काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको क्यान इन्फोटेक २०२२ सकिएको छ। इन्फोटेक वैशाख ७ देखि १२ गतेसम्म चलेको हो।
सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जन सम्बन्धी यो प्रदर्शनी कोभिडका कारण २ वर्षसम्म भएको थिएन। सामान्यतः पुस, माघ र फागुनमा आयोजना हुँदै आएको प्रदर्शनी यस पटक पटक वैशाख महिनामा गरिएको थियो।
इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरूले छुट तथा अफरलाई आगामी १–२ महिनासम्म कायम राख्ने जानकारी दिएका छन्।
२ वर्ष अगाडिको इन्फोटेकमा करिब साढे ३ लाख जनाले अवलोकन गरेको इन्फोटेकको यो संस्करणमा करिब सवा २ लाखजना सहभागी भएको जानकारी आयोजकले दिएका छन्। क्यानका अनुसार प्रदर्शनी भएका ६ दिनमा विद्यार्थी, कलाकार, सरकारी पदाधिकारी र सर्वसाधारणको सहभागिता रहेको थियो।
क्यान इन्फोटेका विभिन्न खण्डमा १ सय ७० वटा स्टलका रहेका थिए। इन्फोटेकको स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ वटा स्टलमा सबै दिन अवलोकनकर्ताको आकर्षण देखिएको थियो। इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सम्बन्धित व्यक्ति वा संस्था सहभागी थिए।
प्रदर्शनीमा उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिङ्क कम्युनिकेसन तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बिआइसी टेक्नोलोजीले जितेका छन्। उत्कृष्ट स्टलको पुरस्कार पचास हजार र उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने महासंघको योजना छ।
प्रकाशित: १४ वैशाख २०७९ ०१:४१ बुधबार