४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानलाई हाते ट्याक्टर

किसानलाई हाते ट्याक्टर वितरण गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।

नगरपालिकाले धितुङका बायकुखोला कृषक समूह, सल्लेका कृषि फर्म सञ्चालक दिपेन्द्र राई, राजापानीका प्रकाशचन्द्र राई, दुर्छिमका चक्रबहादुर राई, भविन्द्र राई, मंगलटारका भाइकाजी राई र च्यास्मीटारकी मौसमकुमारी राईलाई एक–एक थान हाते ट्याक्टर प्रदान गरेको हो। चालु आर्थिक वर्षमा विनियोजित पाँच लाख बजेटबाट किसानलाई हाते ट्याक्टर वितरण गरिएको कृषि तथा पशु शाखा संयोजक सन्देश श्रेष्ठले बताए। ढुवानीसहित प्रतिट्याक्टर करिब ७२ हजार पर्ने हाते ट्याक्टर बिहीबार नगरपालिकाका मेयर इवन राईले कृषकलाई हस्तान्तरण गरेका छन्।

हलो जोतेर कृषि कर्म गर्दै आएका किसान हाते ट्याक्टर पाएपछि उत्साहित भएका छन्। हाते ट्याक्टर लिनका लागि आव्हान गरिएको सूचनाका आधारमा माग गर्न आएका किसानमध्येबाट छनोट गरेर उनीहरुलाई कृषि उपकरण प्रदान गरिएको नगरपालिकाले जनाएको छ। हाते ट्याक्टर लिएवापत कृषि फर्म र किसानले बुझाएको २० प्रतिशत रकमबाट अर्को हाते ट्याक्टर खरिद गरिएको र मंगलटारका संकलामंकला कृषक समूहका अध्यक्ष चन्द्रबहादुर बिकलाई प्रदान गर्ने तयारी गरिएको जनाइएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App