१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा आगमन आधा घट्यो

पाेखरा - कोरोना भाइरस संक्रमणको असरले पोखरामा विदेशी आगमन घटेको छ। यो सिजनमा अघिल्ला वर्ष आगमन बढ्ने गरे पनि यसपटक घटिरहेको पोखरा विमानस्थलको तथ्यांकले पुष्टि गरेको छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सन् २०२० को जनवरीमा पाहुना नघटे पनि फेब्रुअरीमा झण्डै आधा घटेको छ।

सन् २०१९ को फेब्रुअरीमा पोखरा विमानस्थल हुँदै १३ हजार नौ सय ११ विदेशी आएको उनले बताए। सन् २०२० को फेब्रुअरीमा यो संख्या झण्डै आधाले घटेर सात हजार ९२ छ। सन् २०१८ फेब्रुअरीमा त १५ हजार चार सय ४६ जना आएका थिए। सुवेदीले भने, ‘कोरोना भाइरसको त्रासले नै आगमन घटेको हो। जनवरीसम्मको आगमन हेर्दा पोहोर र अहिले खासै अन्तर छैन। फेब्रुअरीमा आधा अन्तर परिसकेको छ।’ यो बेला विदेशी आगमन बढ्दै जानुपर्नेमा घट्दो क्रममा रहेको उनले बताए। पोहोर जनवरीमा पोखरामा १२ हजार नौ सय ५५ विदेशी आएका थिए। यो जनवरीमा केही थपिएर १३ हजार दुई सय ५६ पुग्यो। मार्चको झनै गिरावट आउने अनुमान रहेको उनले बताए।

गत जनवरीको तुलनामा फेब्रुअरीको आगमन ४७ प्रतिशत कम रहेको उनले बताए। पोहोर फेब्रुअरीमा अघिल्लो सालको भन्दा सात प्रतिशत बढी आएका थिए।   भाइरस संक्रमण बढेपछि विभिन्न हवाई सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान बन्द गरेकाले पर्यटक आगमन आगामी दिनमा झनै घट्ने पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले बताए। ‘कतिपय मुलुकका पर्यटकको अन अराइभल भिसा बन्द गरिएको छ। ती मुलुकबाटै बढी पर्यटक आउँथे। अन्तर्राष्ट्रिय गन्तव्य जोड्ने सिधा उडान पनि रोकिएका छन्,’ गुरागाईंले भने।

यतिबेला पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा केही युरोपेली पर्यटक देखिए पनि अबको आगमन झनै ओरालो लाग्ने आशंका व्यवसायीको छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार यो बेला पोखराका होटलको अकुपेन्सी २० प्रतिशत मात्र छ। ‘चीनमा मात्र समस्या रहँदा घर छाडेका विदेशी पोखरा  आएका हुन्। नयाँ बुकिङ गरेर पाहुना आउने सम्भावना कम छ,’ पराजुलीले भने, ‘यतिबेला भाइरस संक्रमण तीव्र छ। धेरै युरोपेली पाहुनाले बुकिङ रद्द गर्न थालिसकेका छन्।’

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App