१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बन्द उद्योग सञ्चालनका लागि कर नीति परिमार्जन गर्न माग

मोरङ व्यापार संघमा आयोजित छलफल कार्यक्रममा सहभागिहरू। तस्बिरः चुमन बस्नेत /नागरिक

मोरङका उद्योगी व्यवसायीले बन्द भएका जीआइ वायर, बनस्पति घिउलगायतका उद्योग सञ्चालनका लागि करनीति परिमार्जन गर्न माग गरेका छन्। मंगलबार मोरङ व्यपारसंघले आयोजना गरेको छलफलमा सहभागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्षा यस्तो माग गरेका हुन्।  

विराटनगर जुटमिल पुनः सञ्चालनका लागि छलफल र अनुगमन गर्न विराटनगर आएका मन्त्री बडूलाई विराटनगरका उद्योगी व्यवसायीहरूले बजेटमा व्यवस्था गरिएको कर नीतिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ५ वटा ठूला उद्योग बन्द भएको गुनासो गरे। उनीहरुले उद्योग बन्द हुँदा धेरै कामदार तथा कर्मचारीले रोजगारी गुमाएको र उद्योगी व्यवसायीको ठूलो लगानी बन्धक बनेको भन्दै बजेटमा व्यवस्था गरिएको करनीति परिमार्जन गर्न माग गरे।  

उनीहरुले तत्काल बजेटका केहि प्रावधान संसोधन गरेर बन्द भएका उद्योगहरूलाई सञ्चालनको वातावरण तयार पार्न मन्त्रीको ध्यानाकर्षण गराए। उद्योगी जगदशप्रसाद अग्रवालले ४० वर्षदेखि सञ्चालनमा रहेको उद्योग विना कसुर सरकारको कर नीतिका कारण बन्द भएको बताए। उनले उद्योग बन्द हुँदा रोजगारी खोसिएको, उद्योगमा गरिएको अर्बौंको लगानी अलपत्र परेको र बैंकको ऋण तिर्न नसक्ने अवस्था आएको गुनासो गरे ।  

अग्रवालले बजारमा करोडौंको उधारो उठ्न बाँकी रहेको, करोडौंको ऋण तिर्न बाँकी रहेको बताए। उनले भने‘करोडौंको ऋण छ। बजारमा उधारो उठ्न बाँकी छ। उद्योग बन्द भयो। अब, हामी के गरौं  कोसीमा हाम फालौं की सरकारले गोलिले हान्ने?’ उनले समस्या समाधान गर्ने आश्वासन पाएपनि समाधान नभएको तर, उद्योग बन्द भएर ठूलो नोक्सानी बोहोर्नुपरेको गुनासो गरे। जतिसक्दो चाँडो समस्या समाधान गर्न उद्योगमन्त्रीलाई अग्रवालले आग्रह गरे। 

हुलास वायरकी सञ्चालक  युक्ती गोल्छाले समस्या समाधानका लागि सबैतिरबाट आश्वासन पाए पनि काम नभएको गुनासो गरिन्। काम हुन्छ भन्ने आश्वासन पाएको तर, उद्योग बन्द भइसक्दा पनि काम नभएकाले तत्कालै समस्याको समाधान गर्न माग गरिन्।  

मोरङ व्यपार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले तत्काल समस्या समाधान नभए आफूहरू पुनः सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए। उनले समस्याको सामाधान गर्न नसके आफूहरूको आन्दोलनमा सहभागि हुन मन्त्री बडूलाई आग्रह गरे। उनले भने,‘उद्योग सञ्चालनको वातावरण बनाउन नसके मन्त्रीज्यू पनि उद्योगीले गर्ने आन्दोलनमा सहभागि हुन हामी आग्रह गर्दछौं।’  

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जिआइवायर लगायतका उद्योगको समस्या समाधान गर्न, विराटनगरमा औद्योगिक प्रदर्शनीस्थलको निर्माणका लागि बजेट उपलब्ध गराउन, विराटनगरको बुधनगरसम्म मालबाहक रेल सञ्चालनमा ल्याउन  मन्त्री बडूको ध्यानाकर्षण गराए।  

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगका समस्या समाधान गर्ने  उद्योगीहरूलाई आश्वासन दिएका छन्। बडूले जिआइवायर लगायतका उद्योगमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान गर्ने आश्वासन दिएका हुन्। उनले प्रधानमन्त्री र अर्थमन्त्रालयलाई गम्भीर ध्यानकर्षण गराईसकेकाले समस्या चाँडै समाधान हुने दाबी गरे। मुलुककै जेठो विराटनगर जुटमिल सञ्चालनका लागि  विराटनगर आएको बताए।  

मन्त्रीबडुले विराटनगर जुटमिल, गोरखकाली रवर उद्योग, जनकपुर चुरोट कारखानलगायतका रुग्ण उद्योग सञ्चालन गर्ने सरकारको योजना अनुसार विराटनगर जुटमिलबाट अध्ययन सुरू गरेको जानकारी दिए। उनले उद्योग सञ्चालनको मोडालिटी तयार पार्ने काम पनि सरकारले गरिरहेको बताए। नीजि क्षेत्रलाई आबश्यक जग्गा लिजमा उपलब्ध गराएर नयाँ उद्योग स्थापना गर्न र मुलुकको  औद्योगिकरणका लागि नीजि क्षेत्रलाई पनि सहजीकरण गर्ने बडूले स्पष्ट पारे।  

 

  

 

प्रकाशित: ११ श्रावण २०७९ ०४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App