१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

कतारद्वारा ५० भेन्टिलेटर सहयोग

कतार सरकारले नेपाललाई ५० भेन्टिलेटर सहयोग गरेको छ। कतारका आमिर शेख तामिम बिन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न ती स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको आदेश बमोजिम नेपाललाई सहयोग गरिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

‘कतार फन्ड फर डेभलपमेन्ट’ले ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ। भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपालका लागि कतारी राजदूतावासका कन्सुलर नासर बिन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीलाई हस्तान्तरण गरेका हुन्।

यसअघि पनि कतार सरकारले नेपाललाई चार्टर्ड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। त्यस्तै, कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप ओसारेको थियो।

कतारले नेपालको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। भूकम्प र कोरोना महामारी जस्ता विपत्का बेला उसले नेपाललाई सहयोग गर्दै आएको छ।

कतार नेपाली श्रमिकको दोस्रो ठूलो श्रम गन्तव्य पनि हो। अहिले पनि करिब चार लाख नेपाली कतारमा कार्यरत रहेको अनुमान गरिन्छ।

प्रकाशित: १५ मंसिर २०७८ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App