८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

महामारीमा बैंक तथा वित्तीय संस्थाको कर्जा साढे २२ प्रतिशतले वृद्धि

कोरोना महामारीको बेला बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धि उल्लेख्य रूपमा भएको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह २२.५ प्रतिशतले वृद्धि गरेका हुन्। अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा ११.५ प्रतिशतले बढेको थियो।  

महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भने, ‘महामारीको अवस्था नआएको भए पक्कै पनि बैंकहरूको कार्य सम्पादन अझै निकै उत्कृष्ठ हुन्थ्यो।’

यद्यपि केन्द्रीय बैंकले चैतसम्मको विवरण सार्वजनिक गरेका कारण बैशाखपछिको नतिजा केही कमजोर आउनसक्ने कतिपय बैंकरको अनुमान छ। दोस्रो लहरको कोरोना महामारी बढेसँगै सरकारले काठमाडौं लगायत देशका विभिन्न जिल्लामा बैशाख १६ देखि निषेधाज्ञा सुरु गरेको छ। महामारी नियन्त्रणमा नआएका कारण निषेधाज्ञा कहिलेसम्म जारी रहन्छ भन्नेबारे कुनै टुंगो छैन। वाणिज्य बैंकका सिइओहरू निषेधाज्ञालाई धेरै नलम्ब्याउने हो भने त्यति धेरै समस्या नहुने दाबी गर्छन्।  

त्यस्तै चैत मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २२.६ प्रतिशतले, विकास बैंकहरूको २५.० र वित्त कम्पनीहरूको १०.२ प्रतिशतले बढेको छ। कर्जा प्रवाहमध्ये सबभन्दा बढी त्यस अवधिसम्म (२०७७ चैत मसान्त) घरजग्गा धितोमा छ। बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा छ।  

१२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। २०७६ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.१ र १३.३ प्रतिशत थियो। चालु आवको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३५.७, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७.०, निर्माण क्षेत्रतर्फको कर्जा १२.७, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.८, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २०.८ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १६.८ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२.२, ओभरड्राफ्ट कर्जा २७.५, डिमान्ड तथा चालु पुँजी कर्जा २०.१, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२.४, मार्जिन प्रकृति कर्जा ८२.३ र आयात कर्जा ४०.८ प्रतिशतले बढेको छ। तर यस अवधिमा हायर पर्चेज कर्जा भने ५.४ प्रतिशतले घटेको पाइएको छ।

सोही अवधिमा निक्षेप संकलन पनि बढेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। चैत मसान्तसम्म निक्षेप १३.७ प्रतिशतले बढेको छ। गत वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २३.० प्रतिशतले बढेको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५, ३५.१ र ४८.२ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५, ३२.२ र ४९.३ प्रतिशत थियो। साथै २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४१.७ प्रतिशत छ। २०७६ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४४.४ प्रतिशत थियो।

वाणिज्य बैंकका शाखा पुग्न तीन स्थानीय तह मात्रै बाँकी

देशका सबै स्थानीय तहमध्ये अब वाणिज्य बैंकका शाखा पुग्न तीन तह मात्रै बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ। चैत मसान्तसम्म देशका सात सय ५० स्थानीय तहमा बैंकका शाखा विस्तार भएका छन्। २०७६ चैतसम्म सात सय ४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए। अधिकांश स्थानीय तहमा शाखा विस्तार भएसँगै बैंक तथा वित्तीय संस्थाका शाखा १० हजार पाँच सय ४६ पुगेका छन्। अब धादिङको रुबीभ्याली, जाजरकोटको जुनीचाँदी र बझाङको काँडा स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन्।  

प्रकाशित: ३ जेष्ठ २०७८ ०५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App