ऐतिहासिक र पुरातात्विक महत्वको भक्तपुर नगरलाई नेपालको पहिलो पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। भक्तपुरमा रहेको कलाकृति, संस्कृतिको महत्वलाई प्रबद्र्धन गरी लाभ लिन सक्नुपर्नेमा भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले जोड दिएका हुन्।
कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष शिवप्रसाद मानन्धरले कला संंस्कृतिको संरक्षणका साथै भक्तपुर जिल्लाको समग्र अर्थतन्त्र उकास्न संघले निकट भविष्यमा एउटा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्ययोजना तयार गर्ने योजना रहेको सुनाए।
संघले आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमुखी हस्तकलाको विकास एवम् पर्यटन प्रवर्द्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको उनले बताए।
कार्यक्रममा संरक्षणकर्मी रविन्द्र पुरीले भक्तपुरलाई नमूना पर्यटनको केन्द्रको रुपमा परिचित गराई जिल्लाबासीलाई आर्थिक रुपमा सबल बनाउन सकिने बताए। भक्तपुरको कला संस्कृति, बाजागाजा, भजनदाफाहरुलाई व्यावसायीकरण गरी आयमुुलक पेशाको रुपमा विकास गर्न सके यसको जगेर्नासमेत हुने उनको भनाइ छ। उनले नगरक्षेत्रलाई सवारीसाधनमुक्त क्षेत्रको रुपमा विकास गर्न सके पर्यटन उद्योग अझ फस्टाउने बताए।
छलफलमा संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव रोशनीमैयाँ धौबञ्जा, सचिब गणेशहरि प्रजापति, कोषाध्यक्ष राजन श्रेष्ठ, कार्यसमिति सदस्यहरु गौतम सुजखु तथा विश्वराम दुवालले पनि भक्तपुरलाई पर्यटकको आकर्षणको केन्द्र बनाउन सवै लाग्नुपर्नेमा जोड दिए।
नेपाल आउने पर्यटकहरुमध्ये झण्डै ४० प्रतिशत पर्यटक भक्तपुर आउने तथ्यांक छ।
प्रकाशित: २८ असार २०७८ १४:४५ सोमबार