६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

व्यापारी आउन नपाउँदा भन्सार जाँचपास अघि बढ्न सकेन

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सोमबारदेखि सामग्री आयात हुन थालेको भए पनि भन्सार जाँचपास भने अझै सुरु हुन सकेको छैन। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन्।  

आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन्। तर नाकासम्म व्यापारी जान नपाउँदा भन्सार जाँचपास प्रक्रिया अघि बढ्न सकेको छैन। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले व्यापारी आउन नपाउँदा जाँचपास प्रक्रिया सुरु नभएको बताए। ‘अहिलेसम्म सीमित व्यापारी मात्र यहाँ आइपुगेका छन्,’ उनले भने, ‘आउन लागेका व्यापारी पासका कारण बाटोमा नै अड्किएका छन्।’

सामग्री घोषणाका लागि व्यापारीका प्रतिनिधि सम्बन्धित स्थानमा नै रहनुपर्ने भएकाले समस्या सिर्जना भएको हो। व्यापारी तथा व्यापारीका प्रतिनिधि आउनका लागि सम्बन्धित स्थानको वडा कार्यालयले सिफारिस गरेपछि मात्र जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ।  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले प्रक्रिया पूरा गरेर आएका व्यापारीलाई नरोकिएको र प्रक्रिया पूरा नगरी आएकालाई रोकिएको बताए। ‘प्रक्रिया पु¥याएर आएकालाई हामीले रोकेका छैनौं,’ उनले भने, ‘त्यहाँ जाने व्यापारी तथा व्यवसायीका लागि पास नचाहिने गरी गृह मन्त्रालयबाट छुट्टै निर्देशन आएको छैन।’

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ। चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ। चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन्। मितेरी पुलमा सामग्री लोड–अनलोड गर्नका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार रहने छन्। चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ। नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ।  

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

प्रकाशित: २५ असार २०७७ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App