४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक असम्भव

पोखराभित्रै उड्न पाउनुपर्छः व्यवसायी

प्राविधिक रुपमा हट्नुपर्ने बाध्यता आउन सक्छः प्राधिकरण

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ र केही पर देखिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग। तस्बिरः उमेश पुन/नागरिक

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा दोधार भईरहँदा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने स्पष्ट पारेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि अहिलेकै ठाउँमा प्याग्लाइडिङ उडान प्राविधिक रुपमा सम्भव नहुने प्राधिकरणले बताएको हो। प्राधिकरणको भनाईपछि प्याराग्लाइडिङ व्यवसायीलाई अहिले उडान भईरहेको ठाउँबाट अन्यत्र सर्नुपर्ने दवाव आइपरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पनि प्याराग्लाइडिङ बिस्थापित गर्ने चाहना नभएपनि प्राविधिक रुपमा बाध्यता आइपर्न सक्ने प्राधिकरणको भनाई छ।  

अर्बाै रुपैयाँ लगानी भएको विमानस्थल बचाउने वा मनोरञ्जनात्मक गतिविधिको रुपमा रहेको प्याराग्लाइडिङ उडान गर्ने भन्नेमा स्पष्ट हुन प्राधिकरणले पोखरेली व्यवसायीलाई अनुरोध गरेको छ। दुवैखाले उडान (हवाई र प्याराग्लाइडिङ) एकैपटक गरेर दुर्घटना निम्त्याउन नहुने प्राधिकरणको भनाई छ। 

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि के गर्ने भन्नेमा सोमबार भएको छलफलमा प्राधिकरणको एयर ट्राफिक म्यानेजमेन्ट (एटिएम) विभागका प्रमुख सुवर्णराज उपाध्यायले भने, ‘अहिलेकै अवस्थामा पोखराको आकाशमा हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव हुँदैन।’

उपाध्यायका अनुसार अहिले पनि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोस्युडर डिजाइनले अन्तिम रुप लिइसकेको छैन। हाल विमानस्थल बनाईरहेको चिनियाँ कम्पनि सिएएमसीले फ्लाइट प्रोस्युडर डिजाइन बनाएको हो। फ्लाइट प्रोस्युडरमा आकाशमा जहाज उडने बाटो तय हुन्छ। फ्लाइट प्रोस्युडरको ड्राफ्ट तयार गरेर प्राधिकरणमा पुगेको भएपनि त्यसले अन्तिम रुप पाएको छैन। तर, त्यही ड्राफ्टले नै अन्तिम रुप पाउने सम्भावना रहेको उपाध्यायले बताए। ड्राफ्टमा उल्लेख गरिएको प्राविधिक पक्ष परिवर्तन भईहाल्ने अवस्था नभएको उनले बताए। किनकी तोकिएको एयरस्पेसलाई आधार मानेर डिजाइन बनेको हुन्छ।  

उनका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाई र २६ किलोमिटर लम्बाईको एयरस्पेस रहेको छ। क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ। अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाईसम्म मात्र उड्न पाउँछन्।  

‘पूर्वबाट अवतरण गर्ने जहाजले एप्रोच गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा प्याराग्लाइडिङ सम्भव हुँदैन,’ उपाध्यायले भने, ‘फ्लाइट प्रोस्युडर नै त्यही अनुसारको छ। डिपार्चर र मिस एप्रोचमा समस्या आउन सक्छ।’ अहिलेकै अवस्थामा एकैपटक दुवैखाले उडान सम्भव नहुने उनले बताए। ‘तोकिएको एयरस्पेसभित्र उड्ने भएकोले प्याराग्लाइडिङ उडानका लागि सम्भावना खोज्नुपर्छ,’ उनले भने।  

डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या भएकोले नै प्याराग्लाइडिङलाई सम्भावना नहुने उनले बताए। ‘दुईवटा गतिविधि एकैपटक सम्भव नै हुँदैन। प्याराग्लाइडिङ उड्ने आकाशमा हवाईजहाज उड्नुपर्ने हुन्छ। त्यसले असर गर्ने भएकोले दुवैखाले उडान एकैपटक सम्भव छैन,’ उनले भने, ‘हवाईजहाजको कारणले प्याराग्लाइडिङ र प्याराग्लाइडिङका कारण हवाईजहाजलाई असर पार्नु हुँदैन।’ उनले प्याराग्लाइडिङ उडानका लागि भिन्दै सम्भावना खोज्नुपर्ने बताए।  

व्यवसायीले भने कुनैपनि हालतमा पोखराको आकाशमा उडान हुने हवाई खेलकुद लाई बिस्थापित गर्न नहुने बताएका छन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठले अल्ट्रालाइट र प्याराग्लाइडिङलाई पोखराकै आकाशभित्र व्यवस्थापन गर्नुपर्ने बताए। अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नै ध्वस्त बनाउने गरि अन्तर्राष्ट्रिय विमानस्थल आउनुले अर्थ नराख्ने बताए। ‘धेरै पर्यटकीय गतिविधि ध्वस्त भइसके। पदयात्रा क्षेत्र सकिएको छ। अब प्यराग्लाइडिङ र अल्ट्रालाइट पनि गुमाउनु नपरोस’ उनले भने, ‘प्याराग्लाइडिङ बिस्थापित भए त्यसमा निर्भर पाइलट पनि खाडि मुलुक पस्नुपर्ने बाध्यता आइपर्छ।’

अर्का व्यवसायी बासु त्रिपाठीले पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडानको सेड्यूल मिलाएर प्याराग्लाइडिङलाई जोगाइराख्नुपर्ने बताए। पोखराको पर्यटनको पहिचानको रुपमा रहेको प्याराग्लाइडिङ मर्न दिन नहुने उनले बताए। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुदका अध्यक्ष कृष्ण भण्डारीले  बिस्थापित भएर अन्यत्र जाने कुरा सौच्दै नसोचेको बताए। प्याराग्लाइडिङ क्षेत्र स्थापना भएको अढाई दशक भएकोले यो अवधिकोे पहिचान मेट्न नहुने उनले बताए। ‘अहिलेकै अवस्थमा सम्भव नभएमा प्राविधिक रुपमा व्यवस्थापन गर्न सकिने देखिएको छ। केही उच्चतम प्रविधि अपनाएर व्यवस्थापन हुने सम्भावना छ,’ भण्डारीले भने, ‘उडान समयलाइ व्यवस्थापन गरेर भएपनि पोखराभित्रै रहिरहने सम्भावना छ।’

तर प्याराग्लाइडिङकै कतिपय व्यवसायी भने विमानस्थल निर्माण सुरु भएसँगै विकल्प खोज्न प्राधिकरणले भनिरहँदा प्याराग्लाइडिङ व्यवसायीले आँखा चिम्लेको बताउँछन्।

 ‘एयर स्पेस हामीले चाहेर बन्ने होईन। त्यसैले विमानस्थल बनाउन थाल्दा नै यो विषयमा बहस भईरहेको थियो। प्राधिकरणले पहिलेदेखि नै हवाई र प्याराग्लाइडिङ उडान एकैपटक मिल्दैन भनिरहेको हो,’ एकजना व्यवासायीले भने, ‘अहिले पनि त्यही कुरा आएको छ। अहिलेकै अवस्थमा सतप्रतिशत सम्भव छैन भन्ने देखिएको हो। त्यसैले व्यवसायीले विकल्प खोज्न ढिला गर्नु हुँदैन।’

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री पनि मनोरञ्जनात्मक हवाई गतिविधिलाई पोखराबाट बिस्थापित गर्न नचाहेको बताउँछन। तर बाध्यता आइपरेमा सम्भावना खोज्नुपर्ने उनले बताए। ‘२२ अर्ब रुपैयाँ भनिएपछि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लगानी झन्डै ३० अर्ब रुपैयाँ पुगिसक्यो। अर्बाै लगानीको विमानस्थललाई छाडेर प्याराग्लाइडिङ राख्न सकिन्न,’ क्षेत्रीले भने, ‘हवाई खेलका गतिविधि पोखराबाट हटोस भन्ने हाम्रो चाहना होईन। तर, मुढेबल गर्न सकिन्न । क्षति नहुनेतर्फ सचेत हुनुपर्छ।’  

प्याराग्लाइडिङ उडानका लागि समय व्यवस्थापन गर्न सकिने उनले बताए  ‘प्राविधिक रुपमा हामीले अवस्था देखाएका हौ। कम भन्दा कम क्षतिमा व्यवस्थापन गर्न चाहेका हौ । प्रोस्युडर डिजाइनलाई परिवर्तन गरेर भोलि दुर्घटना हुन भन्दा त क्षति नगरी स्थापित गर्न चाहेका हौ,’ उनले भने, ‘भोलि ठुलो दुर्घटना हुन दिनु हुन्न। ठुलो लगानी र  ४० वर्षको मेहनतपछि विमानस्थल बनेकोले यसको संचालन पनि राम्रो होस भन्ने चाहेका हौ। कुनै ठुलो दुर्घटना निम्त्याउन हुँदैन।’ स्लट व्यवस्थापन गरेर भएपनि प्याराग्लाइडिङको उडान जोगाउने प्रयास गर्ने उनले बताए। ‘अन्तर्राष्ट्रिय उडानको तालिका र समय हेरेर व्यवस्थापन गर्न चाहेका छौ। तर त्यो सबै हाम्रो हातमा हुँदैन,’ उनले भने। हामी बिस्थापित गर्न होईन, स्थापित गर्न आएका हौ। तर, प्राविधिक रुपमा बाध्यता आइपर्न सक्छ।’

प्रकाशित: १५ कार्तिक २०७८ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App