१ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

दुर्गम क्षेत्रको खाद्यान्न ढुवानीमा वायुसेवा कम्पनीहरुको ‘कार्टेलिङ्ग’

कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लामा नेपाल खाद्य संस्थानमार्फत् नेपाल सरकारले बर्षेनी १५  लाख किलो चामल उपलब्ध गराई आएको छ। सडक संजालको अभावले उक्त परिणामको  चामलको ढुवानीमा निजी क्षेत्रका वायुसेवा कम्पनीहरु समिट एयर, तारा एयर र सीता एयरको संलग्नता रही आएको छ।

नेपाल खाद्य संस्थानले आव्हान गर्ने वार्षिक टेण्डरमार्फत् यी वायु सेवा कम्पनीहरुले बोल कबोल गरेको दररेटमा ढुवानी भइ आएको छ। तर यसपटक २०७८/७९ आर्थिक वर्षको लागि आव्हान गरेको टेण्डरमा खाद्य संस्थानले वायु सेवा कम्पनीहरुलाई मात्र नभई कार्गाे कम्पनीहरुलाई समेत संलग्न हुन पाउने गरी टेण्डर आव्हान गरेपछि यो वायुसेवा कम्पनीहरुले अवान्छनित तवरमा आफ्नो संघ एवं विभिन्न मिडियामार्फत् सो टेण्डरको विरोध गरिरहेका छन्। के यी वायुसेवा कम्पनीबाहेक अरु कसैले यो ढुवानीको जिम्मेवारी लिन नपाउने हो त? सत्यता के हो?  

खाद्य संस्थानका कामु नायब महाप्रबन्धक श्रीराजमणी खनालले भने, ‘हरेक वर्ष हामीले  वायुसेवा कम्पनी र कार्गाे कम्पनी सबैले भाग लिन पाउने गरिनै टेण्डर आव्हान गर्दै आएको हो। तर यसपटक हामीले सार्वजनिक खरिद ऐन, नियमावलीअनुरुप मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनुपर्ने कुरालाई आधार बनाएको र एयरलाईन्सहरु मूल्य अभिवृद्धि करमा दर्ता हुन नपर्ने भएकोले  उहाँहरु प्रत्यक्ष सहभागी हुन नपाइने भयो भनेर गुनासो गर्नुभएको हो। हामीले सम्बन्धित निकायहरुमा छलफल र निर्देशन लिई उहाँहरुको हकमा त्यो नियममात्र लागू नहुने गरी टेण्डर सूचना संसोधन गरिसक्यौं।’  

जानकारहरुका अनुसार खाद्य संस्थानले मल्य ूअभिवृद्धि करको नियमलाई ०७८/०७९ को टेण्डरमा अनिवार्य शर्तको रुपमा राख्नुको कारण यी वायु सेवा कम्पनीहरुले खाद्य संस्थानप्रति देखाउने हेपाहा  दृष्टिकोणलाई कारण मान्दछन्। नाम नखुलाउने शर्तमा खाद्यका एक उच्च अधिकृतले भने, ‘यो  हवाई कम्पनीहरु जसरी पनि काम आफू ओगटेर बस्ने र आफ्नो सुविस्ताअनुसार मात्र काम गर्ने  गर्छन्। यात्रु बोक्ने फ्लाईट पाएसम्म यिनीहरु चामल बोक्ने कुरालाई ध्यान दिँदैनन्। अझ  कोरोना कालअघि हामीले यो वायुसेवाका हाकिमहरुलाई हात जोडेर हाम्रो चामलको ढुवानी गरिदिनु पर्यो भनेर भन्नुपथ्र्याे। पर्यटकीय मौसममा सबै जहाज नेपालगन्ज र सुर्खेत छाडेर काठमाडौँमा थुपारी लुक्लाको डलर उडानमा व्यस्त हुँदा महिनौंसम्म यी वायूसेवाका कारणले हुम्लामा खाद्यान्न संकट भई रहन्थ्यो।

अहिले कोरोनाका कारण पर्यटन शून्यमा झरेकोले यी वायु सेवालाई खाद्य संस्थानको चामलको ढुवानी पनि आफ्नो व्यवसाय जिवित राख्ने मूख्यआधारको रुपमा रहेको छ।’ तर यस विषयलाई नजिकबाट नियाल्दै आएका जानकारहरु भने खाद्य संस्थानल योपटक यी एयरलाईन्सहरुसँग प्रत्यक्ष काम गर्न नखोजेकै हो भन्ने दाबा गर्छन्। यसो हुनुको कारण यी वायुसेवा कम्पनीहरुको खाद्यको चामल ढुवानीमा रहेको अद्योषित कार्टेलिङ्ग तोड्नु र यो कम्पनीहरुले दिने अनावश्यक राजनैतिक एवं प्रशाशनिक दबाबबाट खाद्य संस्थान व्यवस्थापनमुक्त हुन खोजेको हो भनिन्छ। खाद्य संस्थान श्रोतका अनुसार कुनै पनि कार्गो कम्पनीले टेण्डरमा भाग लिन आफूले ढुवानी गर्न प्रयोग गर्ने एयरलाईन्सको करार वा सहमति पत्र पेश गर्नु पर्दछ । तर यी एयरलाईन्सले त्यस्ता कार्गाे कम्पनीहरुलाई सहमति प्रदान नगरी तीन एयरलाईन्सबीच नै कार्टेलिङ्गको व्यवस्था मिलाई दर रेटमाथि एक छत्र नियन्त्रण गर्दै आइरहेको खुल्न आएको छ।

खाद्य संस्थानले हुम्लाको चामलको ढुवानी ठेक्का नेपालगन्ज र सुर्खेत विमान स्थलहरुलाई आधार बनाई तोक्ने गर्दछ। तारा, समीट र सीताले हरेक वर्ष जसो आफूहरुबीच आपसी भागबण्डा मिलाई मिलेमतोमा टेण्डर कबोल गर्दै आएको देखिन्छ। यो तीन कम्पनीले आपसमा चामलका परिमाणलाई भागबण्डा गरी तद्अनुरुप नेपालगन्ज र सुर्खेत दुवै क्षेत्रमा एउटै दरभाउ राखेर टेण्डर भर्ने गरेको भेटिन्छ। त्यसरी एउटै रेटमा टेण्डर भरी योजनाबद्ध तवरमा एकले अर्काेलाई छोडिदिने सहमति पत्र खाद्यलाई उपलब्ध गराउने र पालैपालो टेण्डर लिने एयरलाईन्सले अरु दुईवटालाई  खाद्य संस्थानबाट चामल उपलब्ध गराउने परिपाटी चलि आएको देखिन्छ। यस्तो गर्दा तीनवटै एयरलाईन्सले ढुवानी गर्न पाउने र तीनवटै कम्पनीले ढुवानी गर्दा कामसमेत छिटो सक्ने जस्तो  देखिए पनि यो मिलोमतोको कामले यी एयरलाईन्सहरुले दर रेटलाई आफ्नो नियन्त्रणमा राखी प्रतिस्पर्धात्मक टेण्डरको औचित्यलाई वर्षौदेखि समाप्त पारी कार्टेलिङ्ग गरी आएको प्रष्ट बुझिन्छ।  उदाहरणको लागि आ.व. ०७६÷०७७ मा सुर्खेत हवाई मैदानदेखि हुम्ला हवाई मैदानसम्मका लागि तारा एयरले कबोल दर प्रतिकेजी. रु. ११२÷८० पैसा तोकेको थियो भने समिट एयरले रु.११३÷– प्रति केजी. तोकको थियो।

यसै गरी आ.व. ०७७/०७८ मा सुर्खेतकै परिमाणको लागि तारा एयरले रु.१११/५० पैसा कबोल गरेको देखिन्छ भने समिट एयरले समेत रु.१११/५० पैसा नै  कबोल गरेको देखिन्छ। त्यस्तै आ.व. ०७७/०७८ मा नेपालगन्ज हवाई मैदानबााट गरिने परिमाणका  लागि तारा एयरले रु. ११३/५० प्रति केजी. र सीता एयरले समेत रु. ११३/५० प्रति केजी. नै बोलकबोल गरेका थिए। आ.व. ०७५/०७६ मा नेपालगन्जबाट तारा एयरले रु.११४/–प्रति केजी. र  समिट एयरले पनि रु.११४/– प्रति केजी. नै कबोल गरेका थिए भने यो दुवै एयरलाईन्सले सुर्खेतबाट सोही आर्थिक वर्षका लागि रु.१०५/– प्रति केजी. कबोल गरेको भेटिन्छ।  

यी तीनै एयरलाईन्सले तीन भिन्न तौल क्षमता भएका वायुयानहरु संचालन गर्दछन्। तसर्थ यसरी एउटै दररेटमा हरेकपटक टेण्डर भर्नुले यिनीहरुले खाद्य संस्थानलाई कसरी कार्टेलिङ्गको सिकार बनाई राखेका रहेछन् भन्ने कुरा छर्लङ्ग हुन्छ। यस पटक आ.व. ०७८/७९ का लागि खाद्य संस्थानले यो बाहेकका छुट्टै कार्गाे कम्पनीले ठेक्का लिओस् भन्ने उद्देश्यले टेण्डर तयार पारेको हो भनेर संस्थान सम्बद्ध उच्च श्रोतले भन्यो। कार्टेलिङ्ग  तोड्न खोज्दा हामीमाथि भए नभएका आरोपहरु विभिन्न मिडियामार्फत् लगाउन खोजिँदैछ। तर  हामी आफ्नो क्षेत्राधिकारभित्र रही नियम संगत तरिकाले काम गरिरहेका छौं, त्यही श्रोत भन्छ।

वायु सेवा संचालक संघको हवालामा जे जति वक्तव्यबाजी भै रहेको छ त्यो खेदपूर्ण छ। वास्तवमा वर्षोंदेखि यो एयरलाईन्सले जारी राखेको कार्टेलिङ्गलाई सम्बन्धित निकायले सूक्ष्म तरिकाले अनुसंधान गर्नुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञहरु बताउँछन्।  

प्रकाशित: ९ भाद्र २०७८ १२:४९ बुधबार

नेपाल खाद्य संस्थान सीता एयर