१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

युएई प्रवेशको सर्त खुकुलो

अघिल्लो सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी उडान भरिरहेका वायुसेवा कम्पनीहरूले अब यताबाट पनि यात्रु लैजान पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा युएईले नेपालबाट जाने यात्रुका लागि प्रवेश खुला गरे पनि कोही जान पाएका थिएनन्। साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि यहाँबाट युएई यात्रु लैजान थाले पनि नेपाली वायुसेवा कम्पनीले त्यसो गर्न पाएका थिएनन्। फ्लाई दुबईले समेत दुबईमा बढीमा ६ घन्टा ट्रान्जिट भएका यात्रु मात्र नेपालबाट लगिरहेको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए।  

विमानस्थल स्रोतका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम रहेको ४८ घन्टाभित्र गरेको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्‍यापिड पिसिआर परीक्षण नेगेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने भएपछि युएई उडान पुनः सुरु भएको हो।  

सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन्। सोही रिपोर्टको आधारमा नेपाल वायुसेवा निगमले सोमबार राति ११ः३० मा उडान गर्ने तयारी गरेको छ। निगमले सोमबारदेखि सातामा दुई उडान भर्ने तयारी गरेको छ।

शनिबार हिमालय एयरलाइन्सले यात्रुलाई विमानस्थल मै बोलाएर स्वाब संकलन गरी पिसिआर परीक्षण गराएर उडाएको थियो। दुबई सरकारले पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ।

यसैबीच, अहिले मलेसिया, दुबई, दोहा, दिल्ली लगायत गन्तव्यमा नियमित उडान गरिरहेको निगमले जापान र हङकङ उडान सुरु गर्ने भएको छ। कोरोनाको दोस्रो लहरसँगै तीन महिनादेखि बन्द रहेको उक्त गन्तव्यमा पुनः नियमित उडानको तयारी गरेको निगमले जनाएको छ।  

निगम स्रोतले दिएको जानकारी अनुसार हङकङ उडानको टिकट बुकिङ खुलिसकेको छ । तर उडान तालिका सार्वजनिक नभएकाले उडान सुरु हुने मिति यकिन छैन। सो गन्तव्यका लागि निगमले एकतर्फी भाडादर ७० हजार रूपैयाँ तोकेको छ । त्यस्तै, जापान उडानका लागि समेत सेडुलिङको प्रक्रिया सुरु भइसकेको छ । निगमले अबको १५ दिनपछि जापान उडान सुरु गर्ने तयारी गरेको छ ।  

अफगानिस्तान उडान हल्ला मात्रै

नेपाल वायुसेवा निगमले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि उडान गर्ने चर्चा निराधार रहेको जनाएको छ। आइतबार विमिन्न सञ्चार माध्यममा निगमले अफगास्तिानबाट नेपालीको उद्धार गर्न चार्टर्ड उडानको तयारी गरेको समाचार प्रकाशित भएपछि निगमले खण्डन गरेको हो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले निगमको न्यारोबडी जहाज अफगानिस्तान जाने निर्णय नभएको प्रस्ट पारेका छन्। सरकारले छलफल अगाडि बढाए पनि हालसम्म निगमलाई कुनै निर्देशन नआएको पौडेलको भनाइ छ।

प्रकाशित: ३२ श्रावण २०७८ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App