१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आयल निगमको नमूना पेट्रोल पम्प

नेपाल आयल निगम लिमिटेडले आफ्नै लगानीमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका आदर्शनगरमा नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ।

तीन करोड ६७ लाख रूपैयाँको लगानीमा पम्प निर्माण गरिएको हो। पम्पको बुधबार निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे। यो पम्प निगमको नेपालगन्ज डिपो मातहत सञ्चालन हुन्छ।

निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले मोडलको रूपमा नयाँ पम्प सञ्चालनमा ल्याएको हो। यो पम्प पूर्ण स्वचालित छ। निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो। निगमले भैरहवामा पम्प सञ्चालन गर्दै आएको छ।

व्यवसायीले अनुशरण गर्न सकून् भनेर नमूना पम्प निर्माण गरेको निगका प्रबन्ध निर्देशक पौडेलले बताए। ‘निगमले मोडलको रूपमा निर्माण गरेको छ,’ पौडेलले भने, ‘नयाँ बन्ने पम्प पनि यस्तै पूर्ण अटोमेसनका हुन् भन्ने निगमको चाहना छ।’ पम्पमा अत्याधुनिक प्रविधि जडान गरिएको छ।

पम्पमा एक लाख सात हजार लिटर तेल अटाउने पाँचवटा भूमिगत ट्यांकी रहेको निगमको नेपालगन्ज डिपोका प्रमुख दीपक घिमिरेले बताए। पम्पमा २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटर क्षमताका दुईवटा पेट्रोल ट्यांक छन्।

पम्पमा इटालियन अटो ट्यांक गेजिङ प्रविधि जडान गरिएको छ। इन्धन ढुवानी गर्ने ट्यांकरबाट पम्पमा तेल अनलोड गर्दादेखि सवारी साधनमा तेल भर्नसम्म सबै डिजिटल प्रविधि जडान गरिएको छ। पूर्ण स्वचालित भएकाले उपभोक्ता सही परिमाण र गुणस्तरीय तेल पाउनेछन्।

पम्पमा कति तेल अनलोड भयो, कति ट्यांकीमा छ, कति बिक्री भयो भन्ने सबै कम्युटर प्रणालीमार्फत जानकारी लिन सकिन्छ। निगमको डिपो, केन्द्रीय कार्यालयमा बसेर पनि बिक्रीको अवस्था हेर्न सकिने प्रविधि जडान गरिएको डिपो प्रमुख घिमिरेले बताए।

पम्पबाट दैनिक १२ हजार लिटर डिजेल र चार हजार लिटर पेट्रोल बिक्री हुने अनुमान गरिएको छ। ११ कट्ठा क्षेत्रफलमा फैलिएको पम्पमा पाँचवटा डिस्पेन्सर र १० वटा नोजल छन्। ६ वटाबाट डिजेल र चारवटाबाट पेट्रोल भर्न सकिनेछ।

निजी क्षेत्रले सञ्चालन गरेका पम्पहरू व्यवस्थित नभएको गुनासो आउने गरेको छ। अहिले पनि धेरै पम्पहरू म्यानुअल छन्। म्यानुअल पम्पमा सही परिमाणमा तेल नपाएको उपभोक्ताले गुनासो गर्दै आएका छन्।

निगमले पम्पको अवस्था सुधार गर्न पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली ल्याएको थियो। त्यसमा पम्प सञ्चालनको मापदण्ड तोकिएको छ। तोकिएको मापदण्ड पूरा गरेर पम्प सञ्चालनमा ल्याएको निगमले जनाएको छ।

प्रकाशित: २२ पुस २०७८ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App