coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राष्ट्रिय जनगणना २०७८ सम्पन्न

फाइल तस्बिर

राष्ट्रिय जनगणना २०७८ कुनैपनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो। 

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए।  

महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए। जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए। एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाई छ। जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए।  

महानिर्देशक श्रेष्ठले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उनले स्पष्ट पारे। दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गठकहरुले जनगणना गरेको उनले बताए। गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उनले उल्लेख गरे।

केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भु–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ। केही विवादित क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ।

प्रकाशित: १० मंसिर २०७८ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App