६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्ची गेट निर्माणमा कमजोरी भएकाे आशंका

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका (गेट) एक्कासि खुलेर दुर्घटना भएसँगै सो गेट निर्माणमा कमजोरी रहेको आशंका गरिएको छ। गत मंगलबार मध्याह्न गेट नम्बर १७ फुटेर गम्भीर दुर्घटना भएको थियो।  

पछिल्लो समय सर्वसाधारणदेखि प्राविधिकले समेत गेट निर्माणमा कमजोरी रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। खानेपानी मन्त्रालयले पनि किन सुरुङको गेट एक्कासि भत्कियो भन्ने विषयमा छानबिन गर्न सहसचिव रमाकान्त दुवाडीको संयोजकत्वमा विज्ञसहितको प्राविधिक टोली गठन गर्ने निर्णय गरेको छ। दुवाडी यसअघि मेलम्ची खानेपानी आयोजनाको उपकार्यकारी निर्देशकको रूपमा कार्यरत थिए। केही वर्षअघि उनी मन्त्रालय सरुवा भएका थिए।  

विज्ञसहितको प्राविधिक टोलीले बिहीबार आयोजनाको स्थलगत अनुगमन गरेको छ। आयोजनाले के कारण र कसरी गेट भत्कियो भन्ने विषयमा थाहा हुन नसकेको जनाएको छ। सुरुङको गेट निर्माणको जिम्मा भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले पाएको थियो। प्रिसिजनले गरेको डिजाइन, निर्माण, जडान कार्यको प्रत्यक्ष निगरानी र सुपरीवेक्षण भने परामर्शदाता कम्पनी इटिप्साले गरिरहेको छ। इटिप्साले आयोजनाको हेडवक्र्स तथा सुरुङ निर्माणको डिजाइन पुनरवलोकन र खरिद दस्तावेज तयारसमेत गरी दैनिक सुपरीवेक्षण गरिरहेको छ।  

खानेपानी मन्त्रालयका पूर्वसचिव भीमप्रसाद उपाध्याय मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट भत्किनुमा त्यसको डिजाइन, गेट निर्माण, जडान वा भेन्टिलेटर साफ्टको कमजोरी हुनसक्ने बताउँन्। ‘बन्द हुनुपर्ने ढोका के कारणले भत्कियो भनेर अहिल्यै किटान गर्न सकिँदैन। डिजाइन नमिलेर, राम्रोसँग निर्माण नभएर र जडानमा समस्या भएर पनि हुन सक्छ,’ उनले भने, ‘जबसम्म सुरुङमार्गको गेट बलियो बनाउन सकिँदैन, तबसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन सकिँदैन। एउटा गेट भत्किएसँगै अन्य गेटको गुणस्तरमा समेत प्रश्न उब्जिएको छ। त्यसैले अध्ययन गर्न गठित टोलीले दुर्घटनाको सूक्ष्म अध्ययन गरेर कारण खुलस्त पार्नुपर्छ।’  

पूर्वसचिव उपाध्याय सुरुङका अन्य गेटले मेलम्चीको पानीको प्रेसर धान्न सक्छ कि सक्दैन भनेर पनि पूर्वतयारी आवश्यक भएको बताउँछन्। ‘सरसर्ती हेर्दा गेटले पानीको प्रेसर थेग्न नसकेर दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘अहिले त थोरै परिणामको पानी मात्र राखेर टेस्टिङ गरिएको हो। क्षमताअनुसारको पानी राख्दा अन्य गेटको अवस्था के हुने भन्ने विषयमा पनि गम्भीर भएर अध्ययन गर्न आवश्यक भइसक्यो।’  

आयोजनाका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै अचानक दुर्घटना भएको बताए। ‘क्षतिको पूर्वानुमान र जोखिम पहिचान गरेरै मेडिकललगायत सेवा उपलब्ध गराएका थियौं,’ उनले भने, ‘बन्द भएको गेट अचानक खुलेकाले के कारणले खुल्यो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन।’  

खत्रीले दुर्घटनाको अध्ययन गर्न गठित प्राविधिक टोली बिहीबार स्थलगत अध्ययनका लागि साइटमा गइसकेको बताए। उनले भने, ‘टोलीले बन्द हुनुपर्ने गेट किन खुल्योलगायत विषयमा अध्ययन गरी रिपोर्ट बुझाएसँगै कारण बाहिर आउनेछ।’

परामर्शदाताको क्षमतामा समेत आशंका

कन्सोर्टियम अफ पोरी इन्फ्रा परामर्शदाताको सम्झौता अवधि सन् २०१५ मा समाप्त भएसँगै आयोजनाले बाँकी काम सम्पन्न गर्न १८ मे २०१५ मा इटिप्सालाई परामर्शदाता नियुक्त गरेको थियो। अहिले मेलम्ची आयोजनाको हेडवक्र्स र सुरुङको नयाँ सम्झौताअनुसार सुरु डिजाइन र सुपरीवेक्षणको जिम्मेवारी इटिप्साको हातमा छ। नयाँ ठेक्का खरिद प्रक्रिया तथा सुपरीवेक्षणको कार्यसमेत यसै परार्र्शदाताबाट भइरहेको थियो। तर, अहिले सुरुङको बन्द गेट भत्किएसँगै परामर्शदाता कम्पनीको कार्यक्षमतामा पनि आशंका उब्जिएको छ।  

इटालियन ठेकेदार कम्पनी सिएमसीले अनेक बहानाबाजी गरेर काम छाडेर हिँडेपछि आयोजनाले २०१९ फेब्रुअरीमा ठेक्का सम्झौता रद्द गरेको थियो। आयोजनाले सिएमसीलाई आठ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेको थियो। ठेक्का रद्द गरेपछि आयोजनाले सिएमसीको कार्यसम्पादन जमानत तथा अन्य जमानतको बैंक ग्यारेन्टीबापतको दुई अर्ब नौ करोड ठेक्का सम्झौताअनुसार जफत गरेको थियो। मेलम्ची आयोजनाको बाँकी कामको ठेक्का सिनो हाइड्रोपावरले पायो। आयोजनाले २०७६ असोज १२ मा सुरुङ र २४ गते हेडवक्र्स निर्माणका लागि सम्झौता गरेको थियो।

अहिलेसम्म पाँच जनाको मृत्यु

मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट गत मंगलबार फुटेर हेडवक्र्समा कार्यरत इन्जिनियर सतीश गोइतको ज्यान गयो। दुर्घटनामा परी बेपत्ता सवारीचालक राधाकृष्ण थापा मगरको खोजी भइरहेको छ। बाँकी दुई इन्जिनियरको काठमाडौंको ग्र्यान्डी हस्पिटलमा उपचार भइरहेको छ। केही वर्षअघि मेलम्ची आयोजनाको सिन्धु अडिटमा कार्यरत सवारीचालकको ज्यान गएको हो।  

आयोजनाको पाइपलाइन खन्ने तथा पाइप बिछ्याउने क्रममा २०७४ असार ३० गते काठमाडौंको सीतापाइलामा माटोले पुरिएर तीन कामदारको ज्यान गएको थियो। ज्यान गुमाउनेमा सप्तरीका सन्तोष दास, श्यामसुन्दर राम र पर्वतका तेजप्रसाद केसी थिए। मेलम्ची आयोजनामा कार्यरत इन्जिनियर तथा अन्य कर्मचारीको ज्यानै जानेसम्मको दुर्घटना भएसँगै आयोजनाको सुरक्षा प्रणालीप्रति प्रश्न उब्जिएको छ।

प्रकाशित: ३ श्रावण २०७७ ०३:५१ शनिबार

मेलम्ची गेट