१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

फेरि सुस्ताए हलेसीका होटल

त्रि–धार्मिकस्थल हलेसी बजार आसपासका होटल । तस्बिर: दमन /नागरिक

कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण पर्यटकको आवागमन ठप्प हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसीका होटल व्यवसाय धरासयी बनेको छ । कोभिड–१९ को दोश्रो लहर सुरु भएसँगै हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको  आवागमन बन्द हुँदा व्यवसायी मारमा परेका हुन् । हाल हलेसीमा सञ्चालनमा रहेका साना तथा ठूला लगानीका होटलमा ताला लागेको छ । ग्राहक नआउँदा हलेसीका होटल व्यवसायीलाई दैनिक औसतमा १० लाखको घाटा भइरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष रुद्र गिरीले बताए ।  

हलेसीमा सञ्चालनमा रहेका होटलका ग्राहक भनेका  मन्दिरमा आउने पर्यटक एवं दर्शनार्थी हुन् । तर, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्णय अनुसार गत बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्मका लागि हलेसी मन्दिर गुफा बन्द गरिएको छ । फाट्टफुट्ट आउँदै गरेको पर्यटक एवं दर्शनार्थी हलेसी मन्दिरको गेटमा ताला लागेपछि देखिन छाडेका छन् । दैनिकजसो बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो चहल पहल हुने हलेसी अहिले सुनसान छ ।  

देशबिदेशका धार्मिक पर्यटकको भीडभाड देखिने हलेसी कोरोना भाइरसको सन्त्रासपछि ठप्प छ । कोभिड–१९ कै महामारीका कारण हलेसी मन्दिरमा २०७७ साल चैत ८ गतेदेखि २०७७ साल मंसिर १६ गतेसम्म लागेको ताला खुलेपछि तंग्रिदै गरेको होटल व्यवसाय पुःन चौपट भएको हो । दैनिकजसो हेलीकोप्टर वा गाडीमार्फत आउने देशबिदेशका पर्यटकका कारण भरिभराउ हुने हलेसी मन्दिर बन्द हुँदा हलेसीको पर्यटनमा प्रत्यक्ष अशर पुगेको अध्यक्ष गिरीले बताए ।  

कोरोनाको कहर सुरु भएसँगै हलेसीमा पर्यटक तथा दर्शनार्थी बोकेर आउने रिजर्भ बस तथा सुमोको आवत–जावत बन्द छ । हलेसीको हेलीप्याडमा चार्टर गरिएका हेलीकोप्टर ल्याण्ड भएका छैनन् । सामान्य तथा सुविधा सम्पन्न होटल ग्राहक नपाएर छटपट्टिमा छन् । पर्यटक तथा दर्शनार्थीको आवागमन नहुँदा हलेसीबजारको अन्य व्यापार–व्यवसायमा समेत अशर परेको छ । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसी आसपासमा साना तथा सुविधा सम्पन्न गरी सयको हाराराहीमा होटल सञ्चालनमा छन् ।  

हलेसीमा होलेसुङ रिसोर्ट (दुर्छिम), जम्बाला रिसोर्ट, होटल हलेसी भिलेज, रोयल हलेसी, पद्मा, तारा, होली प्यालेस लगायतका होटल सञ्चालनमा छन् । ठूला लगानीका करिब एक दर्जन होटलमा जग्गा भाडा, विद्युत, पानी, कामदारको तलव, लगानी गरेको व्याजवापत दैनिक कम्तीमा २० हजारदेखि ५० हजार खर्च भइरहँदा आम्दानी भने शुन्य रहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष गिरीले बताए । ‘होटल बन्द छ । व्यवसायी गेटमा ताला लगाएर बसेको छ । ग्राहक आउँदैन, आम्दानी शुन्य छ,’ गिरीले भने, ‘सानो लगानीका होटलमा दैनिक चार÷पाँच हजारको खर्च भइरहेको छ । दश–बा¥ह वटा होटलमा बीसदेखि पचास हजार खर्च भइरहेको छ । यो होटल व्यवसायीको प्रत्यक्ष घाटा हो ।’  

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेसी बाहेक चिन, सिंगापुर, जापान, रुस, फ्रान्स, यूक्रेन, अमेरिका लगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढिजसो धार्मिक पर्यटक छन् । हलेसी आएका हिन्दु धर्मावलम्बी बढिमा दुई दिन बस्ने गर्छन् भने वौद्धमार्गी चार÷पाँच दिनको प्याकेजमा आएर बस्ने गरेका छन् । चीन, तिब्बत, भारत, भुटान, फ्रान्स लगायतका कतिपय पर्यटक भने सिधै हेलीकोप्टरमार्फत हलेसी आउने जाने गरेका छन् । काठमाडांै लगायत पश्चिम नेपालका दर्शनार्थी मध्यपहाडी लोकमार्ग अन्तरर्गत खुर्कोट–घुर्मी हुँदै हलेसीमा आउने गरेका छन् भने पुर्वी नेपालका दर्शनार्थी कटारी–घुर्मी हुँदै हलेसी आउने गरेका छन् । नेपालमा आएकामध्ये करिब ५ प्रतिशत पर्यटक हलेसी आउने गरेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष गिरीले बताए ।  

धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफा लगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन् । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि–धार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बा रहेकाले हलेसीमा हरेक हिउँद बिश्वभरका बौद्धमार्गीहरुले ४÷५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।  

प्रकाशित: २८ वैशाख २०७८ ०६:३७ मंगलबार

हलेसीका होटल