निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति अन्तिम चरणमा छ। तयारी पुरा भए आगामि वैशाख एकगते देखि यो विमानस्थलबाट उडान गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको छ। हवाई सेवा कम्पनिका पदाधिकारी पनि पोखराको यो विमानस्थल जतिसक्दो छिटो संचालनमा ल्याउनुपर्ने बताउँदै आएका छन्।
तर, विमानस्थल संचालन गर्ने तालुकदार निकायदेखि तलसम्मका समस्या ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म उडान सम्भव नभएको जानकारहरु बताउँछन्। लामो समयदेखिका कतिपय समस्या समाधानमा तदारुकता नदेखिएको गुनासो व्याप्त छ।
निर्णायकविहीन प्राधिकरण
नेपालको हवाई क्षेत्रको नियमन गर्ने तालुकदार निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) मा अहिले निर्णायक पदाधिकारी नै छैनन्। एकमहिना अघि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि नयाँ महानिर्देशक नियुक्त भएका छैनन्। नयाँ महानिर्देशक नियुक्त हुन ढिलाई हुँदा कतिपय निर्णय हुन सकेको छैन। महानिर्देशक नियुक्तिमा ढिलाई हुँदै गए त्यसको असर पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पनि पर्न सक्ने आँकलन प्राधिकरण भित्रैका पदाधिकारीको छ।
अहिले प्राधिकरण निमित्त महानिर्देशकको भरमा चलिरहेको छ। प्राधिकरणका उच्च कर्मचारीका अनुसार पर्यटन मन्त्रालयले निमित्त महानिर्देशकलाई अहिलेसम्म आर्थिक अख्तियारी दिइएको छैन। त्यसबाहेक आर्थिक वर्ष २०७८/७९ को प्राधिकरणको बजेट पास भएको छैन। बजेट नै पास नहुँदा अति आवश्यक बाहेक खर्च गर्न पाउने अख्तियारी प्राधिकरणलाई छैन। महानिर्देशक नियुक्त नभएको र निमित्त महानिर्देशकलाई सबै अधिकार नदिँदा धेरै काम रोकिएको प्राधिकरणका पदाधिकारीको भनाई छ। त्यसको असर पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा पनि पर्न सक्ने आँकलन पदाधिकारीको छ।
‘हामीले हाम्रो तर्फबाट सबै काम मिहिन तरिकाले गरिरहेका छौ। तर, माथिल्लो तहको योजना के छ भन्ने हामीलाई नै थाहा छैन,’ प्राधिकरण पोखराका प्रमुख बिक्रम गौतमले भने, ‘हामीले मात्र योजना बनाएर हुँदैन। निर्णायक तहमा पदाधिकारी नहुँदा कतिपय काम हुन सकेको छैन। त्यसले गर्दा अप्ठेरो पर्न सक्ने देखिएको छ।’
प्राधिकरणभित्र निर्णायक व्यक्ति नहुँदा गरेका कतिपय कामको टुंगो लगाउन नसकिएको उनले बताए। ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको लक्ष्य वैशाख १ हो, तर, त्यसबारे निर्णयकर्ता हुन सकेनन् भने त्यो समय धकेलिन सक्छ,’ उनले भने, ‘हाम्रो मात्र नभई माथिल्लो तहको योजना अनुसार चल्नुपर्ने हुन्छ। हामीले गरेको कामलाई निर्णय दिने निकाय रिक्त छ।’
महानिर्देशक मात्र नभई व्यवस्थापन टिम पनि अपूरो छ। पर्यटन मन्त्री ढिलागरि नियुक्त हुँदा त्यसको असर महानिर्देशक चयनमा परेको प्राधिकरण श्रोतको भनाई छ। ‘मन्त्री भर्खर आएका छन्। बजेट पास भएको छैन। व्यवस्थापन टिममा ६ जना हुनेमा अहिले ३ जना मात्र छन्। व्यवस्थापन टिममा रहेका केही उच्च पदाधिकारीको कार्यकाल पनि सकिनै थालेको छ,’ प्राधिकरण श्रोतले भन्यो, ‘विभाग पनि निमित्तको भरमा चलाउनुपर्ने बाध्यता छ। निर्णय लिने उच्च तह रिक्त हुँदा संयोजन हुन सकेको छैन।’ यो विमानस्थल संचालनबारे निर्णय गर्ने उच्च पदाधिकारी नहुँदा ढिलाई हुने संकेत प्राधिकरणले नै देखेको छ।
प्राधिकरण श्रोतका अनुसार अध्यक्ष रहने पर्यटन मन्त्री नियुक्त भएपछि बल्ल संचालक समितिको बैठक बस्न थालेको छ। ‘अबको केहीदिनमा महानिर्देशक नियुक्त हुनेछन्। त्यसमा ढिलाई भएमा निमित्त महानिर्देशकलाई पनि अख्तियारी दिनेछ,’ श्रोतले भन्यो, ‘अहिलेको अवस्था कामचलाउ मात्र हो। तर, समस्या भने छन्।’
विमानस्थलका समस्या उस्तै
सके आगामि जनवरी (२०२२ जनवरी १), नत्र वैशाख १ गतेदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन गर्नुपर्ने भन्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) का उच्च पदाधिकारीले बेलाबेला बोल्दै आएका छन्। आयोजनाको भौतिक प्रगति पनि ८५ प्रतिशत कटिसकेको छ। तर, विमानस्थलका केही समस्या भने वर्षाैदेखि ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म विमानस्थल संचालनमा सहज नहुने सरोकारवालाको भनाई छ।
विमानस्थल निर्माण सम्पन्न भएसँगै सञ्चालनमा सहज बनाउन विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटान गर्नुपर्ने, ल्याण्डफिल साईटको वैकल्पिक ब्यवस्था र विमानस्थल क्षेत्रमा वर्षेनी पस्ने भेलबाढी ब्यवस्थापनको समस्या सल्टिएका छैनन्। डाँडा कटानमा पूरक इआइए आवश्यक पर्ने प्राधिकरण पदाधिकारीले बताउँदै आएका छन्। ल्याण्डफिल साइट सार्न र ढलको उचित व्यवस्थापनमा अरु निकायले असहयोग गरेको प्राधिकरणको गुनासो छ।
विमानस्थल सञ्चालनमा आउनु भन्दा ६ महिना अघि नै डाँडा कटान सक्नुपर्ने बाध्यता भएपनि डाँडा कटान ठोस रुपमा अगाडि बढ्न सकेको छैन। त्यस्तै ठूलो वर्षा भएको बेला काहुँ, कुँडहर, चाउथे, बिजयपुर लगायतका क्षेत्रबाट बगेर आएको भेलबाढी विमानस्थलको धावनमार्गमा पस्ने गरेको भन्दै यसले विमानस्थल सञ्चालनमा समस्या आउने सम्भावना छ। त्यसबाहेक पोखरा महानगरले सारिदिनुपर्ने ल्याण्डफिल साइटको अझै टुंगो छैन।
‘विमानस्थलका धेरै समस्या अझै ज्यूँ का त्यूँ छन्। ती समस्या समाधान नभएसम्म हतार गरेर उडान सुरु गर्नु उपयुक्त नहोला,’ नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन, ‘ठेकेदार कम्पनिले बैशाखसम्म विमानस्थल हस्तान्तरण गर्ने वा नगर्ने टुंगो छैन। निर्माण कम्पनिले हस्तान्तरण नगरेसम्म संचालन सम्भव हुँदैन। त्यसबाहेक इन्धन भण्डारण, पार्किङ, ल्याण्डफिल साइट, डाँडाकटान, वर्षाको भेल तर्काउने काम आजको भोलि हुने होईन । त्यसैले अबको चाँसो ती समस्या समाधानमा दिनुपर्छ।’
हवाई कम्पनिका पदाधिकारी पनि विमानस्थलका समस्या सकेसम्म छिटो हल गर्नुपर्ने बताउँछन्। बुद्ध एयरका निर्देशक रुपेश जोशी भन्छन, ‘क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित बनाउनका लागि सबैभन्दा पहिला नजिकैको ल्याण्डफिल साइट हटाईहाल्नुपर्छ।’ अहिले विमानस्थलबाट करिब दुईकिलोमिटर दूरीमा ल्याण्डफिल साइट छ। ल्याण्डफिल साइटका गिद्धको बथान दिनको समयमा विमानस्थलमा आउने गर्छन। ‘अब भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरेर काठमाडौंलाई कम भार पार्नुपर्छ,’ उनले भने।
निर्माण कम्पनिले हस्तान्तरण गर्ने हो भने पोखराको नयाँ विमानस्थलबाट बैशाख एकदेखि उडान सुरु गर्न सकिने प्राधिकरणका पदाधिकारी बताउँछन्। ‘विमानस्थल संचालनमा आउनुभन्दा अघि निर्माण कम्पनिले हस्तान्तरण गर्नुपर्छ। सबै काम सकिएर हस्तान्तरण भएमा मात्र वैशाखमा सम्भव हो,’ प्राधिकरणका ती पदाधिकारीले भने, ‘नत्र पछाडि सर्छ। विमानस्थलका आफ्ना समस्या त समाधान हुनैपर्छ।’
पहिलो उडान आन्तरिक की अन्तर्राष्ट्रिय?
पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि आन्तरिक वा अन्तर्राष्ट्रिय उडान पहिला गर्ने भन्नेमा बहस सुरु भएको छ। पोखरेलीले पहिलो उडान अन्तर्राष्ट्रियबाट थालनी गर्नुपर्ने बताउँदै आएका छन् भने प्राधिकरण भने आन्तरिक उडानबाट विमानस्थल थालनी गरेर अन्तर्राष्ट्रिय उडानसम्म बिस्तार गर्नुपर्ने पक्षमा छ। हवाई कम्पनि पनि आन्तरिक उडान थालनि गरिहाल्ने पक्षमा छन्।
बुद्ध एयरका निर्देशक जोशी भन्छन, ‘सकिन्छ भने अन्तर्राष्ट्रिय र आन्तरिक उडान एकैपटक सुरु गरौ। नत्र अन्तर्राष्ट्रिय उडानको तयारी नपुगेको भए आन्तरिकलाई ‘पेन्डिङ’ मा नराखौं।’ अन्तर्राष्ट्रिय भन्दा आन्तरिक उडान सहज भएको उनले बताए। पोखरेली भने अन्तर्राष्ट्रिय उडानलाई पछाडि धकेल्दा प्राथमिकतामै नपर्ने पो हो कि भन्ने आशंका गर्छन। आन्तरिक उडान सुरु गरिहाल्दा अन्तर्राष्ट्रिय उडानको दिन पछाडि धकेलिने निश्चित भएको उनीहरुको भनाई छ।
महासंघका पूर्व अध्यक्ष मुल्मी भन्छन, ‘केहीको चाहना पोखराको यो विमानस्थबाट अन्तर्राष्ट्रिय उडान नहोस भन्ने छ। त्यसैले अन्तर्राष्ट्रिय उडानको पहल आवश्यक छ।’ हतार गरेर आन्तरिक उडान सुरु गर्दाको मार अन्तर्राष्ट्रिय उडानमा पर्ने पक्का रहेको उनले बताए।
‘पोखरा पछाडि पर्नुको कारण यस्तै भएर हो। केन्द्रीकृत मानसिकताका कतिपय व्यक्तिको चाहना यो विमानस्थललाई आन्तरिकमा मात्र सिमित राख्ने भएकोले सचेत हुनुपर्छ।’ आन्तरिक उडानमा मात्र भर पर्दा अन्तर्राष्ट्रिय उडान सुरु गर्न चुनौती थपिने उनले बताए। नागरिक उड्डयन प्राधिकरण मजबुत भएको भए र सरकारले हस्तक्षेप गर्ने सक्ने भए काठमाडौं विमानस्थलको चाँप अहिलेसम्म घटिसक्ने उनले बताए। ‘काठमाडौं विमानस्थलको भीड हटाउने आँट न त सरकारसँग छ न प्राधिकरणसँग,’ उनले भने, ‘निजी हवाई कम्पनि राजधानी छाड्न चाहँदैनन। त्यसैले पोखराको विमानस्थलबारे ख्याल गर्नुपर्छ।’
प्राधिकरणका पदाधिकारी पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको संचालन आन्तरिक उडानबाट थाल्नुपर्ने बताउँछन्। प्राधिकरण पोखरा प्रमुख गौतम भन्छन, ‘हामीले चाहेको पहिलो उडान आन्तरिकबाट थालौ भन्न हो। आन्तरिक उडान सुरु गर्दा केही समस्या आइपरे अन्तर्राष्ट्रिय उडान थाल्ने बेलासम्म ती सुधार्न सकिन्छ भन्ने हो।’ प्राधिकरणका अर्का एक उच्च पदाधिकारी पनि प्राधिकरणको चाहना पहिला आन्तरिक उडानबाट सुरु गर्ने भन्ने रहेको छ। ‘पसल खोलेपछि बल्ल ग्राहक आउने हुन। आन्तरिक उडान सुरु गरेपछि बल्ल अन्तर्राष्ट्रियका लागि सहज हुन्छ,’ ती पदाधिकारीले भने, ‘आन्तरिक उडान सहजै चलेको छ भनेर देखाएरै अन्तर्राष्ट्रिय कम्पनिलाई पोखरासम्म बोलाउन सकिन्छ।’
प्रकाशित: ७ कार्तिक २०७८ १०:०५ आइतबार