१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब पचपन्न करोड ३९ लाखको बजेट सार्वजनिक गरेको छ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको नवौँ नगरसभामार्फत् महानगरले २०७८/०७९ का लागि महिला, जेष्ठनागरिक, असहाय नागरिक, दलित, बालबालिका लगायतका लागि विषेश कार्यक्रमसहित बजेट ल्याएको हो।  

नगर सभा अधिवेशनमा बजेट तथा नीति कार्यक्रम महानगरकी उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेकी थिइन्। बजेटमा चालु खर्चतर्फ एक अर्ब छयासी करोड पैतिस लाख ४२ हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ एक अर्ब बासठी करोड तैतिस लाख ३० हजार र वित्तीयतर्फ ६ करोड ७० लाख ६४ हजार बजेट विनियोजन गरिएको छ।

बजेटमा आर्थिक विकास क्षेत्रमा दश करोड आठ लाख ३० हजार र पूर्वाधार विकास क्षेत्रमा एक अर्ब पैंतिस करोड छयासठी लाख १८ हजार रुपैया छुटुयाइएको छ।  

सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रतर्फ तेर्ह करोड ३२ लाख ७४ हजार र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार विनियोजन गरिएको छ। ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो महानगर’ भन्ने मूल नाराका साथ नवौँ नगरसभामा सुरु भएको थियो।

महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदीप निरौला, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो।  

‘नागरिक केन्द्रीत बजेट’

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले नागरिकका आवश्यकतालाई महत्व दिँदै बजेट ल्याइएको प्रतिक्रिया दिए। वीरगंज महानगरपालिकाले जेष्ठ नागरिकका लागि पार्क र ७० बर्षदेखि माथिका जेष्ठ नागरिकको उपयोगिताका सामाग्री दिने कार्यक्रम ल्याएको छ।

वीरगन्ज ४ मा रहेको चिल्ड्रेन पार्कमा एक करोड ६० लाखको लागतमा खुल्ला ब्यामशाला बनाउने, वीरगंज महानगरपालिका ११ मा रहेको श्रीपुर विद्यापीठ विद्यालयमा एक करोड ६० लाखको लागतमा करिव एक हजार मानिस वस्न सक्ने क्षमताको अडिटोरीयम, वीरगन्ज १५ लक्षमनवामा मानव सेवा आश्रम भवन निर्माणका लागि १८ कठ्ठा जमिन र रक्तसंचार केन्द्रको भवन निर्माणका लागि वीरगन्ज ३ मा मालपोत चोक स्थित मेनरोडमा रहेको करिव ६ कठ्ठा जग्गा व्यवस्था बजेटमार्फत गरिएको छ।  

त्यस्तै वीरगन्ज ८ मा रहेको जग्गामा भोजपुरी प्रतिष्ठानको भवन निर्माणका लागि पनि एक करोड रुपैयाँ छु्ट्याइएको छ। त्यस्तै महानगरपालिकाभित्र रहेका करिव ९ हजार वालवालिकालाई सर्वोत्तम पिठो र ४ हजार गर्भवती महिलाहरुको लागि पोशिलो खानेकुरा उपलब्ध गराउने महानगरपािलकाले कार्यक्रम ल्याएको छ। बिपन्न तथा दलित समुदायका नागरिकको घरमा एक हजार थान चापाकल जडान गरी शुद्ध खानेपानी व्यवस्था गर्ने, निःशुल्क आँखा परीक्षण तथा पाँच हजार व्यक्तिहरुको मोतियाविन्दुको अपरेशन गर्ने कार्यक्रम तय गरिएको छ।

महानगरपालिकाका २७, २८, २९, ३० र ३१ वडाहरुमा वर्षेनी हुने नदी कटान तथा बस्ती डुवानको समस्या अन्त्य गर्न दश करोड ३८ लाखको लागतमा भेडाहा खोलामा तटवन्ध निर्माण गर्ने जनाइएको छ। वीरगंज भंसार नजिक प्रवेशबिन्दुमा आउदो साउनदेखि डाक्टरसहितको स्वास्थ्यकर्मी समूह राखेर उपचार र स्वास्थ्य परीक्षण गरिने जनाइएको छ।

महानगरपालिका कार्यालयको पुरानो भवन भत्काएर अत्याधुनिक अपाङमैत्री भवन निर्माण गरिने तय गरिएको छ।

प्रकाशित: १० असार २०७८ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App