२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आन्तरिक उडान भद्रगोल

पोखरा विमानस्थलमा पार्किङमा रहेका जहाज। फाइल तस्बिर : सन्तोष/नागरिक

पोखरा – शनिबार बेलुकी साढे ५ बजे पोखरा विमानस्थलबाट बुद्ध र यती एयरलाइन्सका दुई जहाज काठमाडौं उड्ने तयारीमा थिए। निर्धारित समयभन्दा दुई घण्टा बढी समय ढिला गरेर आएका ती जहाज काठमाडौं फर्किने तयारीसँगै पोखराका यात्रु चढिसकेका थिए। लामो पर्खाइले अत्तालिएका यात्रु अन्तिम समयमा जहाज चढ्न पाउँदा गन्तव्यमा पुग्न पाइने भन्दै ढुक्कसँग सिटमा बसिसकेका थिए।

७२ सिट क्षमताका एटिआर–७२ ती दुई जहाजमा ६५ जनाका दरले यात्रु उडानको तयारीमा थिए। तर, जहाजमा बसिसकेका यात्रुलाई एकाएक ओरालेर अन्तिम समयमा दुइटै उडान रद्ध भएको जनाउ दिइयो। त्यसपछि निराश र आक्रोशित बनेका केही यात्रु बस चढेर काठमाडौंतिर लागे भने कतिपय आइतबार बिहानको पहिलो उडानमा जाने योजनासहित घर फर्किए। होटलबाट बिदावारी भएका पर्यटक उडान रद्ध भएपछि फेरि होटल खोज्दै लेकसाइडतिर लागे। जहाजमा लोड गरिसकेको ‘लगेज’ घिसार्दै यात्रु विमानस्थलबाट बाहिरिए।

आन्तरिक उडान कतिसम्मको भद्रगोल छ भन्ने शनिबार पोखराको यी दुईवटा उडानको अवस्थाले देखाउँछ। पछिल्लो समय आन्तरिक उडान निकै नै झन्झटिलो र भद्रगोल बन्दै गएको यात्रुको गुनासो छ। तोकिएको समयमा उडान नहुने, उडानका लागि घन्टौंसम्म विमानस्थलमा पर्खिनुपरेको गुनासो यात्रुले गरेका छन्। उडान अस्तव्यस्त हुँदा व्यवस्थापनमा अप्ठेरो परेको दुखेसो हवाई कम्पनीका कर्मचारीको पनि छ। 

– तीन घण्टासम्म ढिलाइ
– जहाज चढिसकेका यात्रुलाई ओरालेर उडान रद्ध

‘उडानमा घन्टौ ढिलाइ हुँदा हामीलाई व्यवस्थापनमा हम्मेहम्मे परेको छ,’ बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालले भने, ‘अन्तिम समयमा उडान रद्ध गर्न बाध्य भएका छौं। यसले व्यवस्थापनमा असहज भएको छ। यात्रुको खप्कि र गुनासो सुन्नुपरेको छ।’ बरालका अनुसार शनिबारका उडान अन्तिम समयमा रद्ध हुनुमा काठमाडौंमा भएको ढिलाइले हो। बिहानैदेखि ढिलाइ हुँदै जाँदा झन्डै दुई घण्टासम्म उडान पछाडि धकेलिएका थिए। त्यसैको मारमा बुद्ध र यतीका यी उडान परेको उनले बताए। दुवै कम्पनीका ती जहाजको शनिबार पोखराको अन्तिम उडान थिए। 

बरालका अनुसार काठमाडौंबाट ३ः२५ उड्ने तालिका बुद्धको जहाजको थियो। २५ मिनेटमा पोखरा आउँदा ३ः५० हुन्थ्यो। पोखराबाट ४ः२५ मा फर्किने तालिका रहेको बुद्धको त्यो जहाज काठमाडौंबाटै पोखराका लागि उड्दा पौने ५ बजिसकेको थियो। पोखरा आएर यात्रु ओरालेर काठमाडौंका यात्रु चढाउँदा साढे ५ कटिसकेको थियो। अध्याँरो बढ्न थालेको भन्दै हतारहतार यात्रुलाई जहाज चढाइएको थियो। यस्तै अवस्था यतीको पनि थियो। यतीको त्यो जहाजको काठमाडौंबाट पोखराका लागि २ बजेका लागि उडान तालिका थियो। तर, पोखराका लागि उड्दा ४ः५८ भइसकेको थियो। बुद्धको जस्तै ढिलाइ भएको यतीको उडान पनि भिजिबिलिटी नपुगेको भन्दै पोखरामै रोकिएको थियो। उडान रद्ध भएपछि दुई ठूला जहाजका एक सय ३० जना यात्रु निरास हुँदै गाडी र होटल खोज्न थाले भने केही घर फिर्न बाध्य भए।

‘पोखरामा रात्रिकालीन उडान हुँदैन भन्ने काठमाडौंलाई थाहा छ। पोखरामै रोकिनुपर्ने गरी जहाज नपठाएको भए यस्तो समस्या आउने थिएन,’ बुद्धका बरालले भने, ‘रात्रिकालीन उडान हुने अन्य विमानस्थलको उडान केही ढिला गरेर पोखरालाई प्राथमिकता दिने हो भने समस्या हल हुन्छ। नत्र वर्षाैदेखिको यो समस्या हामीले मात्र नभई यात्रुले पनि खेप्नुपर्नेछ।’ पोखरामा रात्रिकालीन उडान नहुने, तर, जहाजको चाप भने बढेको बढ्यै भएकाले पनि समस्या परेको उनले बताए।

‘बिहान ६ बजेदेखि नै पोखरा विमानस्थलबाट उडान सुरु हुन्छ। त्यही अनुसार पोखरालाई अप्ठेरो नपर्नेगरी उडान व्यवस्थापन गरिदिने हो भने यो समस्या टर्छ,’ उनले भने, ‘बिहानैदेखिका उडान अहिले घन्टौसम्म ढिला भएको छ। त्यसैले समय घर्कदै जाँदा दिनहुँ समस्या हुन्छ। जहाज चढिसकेका यात्रुलाई ओरालेर उडान रद्ध गर्दा हामीलाई पनि रहर हुँदैन।’ पछिल्लो केही दिनदेखि हरेक उडान तीन घण्टासम्म ढिला हुने गरेको उनले बताए। उडान रद्ध हुँदा सबैभन्दा बढी मार बिरामी, कनेक्टिङ फ्लाइट भएका यात्रुलाई पर्ने उनले बताए।

पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलका अनुसार काठमाडौंस्थित विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको चाँप, भिजिबिलिटी नै कम हुने गरी लागेको बाक्लो हुस्सुले यतिबेला आन्तरिक उडान व्यवथापनमा समस्या थपिएको हो। ‘काठमाडौं विमानस्थलबाट बिहान ६ बजेदेखि नै उडानको चाप सुरु हुन्छ। यहीबेला पर्यटकीय सिजन परेकोले आन्तरिक उडान पनि थपिएका छन्। अन्तर्राष्ट्रिय उडानको पनि चाप छ,’ उनले भने, ‘सबैभन्दा समस्या बाक्लो हुस्सुले गर्दा हो।’ विमानस्थल पदाधिकारीका अनुसार जहाजले काठमाडौंबाट ल्याएका यात्रु ओरालेर पोखराका यात्रु चढाउँदा र इन्धन भरेर उडान भर्दा कम्तिमा २५ मिनेट लाग्छ। त्यसै अनुसार समय व्यवस्थापन नभए उडान अवरुद्ध हुने गरेको पौडेलले बताए। 

हवाई उडड्यन क्षेत्रका पदाधिकारीका अनुसार विमानस्थलमा सामान्यतया दुई नियमअनुसार उडान र अवतरण सञ्चालन हुन्छ। एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) हुन्छ। सामान्य अवस्थामा भिएफआरबाट उडान अवतरण गरिन्छ। यस नियमअनुसार भिजिबिलिटी पाँच किलोमिटर आवश्यक पर्छ। यो नियमअनुसार जहाजको उडान–अवतरण छिटो हुन्छ। किनकि यसमा जहाजको ककपिटमा बसेका पाइलटले आफैले हेरेर कन्ट्रेल टावरसँगको समन्वयमा जहाज उडान–अवतरण गराउन सक्छन्।

तर, मौसम बिग्रदा भिएफआर नियमअनुसार उडान अवतरण सम्भव नभए आइएफआरबाट उडान गर्छन्। यसका लागि काठमाडौंमा दुई किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ। आइएफआरमा ढिला उडान हुने ती पदाधिकारी बताउँछन्। प्रविधिमा आधारित रहेर उडान गर्ने भएकाले आइएफआर नियमअनुसार उडान–अवतरण गर्न दुई हजारदेखि २५ सय मिटरसम्म भिजिबिलिटी चाहिन्छ। भिएफआरको तुलनामा आइएफआरमा उडान–अवतरणको समय बढी लाग्ने भएकाले जहाज डिले हुने र आकासका होल्ड गर्नुपर्ने ती प्राविधिकले बताए। पोखरामा सधैं भिएफआरबाट उडान सञ्चालन हुन्छ। ‘हामीले भिएफआरबाट उडान गर्नुपर्दा पनि शनिबार समस्या परेको हो,’ पौडेलले भने, ‘यदि आइएफआरबाट उडान हुन्थ्यो भने पोखरामै रोक्नुपर्ने थिएन।’

पोखरास्थित विमानस्थल टावरका एक प्राविधिकका अनुसार यहाँबाट सूर्याेदयदेखि सूर्यास्तसम्म मात्र उडान सञ्चालन गर्न सकिन्छ। तर, शनिबार सूर्यास्तपछि पनि जहाजका लागि १० मिनेट समय थपिदिँदा पनि अपुग भएकाले उडान हुन नसकेको ती प्राविधिकले बताए। ‘हामीले जोखिम मोल्न चाहेनौं। तोकिएको भन्दा १० मिनेट बढी समय दिँदा पनि भ्याउने अवस्था नरहेपछि उडान नै रद्ध गर्नुको विकल्प थिएन,’ ती प्राविधिकले भने। काठमाडौंबाटै रोक्दा दुवैतिरका यात्रु अलपत्र पर्ने भएकाले पोखरा आउने यात्रु ल्याउँदा एकतर्फी रुटका यात्रु मात्र मर्कामा परेको ती प्राविधिकले बताए। ‘जहाज नआएको भए काठमाडौंमा पनि यात्रु रोकिने र पोखरामा पनि रोकिन्थे। तर, पोखरा आउँदा कमसेकम काठमाडौंका यात्रु त गन्तव्यमा पुग्न पाए,’ उनले भने।

पोखरामा अहिले पर्यटकीय चाप बढेसँगै हवाई उडान अधिक नै बढेका छन्। अहिले पोखरा विमानस्थलले दैनिक कम्तिमा एक सय ५० उडान व्यवस्थापन गर्छ। पोखरादेखि काठमाडौं, जोमसोम, भरतपुर, भैरहवासम्म नियमित उडान हुन्छन्। पोखरा–काठमाडौं रुटमै अहिले एकतर्फी दुई दर्जनभन्दा बढी उडान हुन्छन्। त्यस्तै पोखराबाट अन्नपूर्ण आधारशिविर (एबिसी)सम्म करिब २० वटा हेलिकप्टर, त्यत्तिकै संख्यामा पोखराबाट अल्ट्रालाइट उडान हुने गरेको छ। ‘जहाजको चाप पनि ह्वात्तै बढेको छ। कुनै दिन त दैनिक झन्डै दुई सय उडानलाई व्यवस्थापन गर्नुपर्छ,’ सूचना अधिकारी पौडेलले भने, ‘यसै त उडान चाप, त्यसैमा हुस्सुको अवरोधले पनि ढिलाइ भएको हो।’

प्रकाशित: १८ कार्तिक २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App