२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

न पुल बन्यो, न त ज्याला नै पाइयो

तीन वर्षदेखि अलपत्र रनुखानाको अलपत्र पुल। तस्बिर : नागरिक

जुम्ला - जुम्लाको सिँजा गाउँपालिका–२ रनुखाना गाउँको हिमा खोलामा निर्माण हुन लागेको पक्की पुल तीन वर्षसम्म पनि बन्न सकेको छैन।

पक्की पुलको एकमात्र पिलर ठड्याइएको छ। अहिले न ठेकेदार आउँछन्, न त पुलको काम अघि नै बढेको छ। तीन वर्षदेखि एक पिलर हेरेर स्थानीय चित्त बुझाउन विवश छन्। स्थानीय मोहनविक्रम शाहीका अनुसार पुलको काम नहुँदा स्थानीय आक्रोशित छन्। उनले भने, ‘पुल सवारी आवागमनका लागि निर्माण भएको हो। अहिले सडक सबैतिर पुगिसक्यो तर पुल निर्माणको कामले निरन्तरता पाउन सकेको छैन।’ यो पुल नबनेको बारेमा सरोकारवाला पनि मौन नै छन्। हिउँदको समयमा काठको पुलबाट जेनतेन वारपार गर्छौं, बर्खायाममा बाढीले सताउँछ,’ उनले भने, ‘पुल बन्दा सहज होला ठानेका बेला झन जोखिम मोल्नुपर्ने बेला आइपुग्यो।

अहिले स्थानीय काठको पुलबाट जोखिम मोलेरै भए पनि खोला तर्न बाध्य छन्। खोलाको छेउमा एउटा मात्र ठडिएको पिल्लर देखिन्छ। २०७३ देखि सो पिलर त्यसरी नै एक्लै ठडिएर बसेको देख्दा स्थानीय चकित छन्। एउटा पिलर बनाएर भागेका ठेकेदार फर्किएका छैनन्। एक पिलरभन्दा बढी काम हुन सकिरहेको छैन। २०६९ मा कालीकोटका ब्रह्मजंग बमले शान्तिराम जेभीसँग जोइन्ट भेन्चरमार्फत पुल निर्माण गर्ने जिम्मा लिएका थिए। उनी अहिले सम्पर्कमा छैनन्। ‘न ठेकेदार भेटिन्छन्, नत पक्की पुल बन्ने ठेगान नै,’ उनले थपे, ‘राज्यले ठग्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सकिरहेको छैन।

‘पुल सवारी आवागमनका लागि निर्माण भएको हो। अहिले सडक सबैतिर पुगिसक्यो तर पुल निर्माणको कामले निरन्तरता पाउन सकेको छैन।’

पुल नबन्दा खेप्नु परेको सास्ती त छँदै छ, त्यसमाथि पनि कामदारले काम गरेको ज्यालासमेत पाएका छैनन्। पुलको पिलर बनाउने क्रममा बालुवा बोकेको, गिट्टी कुटेको, निर्माण सामग्री ढुवानी गरेको ज्याला स्थानीय कामदारले हालसम्म पाउन सकेका छैनन्। स्थानीयले ज्यालाबापतको २५ लाखभन्दा बढी रकम ठेकेदारसँग लिनुपर्ने छ। तर, तीन वर्षदेखि ठेकेदार नै फर्केका छैनन्। हिमा नदीको पश्चिममा रहेको कर्णाली राजमार्गको नाग्म गमगढी सडक खण्डसँग हिमा नदीको पूर्वमा रहेको बस्ती हुँदै सदरमुकाम जोड्ने उद्देश्यले यो पुलको निर्माण कार्य सुरु गरिएको थियो। तर, अहिले पुल अलपत्र अवस्थामा छ। तीन वर्षअघि राखिएको ८० बोरा सिमेन्ट, सरिया र मिक्सचर मेसिन बेवारिसे अवस्थामा फालिएका छन्। त्यो निर्माण सामग्री काम नलाग्ने भइसकेको छ।

ठेकेदारले पहिलो किस्ताबापतको पाउनुपर्ने सबै रकम भुक्तानी पाइसकेको छ। ठेकेदारले काम नगरेको र आफूहरुले पाउनुपर्ने ज्यालासमेत नपाएको विषयमा जिल्ला समन्वय समितिमा गुनासो गर्न जाँदा तत्कालीन जिल्ला विकास समितिले सम्झौता गरेकाले अहिले आफूहरुलाई जानकारी नभएको भन्दै पन्छिने गरेको स्थानीयको गुनासो छ। स्थानीयले ठेकेदारलाई सम्पर्कमा ल्याएर तत्काल ज्याल उपलब्ध गराइदिन माग गरेका छन्। उनीहरुले पुल निर्माणको कामलाई पनि निरन्तरता दिने वातावरण सिर्जना गर्न आग्रह गरेका हुन्।

प्रकाशित: २८ माघ २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App