३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९/८०को बजेट जनअपेक्षा अनुसार आएको बताउँदै प्रभावकारी कार्यान्वनयमा सरकारवालाले जोड दिएका छन्। नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थमन्त्रालयको सहकार्यमा आयोजित बृहत् अन्तरक्रियाका सहभागीले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताएका छन्। ‘बजेट निर्माण पूर्व हरेक सरोकारवाला पक्षहरूसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाहरूकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसहरूका आधारमा बजेट निर्माण गरिएको हो’– उनले भने। 

बजेटको सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे। शर्माले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षहरूलाई समेत आग्रह गरे।

कार्यक्रममा नेपाल आर्थिक संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुर्‍यालले बजेट समग्रतामा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताए। ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ,’ उनले भने– ‘तर विश्व बैंकका प्रतिवेदनहरू अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउन नपर्ने पाएको छु।’

अर्थविद डा पोषराज पाण्डेले बजेटले पोलिसी डिरेक्सन र आशा मात्रै जगाउने खालको देखिएको भए तापनि सकारात्मक सोच र सफा नियतका साथ आएको बताए।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भइ सकारात्मक सोचका साथ बजेट आएको बताए।

तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको र कतिपय कर छुटका व्यवस्थाहरूले निर्यात प्रबद्र्धन भन्दा पनि आयातलाई प्रश्रय दिने हो कि भन्ने शंका उत्पन्न गराएको गोल्यानले बताए।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि विगत ४–५ वर्षका बजेटहरूको शृङ्खला अध्ययन गर्दै तथ्याङ्कीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताए। ‘बजेट राजनैतिक–आर्थिक दस्तावेज पनि भएकोले केही महत्वकांक्षी छ’– उनले भने।

अर्थ मन्त्रालयका सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले सबै क्षेत्रको अपेक्षा र आवश्यकताहरू समेट्दै सबैलाई अपनत्व महसुस हुने गरी बजेट आएको दाबी गरे।

प्रकाशित: २० जेष्ठ २०७९ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App