नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेका जलविद्युत् प्रवद्र्धक कम्पनीलाई वित्तीय व्यवस्थापन गर्न चुनौती थपिएको छ। कोभिड १९ सिर्जित समस्याको सबैभन्दा ठूलो असर अध्ययनका क्रममा रहेका जलविद्युत् आयोजनामा परेको छ। दुई हजार एक सय २५ मेगावाट क्षमताका एक सय १२ वटा आयोजनाका प्रवद्र्धक कम्पनीले प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेका छन्। तर तिनले वित्तीय व्यवस्थापन गर्न सकेका छैनन्।
प्रतिमेगावाट २० करोड लागतलाई आधार मान्दा पिपिए गरेका आयोजनाको लागि चार खर्ब २५ करोड रुपैयाँ पुँजी आवश्यक पर्छ। त्यसमध्ये प्रवद्र्धकले स्वःपुँजीमार्फत एक खर्ब २७ अर्ब र बैंकले दुई खर्ब ९७ अर्ब रुपैयाँ लगानी गर्नुपर्छ।
निजी क्षेत्रका प्रवद्र्धकहरु कोभिड महामारीकै बीचमा आयोजनाको वित्तीय व्यवस्थापनको लागि ३० प्रतिशत स्वःपुँजी जुटाउनुपर्ने बाध्यतामा छन्। आरती हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक प्रकाश दुलालले प्राधिकरणसँग पिपिए सम्झौता गरेका आयोजनालाई कुल लगानीको ३० प्रतिशत स्वःपुँजी जुटाउन चुनौती थपिएको बताउँछन्।
विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेका २१२५ मेगावाटका आयोजना सम्पन्न गर्न चार खर्बभन्दा धेरै लगानी आवश्यक पर्ने।
‘कोभिड १९ को कारण पाँच महिनादेखि मुलुकको अर्थतन्त्र ठप्प जस्तै छ। यस्तो अवस्थामा आयोजनाको लागि लगानी जुटाउन धेरै समस्या छ,’ उनले भने, ‘बैंक, वित्तीय संस्था लगानी गर्न डराइरहेको अवस्था छ। प्रवद्र्धक कम्पनीले पनि स्वःपुँजी जुटाउन सकिरहेका छैनन्। त्यसैले अहिले ठूलो समस्या छ।’ कोभिड १९ को कारण अध्ययनका क्रममा रहेका जलविद्युत् आयोजनाको अन्य काम ठप्प भएका छन्।
‘आयोजनाको साइटमै पुगेर अध्ययन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘यस्तै अवस्था लामो समयसम्म रहने हो भने जलविद्युत् आयोजना दीर्घकालसम्म प्रभावित हुनेछन्।’
कोभिड १९ का कारण पिपिए भएका आयोजनाको विस्तृत डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन, सार्वजनिक सुनुवाइ, टोपोग्राफिकल सर्भे, हाइड्रोलोजिकल सर्भे, ड्रिलिङ, सामाजिक तथा वातावरणीय प्रभाव लगायत काम हुन पाएका छैनन्। नेपाल इन्भायरोन्मेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टका प्रबन्ध निर्देशक नारायण खनालले कोभिड १९ का कारण जलविद्युत् उत्पादन अनुमति लिएका आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन लगायत काम प्रभावित भएको बताए। ‘आयोजना अध्ययनको लागि साइटमा अनिवार्य पुग्नै पर्छ। तर अहिले साइटमा टेक्न समेत नपाउने अवस्था छ,’ उनले भने, ‘कोभिड १९ र वर्षातले जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन, सार्वजनिक सुनुवाइ लगायत सम्पूर्ण काम अवरुद्ध भएका छन्।’
उनका अनुसार कोभिड १९ ले जलविद्युत् क्षेत्रमा लामो समयसम्म असर पार्नेछ। नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी खरिद–बिक्री सम्झौता भएका अधिकांश आयोजनाले अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न नसकेको बताउँछन्।
‘निजी क्षेत्रका एक सयभन्दा धेरै आयोजनाले पिपिए गरेका छन्। तर अहिलेसम्म वित्तीय व्यवस्थापन गर्न सकेका छैनन्,’ उनले भने, ‘कोभिड १९ महामारीको जोखिम कायमै भएकाले दुवैले खुलेर लगानी गर्न सकिरहेका छैनन्।’ उनी कोभिडका कारण पिपिए भइसकेका आयोजनालाई लगानी जुटाउन अझै केही वर्ष लाग्न सक्ने अनुमान गर्छन्।
कोभिडका कारण निर्माणाधीन आयोजनाको लगानी बढिरहेको छ। पिपिए सम्झौता भएका आयोजनालाई वित्तीय व्यवस्थापनमा समस्या भइरहेको परिप्रेक्ष्यमा उत्पादन अनुमतिपत्र र अध्ययन अनुमतिपत्र जारी भएका आयोजनालाई थप स्रोत जुटाउन अझै कठिन हुने देखिएको छ।
विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा सात सय १२ मेगावाट क्षमताका आयोजना निर्माणको लागि ३७ वटा प्रवद्र्धक कम्पनीले विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन्। त्यसैगरी, सोही आर्थिक वर्षमा ३८ वटा जलविद्युत् प्रवद्र्धक कम्पनीले एक हजार सात सय ७२ मेगावाटको सर्भेक्षण अनुमतिपत्र लिएर अध्ययन थालेका छन्।
प्रकाशित: १ भाद्र २०७७ ०३:२८ सोमबार