९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

आन्तरिक पाहुनालाई पोखरा र नेपालगञ्जको प्याकेज

पोखरा–नेपालगञ्ज सातामा दुई उडान

पश्चिम नेपाल प्रवद्र्धनमा निस्केको पोखरेली पर्यटन व्यवसायीको टोलि नेपालगञ्जमा । तस्बिरः नागरिक

पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ । त्यसका लागि  नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनी सहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एकअर्काको सहरमा आउजाउ गर्दै पर्यटनमा सहकार्य थालेका हुन् ।

नेपालगञ्ज र आसपासका क्षेत्रका पर्यटकलाई पोखरा ल्याउन र पोखरा भेगका पर्यटकलाई नेपालगञ्ज सहित पश्चिम क्षेत्रका गन्तव्यमा घुमघाममा पठाउने पहलस्वरुप यो अभियान थालेको दुवै गन्तव्यका पर्यटन व्यवसायीले बताएका छन् । पर्यटनमा साझेदारी गरेका दुवै गन्तव्यका व्यवसायी अहिले एकअर्काको सहरमा प्रवद्र्धनात्मक गतिविधिमा व्यस्त छन् ।

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकमार्फत उकास्ने प्रयास स्वरुप यो प्रयास थालेको व्यवसायीले बताए । नेपालगञ्ज नाका हुँदै भित्रिएका भारतीय पाहुनालाई पनि यो सेवाले सहजता थप्ने व्यवसायीको भनाई छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी च्याप्टर र नाट्टा नेपालगञ्जबीचको साझेदारीमा एकअर्काको गन्तव्यको प्याकेजमा पर्यटक घुमाउने योजना व्यवसायीको छ ।  

नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले दुईवटा गन्तव्यको यो पहलले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए । उनका अनुसार नेपालगञ्ज र पोखराबीच लामो समयदेखि हवाई सेवा सञ्जालको प्रयास भएको पनि थियो । तर, त्यसमा उत्तिसारो प्रगति नभएपछि अहिले सिता एयरको डोर्नियर जहाजबाट चार्टर उडान थालिएको छ । यो उडान सातामा दुईदिन (आइतबार र शुक्रबार) हुनेछ । एकतर्फी जहाज भाडा ५ हजार रुपैयाँ तोकिएको छ ।

व्यवसायीले चार्टर उडान सहित पर्यटनको प्याकेज पनि बनाएका छन् । त्यही प्याकेजमा पर्यटकलाई घुमघामका लागि पठाउनेछन् । नाट्टा गण्डकीका अध्यक्षका सिग्देलका अनुसार हवाई भाडा बाहेक नेपालगञ्जबाट आएका पाहुनाले पोखरामा पाँचहजार रुपैयाँमा दुईरात बसोबास, खानपिन सहित, घुमघाम गर्न पाउनेछन् । यस्तै नेपालगञ्जले १० हजार रुपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ ।  

‘नेपालगञ्ज नाका हुँदै भित्रिने भारतीय सहरका पर्यटकलाई पोखरासम्म आउजाउमा पनि सिधा उडानले सहज हुनेछ । त्यस्तै पश्चिम नेपालका गन्तव्य घुम्न जान चाहेका पोखरा आसपासका क्षेत्रका पर्यटकलाई पनि सजिलो हुनेछ,’ सिग्देलले भने, ‘दुवै गन्तव्यलाई यो सेवाले प्रवद्र्धन गर्न सहज हुने अपेक्षा छ ।’ नेपालगञ्ज गएका पर्यटकले प्याकेज अन्तर्गत आसपासका क्षेत्र घुम्न पाउनेछन् भने पोखरा आएका पर्यटक पनि प्याकेजमै रमाउन पाउने व्यवसायीको भनाई छ ।

नेपालगञ्ज हुँदै रारा, फोक्सुन्डो, बर्दिया राष्ट्रिय निकुञ्ज, कैलाश मानसरोवर जस्ता महत्वपूर्ण गन्तव्यसम्म पाहुना पठाउन यसले सहजता थप्ने अपेक्षा व्यवसायीको छ । त्यसबाहेक नेपालगञ्ज नजिकको भारतीय सहर लखनउ, देहरादुनका भारतीय पर्यटक सिधै र छोटो समयमा पोखरा भिœयाउन पनि यसले सघाउने उनले बताए । नेपालगञ्ज क्षेत्रबाट आन्तरिक भन्दापनि भारतीय पर्यटकलाई हवाइ उडानमाफर्त पोखरा भिœयाएर बढी लाभ लिन सकिने व्यवसायीको भनाई छ । नेपालगञ्ज क्षेत्रका होटलले मानसरोवर जाने भारतीय पर्यटकबाट बढी लाभ लिएको र तीमध्ये केही पर्यटकलाई मात्र पोखरा पठाउन सक्ने हो भने दुवै गन्तव्यको प्रवद्र्धन हुने व्यवसायीको भनाई छ ।  

‘बर्दीया, रारा, फोक्सुन्डो, मानसरोवर लगायतका गन्तव्यलाई पोखरासँग जोड्ने पहल थालेका हौ,’ नाट्टा नेपालगञ्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘आन्तरिक पर्यटनलाई देश घुमाउने योजना पनि हामिले थालेका हौ ।’ हवाई उडानले आउजाउमा छिटो बनाउने र त्यसले पाहुनालाई घुम्न प्रोत्साहन थप्ने नाट्टा नेपालगञ्जका अध्यक्ष सिग्देलको भनाई छ । उनका अनुसार प्रवद्र्धनात्मक रुपमा थालिएको यो सिधा उडान एकमहिनासम्म चल्नेछ । यो अवधिमा दुईतर्फी गरि १६ वटा उडान हुनेछन् । पोखरालाई नेपालगञ्जसम्म मात्र नभई सुदूरपश्चिम, मध्यमपश्चिम, भारतको लखनउ पनि जोड्न सघाउने उनले बताए ।  

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्ज भारतीय नाका जोडिएको सहर भएकोले भारतीय पर्यटकको आउजाउमा पनि यो प्रवद्र्धनले सघाउने बताए । ‘पश्चिम नेपालको हवको रुपमा नेपालगञ्ज बनेको छ । नेपालगञ्जमा ठुला आकारका होटल बनिरहेका छन् । क्यासिनो पनि चलिरहेका छन,’ राणाले भने, ‘नेपालगञ्ज आएका तिनै भारतीय र केही आन्तरिक पर्यटकलाई पोखरा भिœयाउन सकियो भने दुवै गन्तव्यलाई लाभ पुग्छ ।’ त्यसबाहेक पोखरा क्षेत्रका आन्तरिक पाहुनालाई पनि नेपालगञ्ज हँुँदै बर्दिया र पश्चिम क्षेत्रका अरु पर्यटकीय गन्तव्यमा पठाउन सकिने उनले बताए । ‘पर्यटनमा सहकार्य गरेका हौ, यसले दुवै गन्तव्यको प्रवद्र्धन गर्दै व्यवसायमा लाभ थप्नेछ,’ उनले भने ।

पर्यटन बोर्ड पोखराका प्रमुख काशिराज भण्डारीले पर्यटन व्यवसायीकै पहलमा मात्र पर्यटक प्रवद्र्धन हुने बताए । नेपाल र चीनबीचको हवाई सेवा सञ्जालको उदाहरण पेश गर्दै भण्डारीले भने, ‘सुरुवातताका सिमित पाहुना आउने अनुमानमा नेपाल र चीनबीच हवाई सेवा सुरु भएको हो । अहिले चिनियाँ पर्यटनमै नेपाली पर्यटन क्षेत्रले भरोसा राख्नुपरेको छ ।’ 

पोखरा र आसपासका क्षेत्रमा घुमाउने गरि नेपालगञ्ज हुँदै आन्तरिक पाहुनालाई ल्याउनका लागि सस्तो प्याकेज र सिधा हवाई सेवा जरुरी रहेको उनले बताए । ‘अहिले सानो आकारको जहाजबाट पोखरा–नेपालगञ्ज चार्टर उडान थालिएको छ । यात्रु थपिँदै जाँदा अरु निजी हवाई कम्पनिले पनि यो रुटमा उडान थाल्न पक्कै चाँसो देखाउनेछन्,’ भण्डारीले भने, ‘पर्यटनमा सहकार्य जरुरी थियो । त्यो सहकार्यले दुवै गन्तव्यलाई लाभ दिन्छ ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपि भट्टराइले पनि पर्यटनमा कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण हुने बताए । ‘नेपालभित्रैका आकर्षक गन्तव्यसम्म पाहुनालाई घुमाउन सहज हुनेगरि हवाई र स्थल सञ्जाल सहज छैन । अन्तर्राष्ट्रिय रुपमा पनि नेपालको यातायात सञ्जाल सहज नहँुदा पर्यटनमा सोचेजति हुन सकेको छैन,’ उनले भने, ‘अबको पर्यटनका पहुँच चाहिन्छ । गतिला गन्तव्य जोड्नेगरि सञ्जाल बिस्तार गर्दा पर्यटकको संख्या बढाउन सकिन्छ ।’

प्रकाशित: ८ फाल्गुन २०७७ १०:१९ शनिबार

पोखरा–नेपालगञ्ज पर्यटन प्याकेज