८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

सुक्खा बन्दरगाह संचालनकर्ता कम्पनीको निजी मालवाहक रेल सुरु

वीरगन्ज सुक्खा बन्दरगाह संचालनकर्ता कम्पनीले निजी मालवाहक रेल संचालनमा ल्याएको छ। भारतीय बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय समुद्री व्यापार मार्गसँग रेलमार्फत् जोड्ने नेपालको एकमात्र संरचना हो, सिर्सियास्थित सुक्खा बन्दरगाह।

भारतको पश्चिमबंगालस्थित कोलकता र आन्ध्रप्रदेशको विशाखापटनम बन्दरगाहबाट कन्टेनर कार्गो बोकेर प्रीस्टाइन मेगा लजेष्टिक्स पार्क लिमिटेडले बेग्लाबेग्लै मालवाहक रेल सुक्खा बन्दरगाहसम्म ल्याएको हो।

विशाखापटनम बन्दरगाहबाट कन्टेनर बोकेर शनिबार सुक्खा बन्दरगाहमा आइपुगेको रेल आइतबार खाली कन्टेनर बोकी फिर्ता भएको छ। यसअघि गत १८ गते कोलकतास्थित श्यामप्रसाद मुखर्जी पोर्टबाट आइपुगेको मालवाहक रेल अर्को दिन फर्केको थियो।  

निजी कन्टेनरवाहक रेल संचालनमा ल्याउने ‘प्रीस्टाइन’ सुक्खा बन्दरगाह संचालन गर्ने ‘प्रीस्टाइन भ्याली ड्राइपोर्ट प्रालि’को प्रमुख साझेदार हो। गत जुलाई २०२१ मा नेपाल भारतबीचको रेल सेवा सम्झौतामा संशोधन भएपछि निजी रेल कम्पनीको लागि ढुवानीको लागि आधार तय भएको थियो।

सम्झौता संसोधन भएपछि नेपाल वा भारतीय निजी रेल सेवाप्रदायक र नेपाल रेल्वे कम्पनीले नेपालमा रेलमार्फत ढुवानी गर्ने बाटो खुलेको थियो। सँगसँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार पनि हटेको थियो।

प्रिस्टिन भ्यालीका संचालन प्रमुख अतुल शर्माका अनुसार यसको संचालनले नेपाली कार्गोको ढुवानी लागत घटेने भएको बताए। निजी रेल ढुवानी सेवाप्रदायकहरुले सेवा दिन थालेपछि यसबाट नेपाललाई प्रतिस्पर्धात्मक लाभ प्राप्त हुने नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश २ का अध्यक्ष गणेश लाठ बताउँछन्।

गत भदौ २८ मा वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा भारतीय निजी रेल सेवा प्रदायक कम्पनी हिन्द टर्मिनलको मालवाहक रेल पहिलो पटक हल्दिया बन्दरगाहबाट ९० वटा कन्टेनर लिएर सुख्खा बन्दरगाह आएको थियो। लगतै ‘प्रीस्टाइन भ्याली ड्राइपोर्ट प्रालि’ले प्रीस्टिनको आफ्नै मालवाहक रेल संचालनमा आउने घोषणा गरेको थियो। उक्त घोषणा अनुसार सुक्खा बन्दरगाह संचालनकर्ता कम्पनीले निजी मालवाहक रेल संचालनमा ल्याएको हो।

शर्माका अनुसार प्रीस्टिनको आफ्नो मालवाहक रेल हप्तामा दुईपटक आउने अहिले प्रबन्ध मिलाइएको छ। निजी क्षेत्रले रेल संचालन गर्न थालेपछि सरोकारवालाहरुले अपेक्षा गरे अनुसार भारतीय बन्दरगाहदेखि वीरगन्ज सुक्खा बन्दरगाहसम्मको कन्टेनर ढुवानी भाडा औसत ३० प्रतिशत सस्तिएको छ।

प्रकाशित: १९ मंसिर २०७८ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App