हुनेछन्। सडकमा बत्ती जडान गर्ने जिम्मा टप्सन इनर्जि प्रालिले लिएको छ। अब जडान हुने बत्तीको वारेन्टी मात्र पाँचवर्षका हुने तर कम्तिमा १० वर्ष चल्ने अनुमान रहेको भट्टराइले जानकारी दिए।  

टप्सन इनर्जिका प्रबन्ध निर्देशक किरण गौतमका अनुसार स्मार्ट बत्ती ९० र १२० वाटका हुनेछन। फिलिप्स ब्राण्डका बत्ती जडान हुने उनले बताए। हाइमास्ट लाइटमा भने ८ वटा बत्ती हुन्छन्। प्रत्येक बत्ती २ सय वाटका हुन्छन। कुनै एउटा चोकमा जडान गरिएको हाइमास्ट लाइट १६ सय वाटको हुने उनले बताए।  

प्रारम्भिक अध्ययनमा पोखरामा सडक बत्ती जडानका लागि ४ सय नयाँ पोल थपिने छन्। प्रत्येक ३० मिटरको दूरीमा बत्ती राख्नुपर्ने भएपनि सबैठाउँ एकै खालको अभ्यास नहुँदा फरक पर्न सक्ने गौतम बताए। त्यसबाहेक सोलारको पोल पनि यथावत रहनेछन। तर विद्युतका पोलमा भने बत्ती राखिन्छ।

सबै बत्तीमा अटो सिस्टम जडित हुन्छ। बेलुकी अध्यारो भएपछि बल्ने र उज्यालो भएपछि आफै निभ्ने हुन्छन्। हाइमास्टको पोल १६ मिटर र अरु ७ देखि ८ मिटर अग्ला पोल हुने गौतमले जानकारी दिए। जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा कनेक्सन हुने भएकोले नियन्त्रणमा समस्या नहुने उनले बताए। प्राधिकरणले नै नियन्त्रणत्रमा राख्ने गौतमले जानकारी दिए।

‘पोखरामा ठूलो लागतमा सडक सौर्य बत्ती जडान त भयो, तर, नियमित रेखदेख कसैले गरेन। अझैपनि मर्मतसम्भार गर्ने हो भने ती सौर्यबत्ती बाल्न सकिन्छ,’ उनले भने, ‘तर त्यसमा महानगरले नै चाँसो देखाउनुपर्छ।’ पोखरामा जडान गर्ने तयारी भएको सडक बत्तीको अभ्यास चितवनको भरतपुर, ललितपुर, भक्तपुर र टोखामा पनि राखिएको गौतमले बताए। 

प्रकाशित: ११ भाद्र २०७९ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App