८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

कोरोना भाइरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ। 

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमीबजारमा हरेक सोमबार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको हो। कोरोना भाइरसबाट ‘आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने मान्यताका साथ सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि साप्ताहिकरुपमा लाग्ने हाटबजार बन्द गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए।  

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्णय अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिकाले तत्काल हाटबजार बन्द गरेको हो। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने/गराउने निर्णय गरेको थियो। 

गत वर्षको लकडाउनका बेला खेर जाने अवस्थाका तरकारी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खरिद गरेर राहतका रुपमा बाँडेको थियो। गत वर्षकैजस्तो अवस्था आएमा यसपल्ट पनि किसानको उत्पादनमा कुनै क्षती हुने काम हुन नदिने गाउँपालिका अध्यक्ष राईले बताए।

प्रकाशित: १४ वैशाख २०७८ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App