७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाउँपालिकाको सेटिङमा ठेक्का

सहिद लखन गाउँपालिकाको कार्यालय। तस्बिर : नागरिक

१० लाखको विकास निर्माणका कामको यसअघि अनलाइनमार्फत टेन्डर आह्वान (इबिडिङ) गरेको सहिद लखन गाउँपालिकाले ४३ लाखसम्मको ठेक्का अहिले बिना ‘इबिडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ।

गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा २० लाखमुनिका पाँच र २० देखि ४३ लाखसम्मका चारवटा ठेक्का बिनाप्रतिस्पर्धा व्यवसायीलाई दिन लागिएको छ। गोरखाका अन्य स्थानीय तहभन्दा अगाडि आर्थिक वर्ष २०७४/७५ मा पहिलोपटक ‘इबिडिङ’मार्फत टेन्डर आह्वान गरेको उक्त गाउँपालिकाले अहिले कमिसनको लोभमा ‘इबिडिङ’ नगरेको विषय व्यवसायीबीच नै विवादित छ।  

‘इबिडिङ’ भएर अनलाइनमार्फत ठेक्का दाखिला गर्न, फर्म खरिद गर्न पाएको भए व्यवसायीले जहाँबाट पनि टेन्डर दाखिला गर्न मिल्थ्यो। उक्त प्रावधान हटाएर गाउँपालिकाको कार्यालयमै पुगेर टेन्डर फर्म खरिद गर्नुपर्ने र दाखिला गर्न पनि गाउँपालिकामै जानुपर्ने प्रवाधानमा टेन्डर खुला ग¥यो। जसका कारण व्यवसायीको सिन्डिकेट र मिलेमतोलाई गाउँपालिकाको निर्णयले प्रश्रय दिएको देखिन्छ। ‘यस वर्ष १० लाखमाथिका योजना टेन्डर गर्ने निर्णय गाउँपालिकाले गरेको हो,’ प्रमुख प्रशासकिय अधिकृत जीवनबहादुर आले मगरले भने, ‘यसअघि हामीले ‘इबिडिङ’ गरेका थियौं, यो पटक गरेनौं।’  

‘इबिडिङ’ किन गर्नुभएन ? भन्ने प्रश्नमा उनले स–साना व्यवसायीलाई उक्त प्रक्रियामा जाँदा समस्या हुने, कतिपय बेला ठेक्का नलाग्ने भएकाले अनलाइन प्रणालीमार्फत टेन्डर नगरेको प्रतिक्रिया दिए। तर यो गाउँ सभाले गरेको निर्णय विपरीत हो। कमिसनको लोभमा कर्मचारीले गाउँसभाको निर्णय लत्याउँदै टेन्डर मिलाउन खोजेपछि चौतर्फी आलोचना भएको छ।  

पुस ९ गते ठेक्का आह्वान गरेको गाउँपालिकाको ठेक्का नम्बर ९ देखि १३ सम्मको पाँचवटा प्याकेज करिब १३/१३ लाखको छ। नौ नम्बर प्याकेजको १९ वटा, १० को २० वटा, ११ को १९, १२ को २० र १३ नम्बर प्याकेजको १९ वटा टेन्डर फर्म बिक्री भएको गाउँपालिकाको योजना शाखाका नायब सुब्बा सानुकाजी बस्नेतले बताए। ‘यी सबै प्याकेजमा तीन/तीनवटा फर्म मात्रै दाखिला भएको छ,’ उनले भने। टेन्डर फर्म खरिद गरेका व्यवसायीबीच लेनदेन भएपछि प्रक्रिया पूरा गर्न तीनवटा फर्म दाखिला गरिएको हो।  

२१ लाख ५५ हजारको ठेक्का नम्बर १४ को प्याकेजको १७ वटा टेन्डर फर्म बिक्री भएको छ। २५ लाख ८५ हजारको १५ नम्बर प्याकेजको १७ वटा बिक्री भएको नायब सुब्बा बस्नेतले बताए। ठेक्का नम्बर १६ को ४३ लाख १० हजारको प्याकेजको १६ र ठेक्का नम्बर १७ को २१ लाख ८८ हजार प्याकेजको १५ वटा फर्म बिक्री भएको गाउँपालिकाले जनाएको छ।  

यी चारवटा प्याकेजमा एक÷एकजना व्यवसायीले मात्रै बोलपत्र दाखिला गरेका छन्। क्रमशः गोरखकाली ब्रदर्स कन्सट्रक्सन, बस्चुल निर्माण सेवा, कल्याण निर्माण सेवा एन्ड सप्लायर्स र कृतिका निर्माण सेवाले १४ देखि १७ नम्बरको प्याकेजमा एकलौटी फर्म दाखिला गरेका छन्। ‘हामी दाखिला भएको फर्मको मूल्यांकन गर्दैछौं,’ प्रमुख प्रशासकिय अधिकृत आले मगरले भने।  

बिक्री भएका फर्ममध्ये एक/एकवटा मात्रै दाखिला भएपछि ती फर्मले काम पाउने पक्का देखिन्छ। काम पाउने पक्का भएका फर्मले टेन्डर दाखिला गर्ने दिन यसअघि फर्म खरिद गरेको व्यवसायीलाई गाउँपालिकानजिकै बसेर २५ हजारदेखि एक लाखसम्म बाँडेको एक स्थानीयले बताए। फर्म खरिद गरेकालाई एकै ठाउँमा जम्मा गर्ने, आर्थिक लेनदेनमा मिल्ने मिलाउने कामको नेतृत्वमा निर्माण व्यवसायीले गर्ने गर्छन्। 

‘प्रतिस्पर्धामा जाँदा ५० प्रतिशतसम्म कम दररेटमा राख्छन्,’ एक व्यवसायीले भने, ‘मिलेमतो भएपछि १० प्रतिशत रकम वितरण गर्ने, पाँचदेखि १० प्रतिशत गाउँपालिकालाई पनि हुने भएपछि यो मिलेमतो भएको हो।’ धेरै फर्म बिक्री भएको तर एउटा मात्रै दाखिला भएको विषयमा गाउँपालिकाका कर्मचारी अनविज्ञता प्रकट गर्छन्।

प्रकाशित: २५ माघ २०७७ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App