१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

२४ बैंकको प्रतिसेयर आम्दानी घट्यो

कोरोना महामारीका कारण पछिल्लो समय अधिकांश वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (इपिएस) घटेको छ । इपिएस घट्दा सेयरधनीले पाउने लाभांश घट्छ । आर्थिक वर्ष ०७६÷७७ को प्रकाशित वित्तीय विवरण अनुसार तीन बैंकको मात्र इपिएस बढेको छ । २७ मध्ये २४ बैंकको इपिएस घटेको छ ।  

आर्थिक वर्ष ०७५÷७६ मा वाणिज्य बैंकहरूको औसतमा प्रतिसेयर आम्दानी २५ रूपैयाँ २६ पैसा थियो । गत वर्ष यो घटेर औसतमा २० रूपैयाँ ३ पैसामा सीमित भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा सबै बैंकले ५५ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७ अर्ब ६१ करोड रूपैयाँले कम हो । इपिएस वृद्धिले बैंकहरूको व्यावसायिक प्रगतिलाई प्रस्ट पार्छ । वास्तविक नाफाको मापन इपिएसबाट गर्ने गरिन्छ । इपिएसले बैंकको लाभांश वितरण गर्ने क्षमतामा प्रभाव पार्छ । एक कित्ता सेयर बराबर कति आम्दानी छ भन्ने कुरा इपिएसबाट थाहा हुन्छ । कम्पनीको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा आउने भागफल प्रतिसेयर आम्दानी हो ।

उदाहरणको लागि कुनै बैंकको एक वर्षको आम्दानी १ लाख रूपैयाँ छ र सोही बैंकमा १ हजार सेयर संख्या छ भने त्यस बैंकको १ कित्ता सेयर बराबरको आम्दानी सय रूपैयाँ हुन्छ । जति बढी प्रतिसेयर आम्दानी भयो, लगानीकर्ताले त्यत्ति नै बढी प्रतिफल पाउँछन् ।  

आर्थिक वर्ष ०७६/७७ को फागुनसम्म बैंक, वित्तीय संस्थाले नियमित काम गर्न पाएका थिए । चैत ११ मा सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन सुरु गरेको हो । लकडाउनपछि सम्पूर्ण अर्थतन्त्र समस्यामा परेको छ । समस्यामा परेका उद्योग, व्यवसायलाई सहुलियत प्रदान गर्न नेपाल राष्ट्र बैंकले ब्याजमा छुट दिनेदेखि स्प्रेड दर घटाउने तथा तोकिएभन्दा बढी सेवा शुल्क लिन नपाउने नियम बनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा सबै बैंकले गरी ५५ अर्ब ८० करोड रूपैयाँ खुद नाफा गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा सात अर्ब ६१ करोड रूपैयाँले कम हो ।

त्यस्तै, बैंकहरूले लगानी गरेको कर्जाको साँवा–ब्याज बुझाउने अवधि पनि असोज मसान्तसम्म थप गरिएको छ । केन्द्रीय बैंकले निर्देशन नदिएको भए वाणिज्य बैंकहरूले कम्तीमा पनि गएको चैत र असार महिनामा कर्जाको साँवा र ब्याज असुल गर्थे । बैंकर्स एसोसिएसनका अनुसार गत वर्ष उठ्नुपर्ने ५१ अर्ब रूपैयाँभन्दा बढी साँवा र ब्याज कोरोना महामारीले गर्दा उठ्न सकेको छैन । कर्जाको त्यो रकम असोज महिनासम्म उठ्ने बैंकरहरूको अपेक्षा छ ।  

केन्द्रीय बैंकले असोजमा उठ्ने कर्जाको रकमलाई गत वर्षको नाफामा जोड्न मिल्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएर असोजमा कर्जाको साँवा र ब्याज असुल हुन सक्यो भने वाणिज्य बैंकहरूको आम्दानी केही बढ्न सक्छ ।  

कोरोना महामारीपछि बंैकले लगानी पनि गर्न सकेका छैनन् । लगानी नहुँदा बैंकहरूमा २ खर्ब १३ अर्ब रूपैयाँ हाराहारी निक्षेप थुप्रिएको छ । संकलन भएको निक्षेप लगानी हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर एकल अंकमा झारिसकेका छन् । तैपन िकर्जा बढ्न सकेको छैन । लगानीकर्ताहरू यतिखेर अन्योलको अवस्थामा हुँदा कर्जा विस्तार हुन नसकेको हो । कोरोना कहरबीच अघिल्लो आवको तुलनामा इपिएस वृद्धि गर्ने बैंकमा सेञ्चुरी, सिद्धार्थ र एनसिसी छन् । गत वर्ष सिद्धार्थको इपिएस दुई रूपैयाँ ७३ पैसाले बढेर १० रूपैयाँ ७७ पैसा पुगेको छ ।  

सेञ्चुरी बैंकले अघिल्लो वर्ष ८ रूपैयाँ ४ पैसा रहेको इपिएस बढाएर १० रूपैयाँ ७७ पैसा पु-याएको छ । त्यस्तै, एनसिसी बैंकको इपिएस २.२० प्रतिशतले बढेर १२ रूपैयाँ ९ पैसा कायम भएको छ ।  

गत वर्ष सबभन्दा बढी इपिएस ग्लोबल आइएमई बैंकको घटेको छ । सोही वर्ष जनता बैंकसँग मर्जर गरेको ग्लोबल आइएमईको इपिएस अघिल्लो वर्षको २६ रूपैयाँ ७९ पैसाबाट १६ रूपैयाँ २७ पैसामा झरेको छ ।  

नेपाल एसबिआई बैंकको इपिएस २७ रूपैयाँ १३ पैसाबाट घटेर १७ रूपैयाँ ९ पैसा कायम भएको छ ।  

प्रभु बैंकको इपिएस ७ रूपैयाँ १० पैसाले घटेर १३ रूपैयाँ ९३ पैसा कायम भएको छ ।  

अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा धेरै गुमाएको नेपाल इन्भेस्टमेन्ट बैंकको इपिएस १८ रूपैयाँ ७ पैसा छ । अघिल्लो आवमा उक्त बैंकको इपिएस २६ रूपैयाँ ४३ पैसा थियो ।

सानिमाको इपिएस ८ रूपैयाँ ८७ पैसाले घटेर १९ रूपैयाँ ३५ पैसा कायम भएको छ । आर्थिक वर्ष ०७५÷७६ मा २३ रूपैयाँ ६ पैसा रहेको प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १६ रूपैयाँ ३९ पैसा मात्र छ ।  

बैंक अफ काठमाण्डूको इपिएस १७ रूपैयाँ २६ पैसा छ । पछिल्लो वर्ष यो २३ रूपैयाँ ५३ पैसा थियो । गत आर्थिक वर्षको नाफाबाट सबभन्दा बढी लाभांश वितरण गर्ने हैसियत राख्ने नबिल बैंकको इपिएस १३ रूपैयाँ ३३ पैसाले घटेर ३७ रूपैयाँ २४ पैसा कायम भएको छ । माछापुच्छे« बैंकको पछिल्लो वर्षको इपिएस १२ रूपैयाँ ९२ पैसा छ । जुन अघिल्लो आवको तुलनामा ५ रूपैयाँ २६ पैसा कम हो । अघिल्लो आवमा १७ रूपैयाँ ४९ पैसा रहेको सिटिजन्स बैंकको इपिएस ४ रूपैयाँ ५७ पैसाले घटेको छ ।  

सनराइज बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ५ रूपैयाँले घटेर इपिएस १५ रूपैयाँ ५३ पैसा कायम भएको छ ।  

नेपाल बंगलादेशको इपिएस अघिल्लो आवको तुलनामा ४ रूपैयाँ ६२ पैसाले घटेर १९ रूपैयाँ ६३ पैसामा सीमित भएको छ ।  

त्यस्तै, कृषि विकास बैंकको इपिएस १८.७१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४० रूपैयाँ ४५ पैसा रहेको यसको इपिएस ७ रूपैयाँ ५७ पैसाले घटेर ३२ रूपैयाँ ८८ पैसा कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको इपिएस अघिल्लो वर्षको ३० रूपैयाँ ३९ पैसाबाट घटेर इपिएस २४ रूपैयाँ ७६ पैसा कायम भएको छ ।  

एभरेट बैंकको एपिएस आर्थिक वर्ष ०७५÷७६ को ३८ रूपैयाँ ५ पैसाबाट ६ रूपैयाँ ९० पैसा घटेर ३१ रूपैयाँ १५ पैसा कायम भएको छ । अघिल्लो वर्ष ३२ रूपैयाँ ४४ पैसा रहेको हिमालयन बैंकको इपिएस पाँच रूपैयाँ ३१ पैसाले घटेर २७ रूपैयाँ १३ पैसा कायम भएको छ । नेपाल बैंकको इपिएस २२ रूपैयाँ ६६ पैसा छ, जुन अघिल्लो आवको तुलनामा ४ रूपैयाँ ३३ पैसाले कम हो । लक्ष्मी बैंकको इपिएस १७ रूपैयाँ ८२ पैसाबाट घटेर १५ रूपैयाँ १३ पैसा कायम भएको छ ।

सरकारी स्वामित्वकै अर्को राष्ट्रिय वाणिज्य बैंकको इपिएस ६ रूपैयाँ ५९ पैसाले घटेको छ । यसको इपिएस ४९ रूपैयाँ ४५ पैसा छ ।  कोरोनापछि इपिएस गुमाउने अर्को बैंक एनएमबि हो । गत वर्ष यसको इपिएस अघिल्लो वर्षको १८ रूपैयाँ ७९ पैसाबाट घटेर १६ रूपैयाँ ७३ पैसा कायम भएको छ ।  कुमारी बैंकको इपिएस अघिल्लो आवको तुलनामा १ रूपैयाँ १७ पैसाले घटेर १२ रूपैयाँ ७७ पैसामा सीमित भएको छ । मेगा बैंकको इपिएस १४ रूपैयाँ ५२ पैसा छ । जुन अघिल्लो आवको तुलनामा २ रूपैयाँ १० पैसाले कम हो । अघिल्लो आवमा ३४ रूपैयाँ २२ पैसा रहेको एनआइसी एसिया बैंकको इपिएस दुई रूपैयाँ १० पैसाले घटेर ३२ रूपैयाँ १२ पैसामा सीमित छ ।

सबै सूचकमा तुलनात्मक रूपमा कमजोर सिभिल बैंक पनि कोरोनाको असरबाट मुक्त हुन सकेन । अघिल्लो आवमा आठ रूपैयाँ ८४ पैसा रहेको सिभिल बैंकको इपिएस ३ रूपैयाँ १३ पैसाले घटेर ५ रूपैयाँ ७१ पैसामा सीमित भएको छ । 

प्रकाशित: ८ भाद्र २०७७ ०४:१२ सोमबार

बैंक सेयर आम्दानी