१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

माटोमा अम्लियपन धेरै हुँदा सुन्तला उत्पादन घट्दो

गोरखाको सुन्तला पकेट क्षेत्रको माटो जाँच गर्दै प्राविधिक।

वर्षेनी गोरखामा सुन्तला उत्पादन घट्दो क्रममा छ। उत्पादन घटेपछि कतिपय किसानले बगैँचा मासेर अन्य खेती गर्न थालेका छन्। मनकामना, देउराली, ताक्लुङ, तिनमाने, नारेश्वर लगायत ठाउँ सुन्तलाको लागि प्रख्यात मानिन्छ। हरेक वर्ष फल सानो लाग्ने, उत्पादन कम हुने, बोट मर्दै जाने भएपछि सुन्तला किसान चिन्तित र निराश छन्।

सुन्तला उत्पादन घट्नुको कारण पहिचान गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माटो जाँच गरेको छ। सुन्तला धेरै हुने क्षेत्रको माटो जाँच गर्दा अम्लियपनको मात्रा बढी देखिएको परीक्षण प्रयोशालाबाट आएका प्राविधिक सहायक खुबराज बरालले बताए। गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीद लखन, सिरानचोक लगायत विभिन्न ठाउँका किसानबाट संकलित माटो जाँच गर्ने क्रममा अम्लियपन धेरै भेटिएको हो।

‘एक सय ५० जनाले ल्याउनुभएको माटो जाँच गर्‍यौँ’ प्राविधिक सहायक खुबराज बरालले भने ‘यहाँ अधिकांश माटोमा अम्लियपन देखियो, माटो बिरामी छ।’ माटोमा अम्लियपन धेरै हुँदा उत्पादन बढाउन राखिएको मत बिरुवाले लिन सक्दैन। मल माटोमा मात्र रहने तर त्यसको प्रभाव बिरुवामा नपर्ने प्राविधिकहरु बताउँछन्।

‘यहाँको माटोमा फस्फोरसको मात्रा काम पाइयो’ प्राविधिक शहायक बरालले भने ‘सबै किसानलाई माटो कस्तो रहेछ भन्ने रिपोर्ट दिएका छौँ, कसरी उपचार गर्न सकिन्छ भन्ने पनि सुझाएका छौँ।’ माटोमा पोटास, फस्फोरस, नाईट्रोजन, प्रोटिनको मात्रा के कस्तो रहेछ भनेर जाँच गरिएको हो। परीक्षणमा पोखराबाट आएका ६ जनाको टोली सहभागी थियो। माटो परीक्षण गर्ने मोबाइल गाडी ल्याएर किसानबाट स्याम्पल जम्मा गरी सदरमुकाममै जाँच गरिएको हो।

प्रकाशित: १० असार २०७९ ०७:४१ शुक्रबार

गोरखामा सुन्तला उत्पादन परीक्षण प्रयोशाला