गोरखा, चितवन, तनहुँ लगायतका जिल्लामा निषेधाज्ञा खुकुलो हुँदै गएको खण्डमा भदौ तेस्रो साताबाट मनकामना केबलकार संचालन गर्ने तयारी गरिएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण तीनमहिना देखि बन्द केबलकार संचालन गर्न स्थानीयले मनकामना दर्शन प्रालिलाई दबाव दिएका छन् ।
‘अहिले निषेधाज्ञा केही खुलेको छ, अझै खुल्यो भने भदौको २० पछि चलाउने योजना छ,’ मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले भने । २०७८ बैशाख १६ गते देखि केबलकार बन्द छ । त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनिले जनाएको छ । ‘कोभिडको पहिलो लहरका बेला पनि नौमहिना केबलकार बन्द गर्नुप¥यो’ नायब प्रबन्धक शेरचनले भने ।
अहिले गोरखामा जोरबिजोर प्रणालिमा सवारी साधन चलाइएको, चितवनमा पनि सातामा तीन दिन मात्र बजार खोल्न दिइएको लगायत कारणले भदौ २० सम्म केवलकार संचालन गर्न नसकिने उनले बताए । ‘त्यसपछि कोभिडको अवस्था, प्रशासनको योजना अनुसार हामी अघि बढ्छौं,’ उनले भने ।
मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो । अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनिलाई दवाव दिईरहेका छन । कम्पनिका अनुसार बैशाखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे । अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो । केबलकारमा मात्रै एकसय ५० जना कर्मचारीले रोजगारी पाएका छन् । कोभिड १९ को पहिलो लहरका बेला नौमहिना बन्द केबलकार अहिले तीन महिनादेखि बन्द छ ।
मनकामना मन्दिरमा दर्शन गर्न जाने भक्तजन र स्थानीयले केबलकार प्रयोग गर्छन । पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसिरबाट संचालनमा आएको हो । कोभिड १९ का कारण स्थापना भएदेखि सबैभन्दा लामो समय उद्योग बन्द भएको कम्पनिले जनाएको छ ।
प्रकाशित: १३ भाद्र २०७८ ०८:३९ आइतबार