१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबार सुरु भएको छ। भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले महाधिवेशन उद्घाटन सत्रमा बोल्दै गैरआवासीय नेपालीले कोरोना महामारीमा निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए। मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिका स्थापित गर्न सफल भएको बताए।  

प्रवासमा संकटमा परेका नेपालीको उद्धार, राहत र उपचारमा खेलको भूमिकाका लागि उनले गैरआवासीय नेपालीको प्रशंसा गरे। उनले संकटको बीचमा पनि विदेशमा रहेका नेपाली विज्ञहरूलाई नेपालमा जोड्ने प्रयत्न गरेको भन्दै खुसी व्यक्त गरे। मन्त्री ज्ञवालीले सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय भएको बताए।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा मेहनत र पसिनाबाट कमाएको पुँजीले नेपालको समृद्धि र विकासमा योगदान गरेको बताए। उनले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन गैरआवासीय नेपालीलाई सुझाए। संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यबारे छलफल गर्न सुझाए। अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउन्डसेन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाए।

कार्यक्रममा पूर्वअध्यक्ष जीवा लामिछाने, भवन भट्ट, संस्थापक नेता रामप्रताप थापा, सल्लाहकारहरू कुल आचार्य, टिबी कार्की, उपाध्यक्षहरू डा। बद्री केसी, सोनाम लामा लगायतले बोलेका थिए। भर्चुअल रूपमै दुई दिन चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संघले जनाएको छ। उद्घाटन सत्र अध्यक्ष कुमार पन्तको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: ११ माघ २०७७ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App