नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री प्रक्रियाले हवाई सेवामा जारी लकडाउन खुलेपछि निरन्तरता पाउने भएको छ। तेस्रोपटकको प्रयासमा भएको लिलामी प्रक्रियामार्फत निगमले अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई उक्त विमान बेच्ने निर्णय गरेको थियो।
उक्त कम्पनीले सम्झौतापछि निगमलाई पाँच प्रतिशत बैनासमेत बुझाइसकेको छ। निगमले पहिलो र दोस्रोे लिलामी प्रक्रियामा विमान बिक्री हुन नसकेपछि तेस्रोपटक बोलपत्र आह्वान गरेको थियो।
दोस्रो टेन्डरमा पनि विमान बिक्री नभएपछि कानुनले आपसी छलफलबाट विमान बेच्ने सुविधा दिएको थियो। सोही नियमभित्र रहेर निगमले ५.७१ मिलियन अमेरिकी डलरमा उक्त विमान बेच्ने सम्झौता गरे पनि कोरोनाको असरका कारण अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै ग्राउन्डेड अवस्थामा छ।
उक्त जहाज लिलाम गर्न निगमले नेगोसिएसन उपसमितिसमेत गठन गरेको थियो। उपसमितिको अध्ययनले विमान किन्न प्रस्ताव गर्ने तीन कम्पनीमध्ये सिएसजिएसलाई बेच्न सुझाएपछि बिक्री प्रक्रिया अघि बढेको हो।
‘निगमले विमान बेच्न तेस्रोपटक आह्वान गरेको बोलपत्रमा चासो देखाउने कम्पनीले हालकै अवस्थामा विमान लैजाने सम्झौता गरेको थियो,’ निगम प्रवक्ता अर्चना खड्काले भनिन्, ‘छनोटमा परेको कम्पनीले बैनासमेत बुझाइसकेको छ। तर जारी लकडाउनका कारण कम्पनीले विमान लैजान नसके पनि निरन्तर सम्पर्कमा छ।’
गत वर्ष असार ११ मा ४५ दिनको समय दिएर पहिलो बोलपत्र आह्वान गरेको निगमले त्यसमा परेका तीनवटै कम्पनीले निगमले चाहेको मूल्य तिर्न तयार नभएपछि दोस्रोपटक गत भदौ पहिलो साता १५ दिनको समय सीमा राखेर पुनः बोलपत्र आह्वान गरेको थियो।उक्त आह्वानबाट पनि निगमले राखेको मूल्य पाएन। त्यसपछि गत कात्तिक २६ मा आकर्षक छुटसहित तेस्रोपटक गरेको बोलपत्र आह्वानमा तीन विदेशी कम्पनीले चासो देखाएका थिए। निगमले तेस्रोपटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रूपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको थियो।
आपसी सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा बढी मूल्य तिर्न तयार कम्पनीलाई विमान बिक्री गर्ने निगमले जनाउँदै आएको थियो। सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताए पनि एक वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड उक्त विमान मर्मतसम्भारमा धेरै रकम खर्च गर्नुपरेको जस्ता कारण देखाउँदै निगमले बोइङ–७५७ बेच्ने प्रक्रियामा जानुपरेको बताएको थियो। तर विमान किन्ने कम्पनीले हालकै अवस्थामा जहाज किन्ने भएकाले अहिले उक्त जहाजको मेन्टेनेन्स खर्च शून्य छ।
त्यसो त निगमका तत्कालीन कार्यकारी निर्देशक मदन खरेलले सन् २०२० को फेब्रुअरीसम्म मात्रै उक्त विमान उड्न सक्ने अवस्थामा भएकाले छिटो बिक्री गर्नुपर्ने दबाब निगमलाई रहेको बताएपछि निगमको तयारी अनुसार भने विमान उडाएर लैजान सकिएको छैन।विमानका केही कागजपत्रको म्याद उक्त समयसम्म मात्रै रहेकाले निगमलाई सोही अवधिभित्र हटाउन पाए हुन्थ्यो भन्ने थियो। तर अहिले पनि आवश्यक कागजी प्रक्रिया पूरा गरेर एकपटकलाई उक्त जहाज उडाउन कुनै समस्या नरहेको प्रवक्ता खड्कको भनाइ छ।
८९ हजार घन्टा उडान भरिसकेको १९० सिट क्षमताको उक्त विमानमा दुईवटा रोल्स रोयस इन्जिन छन्। निगमले सन् १९८० मा अमेरिकन बोइङ कम्पनीसँग उक्त विमान ऋणमा किनेको थियो। निगमले व्यावसायिक नाफा दिन नसकेको भन्दै चिनियाँ जहाजसमेत हटाउने निर्णय गरिसकेको छ। हाल ग्राउन्डेड अवस्थामा रहेका ती जहाज बिक्रीका लागि छिटो प्रक्रियामा नगए दुईवटा इभरो, एउटा बोइङ ७२७ र दुई वटा ७५७ जस्तै विमानस्थलको कुनामा लगेर राख्नुपर्ने अवस्था आउन सक्ने निगमकै अधिकारी बताउँछन्।
प्रकाशित: १८ श्रावण २०७७ ०४:०३ आइतबार