६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टालटुले सडकले कर्णालीकाे पर्यटन गन्तव्य संकटमा

सडक विभागका निमित्त उमेश विन्दु श्रेष्ठलाई कर्णालीको माग सुनाउँदै पञ्चेबाजा टोली: धनबहादुर/नागरिक

कर्णाली भन्ने वित्तिकै जो सुकैले लिने पहिलो पर्यटन गन्तव्यको नाम हो ‘राराताल’। रारातालको अवलोकन गर्न धेरैले इच्छा जाहेर गर्छन्। रारा हेर्न बर्षेनी पर्यटक आउँछन्। तर सबै पर्यटकको एउटै गुनासो हुन्छ,‘राराताल सम्म पुग्ने सडक भएन। हिउँदमा धुलोले हैरानी,बर्षायाममा हिलोले सास्ती। यो राज्यले दृष्टि नपुगेको क्षेत्र हो। ’

सुर्खेत जुम्ला हुँदै राराताल सम्म जोड्ने सडक त जोडियो तर सहज यात्रा कहिले हुन सकेन। निश्चित प्याकेज बनाएर आइपुगेका पर्यटक हप्तौ सम्म थन्किन थाले। सडकमा पहिरो खसेको खस्यै गर्न थाल्यो। हिलो र धुलोले दुख दिन थाल्यो। रारा देख्दा मोहित हुने पर्यटक सडक हेर्दा निराश बनेर फर्किन थाले। हिलो र धुलोको मात्र सास्ती भोग्नु परेन जोखिमको पनि उत्तिकै सामना गरिरहनु परिरहेको छ।  

यो वर्षको अघिल्लो दिनमा मुगुमा बस दुर्घटना भयो। ३१ जनाले ज्यान गुमाए। ज्यान गुमाउने सबै युवा पुस्ताका थिए। एक साताअघि मात्रै बस दुर्घटनामा परेर दई जनाले ज्यान गुमाए। यो सडक पछिल्लो समयमा ज्यानमारा सडकका रुपमा स्थापित हुदैछ। स्थानीय खड्कबहादुर बुढाले भने,‘सरकार दुर्गम केन्द्रीत विकास दिएका आदर्श छाड्छ। दुर्गममा आएको विकास प्रभावकारी हुदैन। यो कर्णाली जस्ता विकट क्षेत्रको दुर्भाग्य हो।’

नाग्म गमगडी सडक स्तरउन्नतीको मात्र तीव्ररुपमा उठिरहेको छ। सडक डिभिजन कार्यालयमा गुनासाका चाङ छन्। राज्य बेखबर बनेको छ। अहिले पनि ठेकेदारले समयमा काम नगरेर नाग्म गमगडि राजमार्गको १३ किलोमिटर सडक अझै ग्राभेल हुन सकेको छैन। यो खण्ड नै सबैभन्दा जोखिम क्षेत्र हो।

राज्य संग हरेक विधि अपनाएर विकासको माग गर्दा पनि नसुनेपछि यो हप्ता जुम्लबाट प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महत पञ्चेबाजा सहित राज्यको काम ठटयाउन राजधानी पुगेका छन्। उनी उज्यालो चाहियो भन्दै विद्युत प्राधिकरणमा र सडक स्तरउन्नती हुनु पर्ने माग राख्दै सडक विभाग सम्म पुगेका छन्। राज्यले बोलेर सहजै सुनेन्,सांसद महतले भने,‘बाजा बजाएर दुखेसा सुनाउन आइपुेका छौँ।’ नेपाल विद्युत प्राधिकरण र सडक विभागमा २/२ घण्टा बाजा बजाएर राज्यको ध्यान कर्णालीमा केन्द्रीत गर्न थालिएको हो।  

कर्णाली राजमार्ग मृत्यु मार्गको रुपमा परिचित छ। नाग्म गमगडी सडक पनि मृत्यु मार्गकै लयमा छ। सांसद महतले भने,‘तत्काल कर्णालीको घरघरमा बिजुली पुगेको होस। कर्णालीका पर्यटन गन्तब्यमा फराकिलो, कालोपत्रे गरेको सडक पुगेको होस। यही सम्झाउन पञ्चेबाजा सहित काठमाडौमा आइपुगेका हौँ।’

लस्करै पञ्चेबाजाको टोली संगै हातहातमा प्लेकाडए र ब्यानार बोकेको जथ्था पुग्दा काठमाडौँबासी चकित देखिन्थे। यो आन्दोलनको निकै भिन्न रुप थियो। फरक प्रकृतिको आन्दोलनले सुरक्षामा खटिएका प्रहरीको ध्यान पनि तान्यो। उनीहरु पनि फोटो र भिडियो खिचिरहेका देखिन्थ्ये।’ कर्णाली प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतबाट दैलेख कालिकोट, जुम्लाबाट सहायक राजमार्ग नाग्म गमगडी हुदै राराताल जोडिएको छ।

गुणस्तरीय सडक नहुँदा यात्रु र चालकले निकै सास्ती बेहोर्छन्। ठाउँठाउँमा सडक हिलाम्य छ। केही स्थानमा सडक नै भाँसिदा निकै साँघुरो बनिसकेको छ। यो सडक स्तरउन्नतीको लागि स्थानीय सरकारको हैसियत पुग्दैन। प्रदेश सरकार अधिकार क्षेत्रमा नपर्ने भन्दै पन्छिदै आएको छ। केन्द्र सरकार रमिते बनेको छ। वर्षेनी सडक मर्मतको लागि बजेट आउँछ। टालटुलमै सकिने गरेको छ। सडकको मापदण्ड हेर्ने राम्रो प्राविधिक छैन।

सांसद महतले भने,‘कर्णाली राजमार्ग कालोपत्रे गरिएको भएपनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको छ।  पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ। गाडी चलाउन निकै सास्ती हुने गरेको चालकहरु बताउँछन्। ’साँघुरो सडक स्तरबृद्धिका लागि पञ्चेबाजा बजाएर दबाव सिर्जना गरिएको उनी बताउँछन्।  राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। ‘दुर्घटनाको जोखिम उच्च छ। राजमार्ग भनेर नामाकरण गरिएको छ। सडकको अवस्था बेहाल छ। एक दिनमा पुगिने ठाउँमा वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।

पञ्चेबाजा संगै कर्णालीबासीले आफ्ना माग राखेका हुन्। सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथाशिघ्र कामअघि बढाउन माग गरिएको छ। सुर्खेत जुम्ला सड्क स्तरबृद्धि, सुर्खेत महावु र कालिकोट सड्क समेत खोलिनुपर्नेमा जोड दिइएको छ। सडक र विधुत क्षेत्रको विकासको लागि काठमाडौँमा पञ्चेबाजाको नगरा सुनाएर सुतेको अभिनय गरेको राज्यलाई ब्युताउँने प्रयास भइरहेको सांसद महतले बताए। 

सांसद महत संगै जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही,नेकपा माआवादी केन्द्रका नेता पुर्णप्रसाद धिताल पनि पञ्चेबाजा सहितको आन्दोलनमा सहभागि छन्। नाग्म गमगडी सडकको १३ किलोमिटर सडक ग्राभेल गर्न नसक्ने ठेकेदार बहादुर सिंहलाई कार्वाहीको माग समेत राखेका छन्। उनीहरुले अहिलेसम्म खर्च भएको बजेटको हिसावकिताव गरेर कर्णालीबासीलाई सुनाउन र स्तर उन्नती कार्य तत्काल अघि बढाउनको लागि ध्यानाकर्षण गराएको स्थानीय सुर्य डाँगीले बताए।  

सांसद महतले तयार पारेको मागपत्र बुझदै सडक विभागका निमित्त महानिर्देशक उमेश बिन्दु श्रेष्ठले सडक कालोपत्रेको लागि टेन्डर भइसकेको बताए। सडकस्तरबृिद्धका लागी अधुरा बनेका काम तत्काल सम्पन्न हुन्छन्। उनले भने,‘सडक विभाग यसमा प्रतिबद्ध छ।’ कर्णालीको जीवन रेखाको रुपमा लिईएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ। स्तरबृद्धि नहुदा कयौ स्थानमा दोहोरो साइट दिन समस्या परिरहेको छ।

कर्णाली पर्यटनको महत्वपुर्ण गन्तब्य हो। यहाँ प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थल छन्। तर प्रभावकारी बाटो नहुँदा पर्यटन तान्न सकिएको अवस्था छैन। कर्णालीमा बिजुली र सडक स्तरउन्नती कार्य मात्र गर्न सकेको खण्डमा पर्यटन क्षेत्रको आकर्षक गन्तब्यका रुपमा कर्णाली कहलिनेछ।

प्रकाशित: २३ मंसिर २०७८ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App