२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जलाशययुक्त आयोजनामा लगानी गर्न बेलायतलाई अनुरोध

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको ऊर्जा सुरक्षाको लागि बेलायत सरकारलाई नेपालको जलाशययुक्त आयोजनामा लगानीमा गर्न आग्रह गरेकी छन्।

मन्त्री भुसालले सोमबार नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग शिष्टाचार भेटघाट गर्दै सरकारले जलाशययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेकाले लगानीको वातावरण तयार पार्न अनुरोध गरिन्।

उनले बेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई त्यस्ता आयोजनामा लगानी गर्न पनि आग्रह गरेकी छन्। मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन्।

उनले कोभिड–१९ बाट सुरक्षित रहन बेलायत सरकारले नेपालाई पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। 'जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ। यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु’–उनले भनिन्।

राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताइन्। उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागेको जानकारी गराउँदै मन्त्री लर्डसँगको भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताइन्।  

प्रकाशित: २७ वैशाख २०७९ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App