५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बक्यौता नतिर्ने वायुसेवालाई कारवाही गरिँदै

नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क बापतको बक्यौता नतिर्ने वायुसेवा कम्पनीको बैंक खाता, पासपोर्ट र उडान अनुमति खारेज गर्ने तयारी रहेको छ।

गत फागुन अन्तिम साता बक्यौता तिर्न आदेश दिएको प्राधिकरणले ताकेता गर्दा पनि ९ करोड १६ लाख रूपैयाँ बक्यौता तिर्न आनाकानी गर्ने कम्पनीलाई कालोसूचीमा राखेर अनुमति नै खारेज गर्ने चेतावनी दिएको छ।

हाल सञ्चालनमा नरहेका सातवटा वायुसेवा कम्पनी सञ्चालकको बैंक खाता रोक्का र पासपोर्ट सिज गर्ने र हवाई कम्पनीको उडान अनुमति रद्द गर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ। वर्षौंदेखि पटकपटक सूचना जारी गर्दा पनि कम्पनीका प्रतिनिधि सम्पर्कमा नआएकाले आगामी प्रक्रियामा जानुपरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पछिल्लो पटक सार्वजनिक गरिएको सूचनाको आधारमा कर्णाली, सांग्रिला, नेपाल एयरवेज, अल्पाइन लगायतले बक्यौता बुझाइसकेका छन्। कर्णालीले मात्रै १७ लाख र अर्को एक कम्पनीले १५ लाख रूपैयाँ बक्यौता बुझाइसकेको उनले जानकारी दिए ।‘पटकपटक सूचना निकाल्दा समेत नआएपछि प्राधिकरणले पुनः अर्काे सूचना जारी गर्दै एक हप्ते अल्टिमेटम दिएको छ,’ अधिाकरीले भने, ‘पछिल्लो साता एक वायुसेवा कम्पनीले बक्यौता तिरेको छ। अन्य कम्पनी सञ्चालकलाई सम्पर्कमा आउन अझै एक हप्ताको समय दिएका छौं। सम्पर्कमा नआए बैंक, खाता, पासपोर्ट सिज गर्न बाध्य हुनेछौं। 

’बक्यौता नतिर्ने कम्पनीहरू हाल सञ्चालनमा नरहेका र २०औं वर्ष पुराना कम्पनी रहेको अधिकारीले बताए। बक्यौता तिर्न आनाकानी गरिरहेका कम्पनीमध्ये दुई–तीन वायुसेवाका प्रतिनिधि सम्पर्कमा आइसकेको उनको भनाइ छ। कतिपय वायुसेवा कम्पनी नामै नसुनेका समेत छन्। प्राधिकरणका अनुसार बक्यौता नतिर्ने वायुसेवा कम्पनीहरूमा नेकोन एयर, शिवानी, गोरखा, माउन्टेन, कस्मिक, स्काइ लाइन एयरवेज, एयर काष्ठमाण्डप छन्।

नेकोनको ४ करोड ७२ लाख रूपैयाँ बक्यौता छ। शिवानी एयरकोे ५५ लाख ५१ हजार रूपैयाँ छ। गोरखाको २० लाख ३५ हजार र माउन्टेन एयरको ६ लाख १० हजार रूपैयाँ बक्यौता छ।

त्यसैगरी कस्मिक एयरको ३ करोड ४७ लाख, स्काइलाइनको ७ लाख ८० हजार रूपैयाँ बक्यौता रहेको प्राधिकरणको भनाइ छ। काष्ठमण्डप एयरले ७ लाख ३८ हजार रूपैयाँ बक्यौता राखेको छ। पाँचवटा कम्पनीले भने पहिले नै बक्यौता रकम बुझाइसकेको प्राधिकरणले जनायो। बक्यौता नतिरेका ११ वटा वायुसेवा कम्पनी बन्द अवस्थाका छन्।

प्राधिकरणका अनुसार नेकोन एयरका अध्यक्ष तथा प्रवन्ध सञ्चालकमा दीपमणि राजभण्डारी, उपाध्यक्षमा मुकुन्दभक्त श्रेष्ठ, सञ्चालकमा दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ छन्। त्यस्तै शिवानी एयरको सञ्चालकमा मणिन्द्रलाल रंजितकार छन्। गोरखा एयरमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ सञ्चालक छन्। माउन्टेन एयरको सञ्चालकमा सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत छन्।

त्यस्तै, स्काइ लाइन एयरवेजको कार्यकारी अध्यक्षमा आङ छिरिङ शेर्पा, उपाध्यक्षमा मिङमा दोर्जे शेर्पा, सञ्चालकमा पेम्बा छिरिङ शेर्पा, प्रबन्ध सञ्चालकमा तेन्जिङ नोर्बु शेर्पा, यादव खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग र उत्तमकृष्ण खरेल छन्। एयर काष्ठमण्डपको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अली जाबोर छन्। बक्यौता नतिर्ने वायुसेवा सञ्चालकलाई सम्पर्कमा आउन प्राधिकरणले एक साता समय दिएको छ।

प्रकाशित: ७ चैत्र २०७८ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App