११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

राम्रो जानकारी पाए करदेखि त्रसित नहुने

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले राज्यको वित्तीय व्यवस्थापनमा आन्तरिक श्रोत अन्तर्गत राजस्वको महत्वपूर्ण भूमिका हुने भएकोले विकास र समृद्धिमा यसको उल्लेख्य योगदान रहने बताएका छन्।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय भक्तपुरको आयोजनामा मंगलबार भक्तपुरमा भएको करसम्बन्धी अन्तरक्रियामा उनले भक्तपुरको निजी क्षेत्रको सशक्त संस्था भक्तपुर उद्योग वाणिज्य संघसित सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आन्तरिक राजस्व कार्यालय र संघबीच सहकार्य गरी यस प्रकारको कर शिक्षा र जानकारीमूलक कार्यक्रमहरुलाई निरन्तरता दिनाले स्थानीय उद्यमी व्यवसायीहरुमा करसम्बन्धी सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे।

करसम्बन्धी जानकारीको अभावमा व्यवसायीहरु अल्मलिने गरेको अनुभव सुनाउँदै पर्याप्त जानकारी पाएको खण्डमा करदेखि त्रसित नहुने पनि उनले बताए।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, मझौला तथा साना उद्योग संघ भक्तपुरका अध्यक्ष एवं संघका कार्यसमिति सदस्य विश्वराम दुवालले पनि करसम्बन्धी समस्या र समाधानबारे आआफ्नो बिचार राखेका थिए।

सो अन्तरक्रियामा भक्तपुर जिल्लाका विभिन्न बस्तुगत संघ, नगर उद्योग वाणिज्य संघ तथा भक्तपुर उद्योग वाणिज्य संघका कार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ७ मंसिर २०७८ १२:५० मंगलबार

१० औं राष्ट्रिय कर दिवस