४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह

महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री देउवासँग शनिबार भेट गरेको टोलीले यसका लागि बजेट विनियोजन गर्न पनि आग्रह गरेको छ। यसका साथै टोलीले ६ प्रदेशमै हरित महिला उद्यमशील औद्योगिक पार्क घोषणा गर्न पनि अनुरोध गरेको छ। त्यस अवसरमा नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको थियो।

सरकारले यसअघि नै सबै जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरिसकेको छ। यस्तै सरकारले महिला उद्यमीलाई उद्योगतर्फ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्ने भने पनि अहिलेसम्म घोषणा गरेको छैन।

टोलीमा दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली, महिला उद्यमी विकास समितिकी सभापति रीता सिम्हा, महिला उद्यमी मञ्चकी संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति शारदा रिजाल सहभागी थिए।

प्रकाशित: १ फाल्गुन २०७८ ०१:४८ आइतबार

महिला आवद्ध विभिन्न संघ–संस्था प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क महिला उद्यमी विशेष औद्योगिक ग्राम