९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

छोइनसक्नु तरकारी

अत्यधिक वर्षाको कारण उपत्यकामा तरकारी कम भित्रिएको छ। तरकारीको आयात घटेसँगै बजारमा मूल्य अकासिएको छ। मुलुककै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार गएको तीन हप्तामा अधिकांश तरकारीको मूल्य सयदेखि दुई सय ५० प्रतिशतसम्म बढेको छ।

समितिको तथ्यांक अनुसार तीन हप्ताअगाडि १२ रुपैयाँ रहेको बन्दाको थोक मूल्य बढेर प्रतिकिलो ३८ रुपैयाँ पुगेको छ। त्यस्तै, काउली ३८ रुपैयाँबाट बढेर ९५ रुपैयाँ, मूला १२ रुपैयाँबाट बढेर ७८ रुपैयाँ, भन्टा २८ रुपैयाँबाट बढेर ६५ रुपैयाँ, सिमी ४५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ। कालीमाटीमा भटमास ५० रुपैयाँ प्रतिकिलोबाट बढेर ९५ रुपैयाँ, हरियो फर्सी २८ रुपैयाँबाट बढेर ५८ रुपैयाँ, साग प्रतिकिलो २० रुपैयाँबाट बढेर ७५ रुपैयाँ पुगेको छ।

कालीमाटीमा टमाटर भने सस्तो पाइएको छ। मंगलबार कालीमाटीमा टमाटरको थोक मूल्य प्रतिकिलो १८ रुपैयाँ थियो। समितिका प्रवक्ता विनय श्रेष्ठले उपत्यकामा टमाटरको उत्पादन बढी भएको कारण मूल्यमा कमी आएको बताए। उनले भने, ‘टमाटर त अहिले उपत्यकाबाट बाहिर गइरहेको छ, उपत्यकामा धेरै उत्पादन हुनेमा टमाटर पर्छ। टनेलमा टमाटर पाक्ने सिजन पनि यही हो, त्यसैले सस्तो छ।’

खुद्रा बजारमा तरकारीको मूल्य झनै उच्च छ। खुद्रा बजारबाट उपभोक्ताले थोक मूल्यको दोब्बरमा तरकारी किनमेल गरिरहेका छन्। प्रवक्ता श्रेष्ठले यो मौसममा सधैं तरकारीको मूल्य बढी हुने र त्यसमा पनि यो हप्ता अत्यधिक वर्षाका कारण तरकारी उपत्यका भित्रन नसक्दा मूल्य बढेको बताए। ‘यो समय तरकारीको उत्पादन नै कम हुने समय हो। तराईबाट आउँदैन यतैको भर पर्नुपर्छ,’ उनले भने, ‘त्यसमाथि वर्षाका कारण गाउँबाट तरकारी आउन नपाएकोले मूल्य झनै महँगो भयो।’ उनले यो हप्ता मागभन्दा अत्यधिक कम तरकारी आएको र वर्षा कम भएसँगै तरकारी आउने क्रम बढ्न सके मूल्य केही सस्तो हुन सक्ने बताए।  

दैनिक आठ सय मेट्रिक टन तरकारी भित्रने कालीमाटीमा बुधबार एक सय ७० मेट्रिक टनमात्र भित्रियो। त्यस्तै, मंगलबार तीन सय, सोमबार तीन सय २७ मेट्रिक टन मात्र तरकारी भित्रिएको छ। अन्य दिनमा पनि दैनिक चारदेखि पाँच सय टन मात्र तरकारी भित्रिएको छ।

प्रकाशित: ८ श्रावण २०७७ ०५:१३ बिहीबार

तरकारी