२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

हस्तकला व्यापार मेलाको तयारी पूरा

नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८औं हस्तकला व्यापार मेला तथा १६औं कला प्रतियोगिताको तयारी पूरा भएको छ। मेला मंसिर ३ गतेदेखि ५ गतेसम्म्म काठमाडौंको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने गरी तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

मेलामा विभिन्न हस्तकला विधाका एक सय २० भन्दा बढी स्टल रहने बताइएको छ। विगतका मेलामा हस्तकला बाहेकका स्टल पनि रहने गरेकोमा यस पटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिए। शाक्यका अनुसार अधिकांश स्टल बुकिङ भइसकेको उनले बताए।

एउटै छानामुनि हस्तकलाका वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरूप वस्तुको प्रदर्शनी, अमूर्त सांस्कृतिक सम्पदाको उजागर, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका ज्येष्ठ कलाकारलाई सम्मानलगायत मेलाका मुख्य आकर्षण रहेको संयोजक शाक्यले जानकारी दिए।

शाक्यका अनुसार मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुनेछ भने मेला अवलोकनका लागि विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख,राजदूत तथा उच्च पदस्थ अधिकारीलाई पनि आमन्त्रण गरिएको छ।

मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित् समयमा यस्ता मेला आयोजनाले नयाँनयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन,डिजाइन, विकास र वस्तु विविधीकरण प्रोत्साहन मिल्ने,हस्तकलाको क्षेत्रमा रहेकोे सिप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुने, स्वदेशमै रोजगारी अभिवृद्धि हुने र हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ।

मेलाको झन्डै एक लाख जनाले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यावसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रूपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ। साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको छ। मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, सिएनआई, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत संघसंस्थाको सहयोग रहेको छ।

प्रकाशित: २ मंसिर २०७८ ०३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App