१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थ मन्त्रीद्वारा शेयर बजारका समस्या समाधान गर्न निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन्। बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन्।

पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए। उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी गरे।

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए। उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए। अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समय सापेक्ष नभएको बताएका छन् । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए। कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिए।

त्यस्तै अर्थमन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए। उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए।

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिएका छन्। अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए।

प्रकाशित: १८ फाल्गुन २०७८ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App