४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लाको तिलामा सिमी जोन, पातारासीमा स्याउ सुपरजोन कार्यक्रम गरिने

जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासी गाउँपालिकामा स्याउ सुपरजोन कार्यक्रम लागु गरिने भएको छ। यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको संभावनालाई मध्यनजर गर्दै कार्यक्रम लागू गरिने निर्णय भएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यन्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।  

स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तरगत सिमी जोनकोरुपमा जिल्लाको तिला गाउँपालिकालाई बिस्तार गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जानकारी दिए। उनले कार्यक्रम सञ्चालनको लागि सिफारिस समेत गरिसकिएको बताए।

उपप्रमुख बुढाको अध्यक्षतामा बसेको वैठकले कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार कार्यक्रम छनौट गर्ने निर्णय गरेको थियो। बैठकले स्याउ जोन लागू हुन बाँकी पातारासी गाउँपालिकाको वडा नम्बर १,२ र ३, गुठिचौरको गाउँपालिकाको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागू गर्ने निर्णय समेत गरेको हो। 

स्याउ सुपरजोन परियोजना यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका केही वडामा काम भईरहेको थियो। कार्यालय प्रमुख गंगा पोखरेलका अनुसार सुपरजोनले यसअघि नै सिँजा क्षेत्रमा काम गर्न सिफारिस गरिसकेको थियो। थोरै जनशक्तिले सुपरजाेनमा काम गर्नु परिरहेको भन्दै स्थानीयतह र सम्बन्धित सरोकारवाला कार्यालयमार्फत काम गर्न आवश्यक रहेको बताइन्।

समितिले सिफारिस गरेका कार्यक्रमहरु केन्द्रले स्वीकृत गर्ने प्रावधान छ। बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्लालाई कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुदै गएको बताए। तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकोले प्रभावकारी काम हुने अपेक्षा गरिएको बताए।  

अब सिँजाका ३ वटा तहमा पनि स्याउ सुपरजोनको कार्यक्रम अगाडि बढाउन संघीय सरकारले प्रथामिकता दिने उनी बताउँछन्। लामो समयदेखी जुम्ला क्षेत्र (क) मा काम गरिरहेको सुपरजोनले पछिल्लो समय बृहत चक्लाबन्दी, बगैचा घेरवार, सिँचाई, स्याउ कार्टुन उपलब्ध गराउने काम गर्दै आएको छ।  

जुम्ला क्षेत्र  (ख) मा कार्यक्रम संचालन हुन सकेको थिएन। किसानले सुपरजोनका कार्यक्रम सञ्चालन हुनु पर्ने माग राख्दै आइराखेका थिए। क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन्।  

प्रकाशित: २६ श्रावण २०७८ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App