ठेकेदार कम्पनीको लापरबाहीले कोशी राजमार्ग अन्तर्गत सुनसरी–मोरङको बुढी खोला नदीमा पुल निर्माणमा ढिलाई भएको छ। विराटनगर जोड्ने पुल निर्माणका लागि म्याद टुंगिएर कोरोनाको बहानामा सरकारी निकायले म्याद थप गरेपनि अझैसम्म टुंगिएको छैन।
कोशी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडक अन्तर्गत नै अहिले भएको पुल विस्तार गर्न दायाबाया पुल निर्माण गर्नुपर्ने सपना÷देव एण्ड सायर÷भूमि जेवीलाई छ लेन सडक विस्तार आयोजनाले ठेक्का दिएको हो। सम्झौता अनुसार अहिले भएको पुलको दायाबाया ‘डब्ल लेन’ का दुईवटा पुल निर्माण गर्नु पर्नेछ। तर, अहिलेसम्म कामको प्रगति हेर्दा अहिलेको पुलको पश्चिमतर्फ फागुनभित्र पूरा भएपनि पूर्वतर्फको पूरा नहुने छ लेन सडक विस्तार आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए।
‘थुप्रै पटक ठेकेदार कम्पनीलाई ताकेता गर्दा एक महिनादेखि भने कामले केही गति लिएको छ,’ दासले भने, ‘अहिले भएको पुलको पश्चिमतर्फ फागुनसम्म पूरा होला, पूर्वतर्फको भने समय लाग्ला।’ उनका अनुसार कोरोनाको बहानामा अघिल्लो वर्ष २०७७ भदौसम्म म्याद रहेकोको पुलको म्याद अब चैत मसान्तसम्म थपिएको छ। ताकेता गरेकै कारण पछिल्लो समय पुल निर्माणले गति लिएको हो।
‘अब ठेकेदार कम्पनीले चैत मसान्तसम्म काम नसके र सरकारले फेरि म्याद थप्ने निर्णय नगरेमा कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘पुल निर्माणमा ढिलाई ठेकेदारको लापरबाही नै मुख्य कारक हो।’
बर्खाको बेला केही वर्षदेखि सुनसरीको दुहवी क्षेत्रतर्फ बढी नै जोखिमा परेको थियो। बर्खा अघि नै पुल नसक्दा पुलकै कारण समस्या निम्तिने इन्जिनियर दासको जनाए। अझ बुढी खोलाको दक्षिणतर्फ दुहवी नगरपालिका वडा नं. १ मा खोला तथा आसपासका क्षेत्रमा बालुवा र भरोट मनोमानी ढंगले उत्खनन गर्नाले थप खतरा छ। नदी आसपासका क्षेत्रमा निजी जग्गा हुनेले एक्साभेटर नै प्रयोग गरेर बालुवा र भरोट निकालेर बिक्री गर्ने गरेको र पुल नबन्दा खतरा हुनेछ।
भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार हुने क्रममा अब इटहरीको तरहरादेखि धरानसम्म निर्माणाधीन अवस्थामा छ। इटहरी बजार क्षेत्रमा पनि निर्माण पूरा हुन बाँकी छ। दुहवीको बजार क्षेत्रमा सडक विस्तार नगर्ने टुंगो लागेको छ। बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले गर्दा विस्तार नहुने भएको हो।
दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रको रुपमा कायम गर्न निर्णय गरेको थियो। त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकासित सूचना अुनसार, दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि बायाँबायाँ दुवै तर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो। त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ।
धरानको बजार क्षेत्र सडक विस्तारमा अन्योल भएको छ। धरान बजार क्षेत्रमा सडक विस्तार गर्दा एक हजार १०० जति घर पर्छन्। धरान बजार क्षेत्रमा सडक विस्तार गर्दा घर भत्काएको सडक विभाग क्षतिपूर्ति दिन तयार भएको छ। तर, मुआब्जा भने दिन नसक्ने जनाएको छ।
२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो। पछिल्लो समय थप गरिएको छ। पूरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो।
प्रकाशित: ८ पुस २०७८ १३:५६ बिहीबार